‘ब्याची’ सचिवलाई स्वास्थ्य छाडेर ससुरालीबाट ज्वाइँ मन्त्रालय पुगे हरिप्रसाद मैनाली


काठमाडौं। एकैदिनका सहसचिव (ब्याची) डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छाडेर सचिव हरिप्रसाद मैनाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेका छन्। मैनाली सचिवमा बढुवा हुँदा खेरी शर्मा २ नम्बरमा सिफारिस भएका थिए। उनी २०७८ साउन १९ गते सचिवमा बढुवा भएका थिए। सचिव बढुवाका लागि हरिप्रसाद मैनाली, डिल्लीराज शर्मा र राजकुमार श्रेष्ठको नाम सिफारिस गरिएको थियो। जसमध्ये पहिलो नम्बरमा सिफारिस भएक मैनाली सचिवमा बढुवा भए। उनीभन्दा १६ दिन पछाडि सचिव भएका डिल्लीरामलाई स्वास्थ्य मन्त्रालय छाडेर मैनाली पर्यटनतिर लागेका हुन्।

२०६९ फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट एकैदिन किरणराज शर्मा, रामप्रसाद घिमिरे, हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा, मुकुन्दप्रसाद निरौला, रामेश्वर दंगाल र रविलाल पन्थ सहसचिव भएका थिए। आफूपछिको बरियतामा सहसचिव र सचिव भएका शर्मालाई मैनालीले स्वास्थ्य छाडेर पर्यटनतिर हानिएका हुन्।

काभ्रेपलाञ्चोकका मैनाली तनहुँका प्रदिप पौडेल स्वास्थ्यमन्त्री भएपछि महालेखा नियन्त्रकको कार्यालयबाट स्वास्थ्य सचिव बनेर भित्रिएका थिए। तनहुँ कै पौडेलको छोरी (रघुनाथ) बिबाह गरेकाले मैनालीले स्वास्थ्यमन्त्री प्रदिप पौडेलदेखि राष्ट्रपति रामचन्द्र पौडेलसम्मलाई ससुरालीको नाता लगाउँछन्। मैनालीलाई पर्यटन जान पनि त्यो ‘फ्याक्टर’ले काम गरेको चर्चा सुनिन्छ। त्यसो त बाजुराका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेको ससुराली काभ्रेपलाञ्चोक हो। पर्यटनमन्त्री पाण्डेले काभ्रेपलाञ्चोकको हुमागाईंकी छोरी बिबाह गरेकाले मैनालीका लागि पर्यटन मन्त्रालय ‘ज्वाइँ’ मन्त्रालय हो। स्वास्थ्य (ससुराली) मन्त्रालयबाट मैनाली पर्यटन (ज्वाइँ) मन्त्रालय सरेका हुन्। उनलाई पर्यटन मन्त्रालय पुऱ्याउन शेखर कोइरालादेखि सुसुराली ज्वाइँ ‘फ्याक्टर’ले ठूलो काम गरेको बुझिन्छ।

मैनालीका ‘ब्याची’ सहसचिव किरणराज शर्मा लोक सेवा आयोगको सचिव भएर गएका छन्। रामप्रसाद घिमिरे वाणिज्य तथा आपूर्ति सचिव र डिल्लीराम शर्मा स्वास्थ्य सचिवको भूमिकामा पुगेका छन्। उनका ‘ब्याची’ राजकुमार श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुकुन्दप्रसाद निरौला सार्वजनिक खरिद अनुगमन कार्यालय, रामेश्वर दंगाल रक्षा र रविलाल पन्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै अडिएका छन्।

मैनाली मधेश प्रदेशको प्रमुख सचिवबाट महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, उपराष्ट्रपति कार्यालय, महालेखा नियन्त्रकको कार्यालय स्वास्थ्य मन्त्रालय हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव भएका छन्। महालेखा नियन्त्रक हुँदा विवादमा तानिएका उनी औसत सचिवमा गनिन्छन्। श्रम सचिव बन्न खोजेका मैनाली अन्ततः पर्यटनतिर पुगेका हुन्।

‘ब्याची’ सचिव डिल्लीराम शर्माले स्वास्थ्य ताकेपछि सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले सहोदर दाजु महादेव पन्थलाई स्वास्थ्य मन्त्रालय पठाउन सकेनन्। स्वास्थ्यमा पर्वते डिल्लीरामले बाजी मारेपछि गुल्मेली महादेव राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव हुने भएका छन्। वित्तमा रहेका अर्का पर्वते सचिव किरणराज शर्मा लोक सेवा आयोग पुगेपछि महादेव वित्तमा पुगेका हुन्। पर्वते डिल्लीरामलाई पर्वत कै किरणराजले विस्थापित गरेपछि उनी जनसंख्या र प्रशासन हेर्ने गरी स्वास्थ्य मन्त्रालय पुगेका छन्। सचिव डिल्लीराम लुम्बिनी प्रदेश, राष्ट्रपति कार्यालय, लोक सेवा आयोग हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका हुन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #डिल्लीराम शर्मा सचिव, #हरिप्रसाद मैनाली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ