२०७० सालमा आप्र र खुलाबाट आएका सहसचिवहरू सचिव भइसके


काठमाडौं। प्रशासन सेवाका सहसचिव भूपाल बराल सचिवमा बढुवा भएसँगै २०७० सालमा खुला, समावेशी र आन्तरिक प्रतिस्पर्धाबाट आएका सहसचिवहरू सचिव भएका छन्।  आन्तरिक प्रतिस्पर्धाबाट आएका २ जना सहसचिव सचिव हुन नपाए पनि बाँकी ६ जना अहिले सचिवको भूमिकामै छन्। खुला र समावेशीबाट आएका पनि सचिव भइसकेका हुन्।

२०७० साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट केदारनाथ शर्मा, लोकनाथ पौड्याल, गोविन्दबहादुर कार्की, महादेव पन्थ, रघुराम विष्ट, बाबुराम अधिकारी, प्रेमकुमार श्रेष्ठ र काशीराज दाहाल सहसचिव भएका थिए। उनीहरूमध्ये श्रेष्ठ र दाहाल ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाइसकेका छन्। बाँकी ६ जना सहसचिवहरू सचिवको भूमिकामा छन्।

आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव हुँदै सचिव भएका केदारनाथ शर्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव भएर आएका छन्। उनी कोशी प्रदेशको प्रमुख सचिवबाट भूमि सचिवको भूमिकामा आएका हुन्। लोकनाथ पौड्याल मधेश प्रदेश र कर्णाली प्रदेशको प्रमुख सचिव हुँदै अहिले उपराष्ट्रपतिको कार्यालयको सचिव भएर आएका छन्।

केदारनाथ र लोकनाथसँगैका सहसचिव गोविन्दबहादुर कार्की बागमती प्रदेशको प्रमुख सचिव वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव हुँदै अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव हुन पुगेका छन्। महादेव पन्थ लुम्बिनी र बागमती प्रदेशको प्रमुख सचिव हुँदै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव बनेर संघमा फर्किएका हुन्।

गण्डकी प्रदेशको प्रमुख सचिव रहेका रघुराम विष्ट महालेखा नियन्त्रकको भूमिकामा आइपुगेका छन्। उनको जागिर एक हप्ता पनि छैन। बाबुराम अधिकारी अहिले लुम्बिनी प्रदेशको प्रमुख सचिव छन्। आन्तरिक प्रतिस्पर्धाबाट आएका गोविन्द कार्कीबाहेक कसैले पनि ५ वर्ष सचिव चलाउन पाउने देखिँदैन।

२०७० सालमै खुला र समावेशीबाट आएका सहसचिवहरू पनि सचिव भइसकेका छन्। खुलाबाट सहसचिव भएका शोभाकान्त पौडेल सचिवमा बढुवा भएर गण्डकी प्रदेश पुगेका छन्। भूपाल बराल सचिवमा बढुवा भएर बागमती प्रदेशमा पदस्थापन भएका हुन्।

समावेशी सहसचिवहरू मदन भुजेल र चन्द्रकला पौडेल पनि सचिव भइसकेका छन्। शोभाकान्त र भूपालभन्दा मदन र चन्द्रकला अगाडि सचिव भएका हुन्। मदन अहिले मधेश प्रदेशको प्रमुख सचिवको भूमिकामा छन्। चन्द्रकला कोशी प्रदेशको प्रमुख सचिव हुन्। अब ७१ सालका सहसचिवहरू सचिव बढुवाको लाइनमा लागेका छन्। डण्डुराज घिमिरे सचिवमा बढुवाका लागि अब १ नम्बरमा सिफारिस हुनेछन्।

क्याटेगोरी : समाचार
ट्याग : ##मदन भुजेल, #काशीराज दाहाल, #केदारनाथ शर्मा, #गोविन्दबहादुर कार्की, #चन्द्रकला पौडेल, #प्रेमकुमार श्रेष्ठ, #बाबुराम अधिकारी, #भूपाल बराल, #महादेव पन्थ, #रघुराम विष्ट, #लोकनाथ पौड्याल, #शोभाकान्त पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ