रविको पालामा गृह छिरेका विवादित सहसचिव भट्टराईलाई अध्यागमन पठाउने लेखक 


काठमाडौं। गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्दै भिजिट भिसामा अख्तियारको छानबिन दायरामा रहेका सहसचिव तीर्थराज भट्टराई आफ्नो पालामा गृह नछिरेको दाबी गरेका छन्। लेखकको भनाइमा सत्यता भएपनि रवि लामिछानेको पालामा गृह छिरेर कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएका भट्टराईलाई अध्यागमन पठाउने काम उनले गरेका थिए।

रवि लामिछाने पहिलोपटक उपप्रधानमन्त्री एवं गृहमन्त्री हुँदा भट्टराई राष्ट्रिय परिचयपत्र तथा व्यवस्थापन विभागको महानिर्देशक थिए। रवि र भट्टराई मिलेर राष्ट्रिय परिचयपत्रको ठेक्का सम्झौता गरेपछि उनी मोरङको सिडिओ भएर गएका थिए। उक्त ठेक्कामा विवाद भएपछि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा छानबिन सुरू भयो। छानबिन सुरू भएपछि गृहमन्त्री श्रेष्ठले मोरङका सिडिओ भट्टराईलाई गृह मन्त्रालय तानेर जगेडामा राखे। त्यसपछि भट्टराई गृह छाडेर बागमती प्रदेशतिर लागे। रवि लामिछाने फेरि गृहमन्त्री भएर आएपछि भट्टराई गृह मन्त्रालय भित्रिएका थिए। गृहमन्त्री लामिछाने र सचिव एकनारायण अर्याल भएका बेला बागमतीबाट गृह छिरेका अर्याललाई तत्कालै कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक बनाइयो। उनै विवादित भट्टराईलाई गृहमन्त्री लेखक र सचिव गोकर्णमणि दुवाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख बनाएर पठाएका थिए। भिजिट भिसा काण्डमा भट्टराई अख्तियारको फन्दामा परेपछि गृहमन्त्री लेखक ‘फेस सेभिङ’को बाटोमा लागेका छन्।

गृहमन्त्री लामिछानेविरुद्ध आगो ओकल्दै आएका गृहमन्त्री लेखकले लमिछानेले खोजीखोजी गृह मन्त्रालय ल्याएर महानिर्देशक बनाएका विवादित सहसचिव भट्टराई किन अध्यागमन जिम्मा लगाए यो गम्भीर विषय हो। अख्तियारले छानबिन गर्ने सुइको पाएपछि किन रातारात गृह मन्त्रालय सरूवा गरे त्यो आफैंमा शंकास्पद छ। गृहमन्त्री लेखकले अरूको पालामा गृह मन्त्रालय छिरेका विवादित सहसचिवहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएर उम्किन खोज्नु हास्यास्पद कुरा हो। विवादित सहसचिवहरूलाई जिम्मेवारी दिने गृहमन्त्री लेखकले उत्पन्न परिस्थितिको पनि जिम्मा लिनुपर्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ