गृहमन्त्रीले अख्तियारको छानबिनलाई कसरी प्रभावित पार्छ भनेर लेखकले देखाइदिएको ‘ऐना’


काठमाडौं। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गरिरहेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका डिआईजी सरूवा गरेपछि तरंग उत्पन्न भएको छ।अख्तियारले गरिरहेको छानिबनका कारण पनि गृहमन्त्रीले अनुसन्धानमा प्रभाव पार्न नसक्ने दाबी गरिरहेका बेला अनुसन्धानको नेतृत्व गरिरहेका डिआईजी हिमालयकुमार श्रेष्ठको सरूवा गरेर लेखकले ‘ऐना’ देखाइदिएका छन्।
गृहमन्त्री लेखक र उनका समर्थकहरूले माथिल्लो निकाय अख्तियारले भिजिट भिसा प्रकरणमा छानबिन गरिरहेकाले गृहमन्त्रीले कुनै प्रभाव पार्न नसक्ने दलिल पेस गर्दै आएका थिए। गृह मन्त्रालय अन्तर्गतको निकायले छानबिन नगरेकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने भन्दै उनका समर्थकहरू बचाउमा उत्रिएका छन्। तर, अनुसन्धानको नेतृत्व गरिरहेका अख्तियारका डिआईजी सरूवा गरेर गृहमन्त्री लेखकले समर्थकहरूलाई हेरेको हेरै बनाइदिएका हुन्।प्रहरी महाशाखा प्रमुख डिआईजी श्रेष्ठलाई रातारात सरूवा गरेर गृहमन्त्रीले अख्तियारको छानबिनलाई कसरी प्रभावित पार्छ भनेर लेखकले ऐना देखाइदिएका छन्। यद्यपि गृहमन्त्री लेखनले गरेको अख्तियारको डिआईजी सरूवा ७२ घण्टा पनि टिक्न सकेन।

गृहमन्त्री लेखकले अख्तियारमा कार्यरत डिआईजी श्रेष्ठलाई मंगलबार नै सरूवा गरेको खुलेको छ। अख्तियारका डिआईजी श्रेष्ठको ठाउँमा हालै बढुवा भएका डिआईजी ओमबहादुर रानालाई सरूवा गर्ने निर्णय शुक्रबार भयो। उक्त निर्णय सार्वजनिक भएसँगै गृहमन्त्री लेखकले अख्तियारको छानबिन प्रभावित पार्न खोजेको कर्तुत छताछुल्ल भयो। द्रुत गतिमा उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरूवा भएका अख्तियारका डिआईजी श्रेष्ठको द्रुत गतिमै फेरि अख्तियारमा सरूवा भयो। गृहमन्त्रीले क्षणभरमा सुशासन ‘स्थापित’ गरिदिए। अख्तियार पठाइएको भनिएका डिआईजी राना भने रानी पोखरीतिर पुग्ने भएका छन्।


अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा ‘रेड’ हान्ने सुईको पाएपछि गृहमन्त्री लेखकले रातारात प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईलाई गृह मन्त्रालय सरूवा गरे। सहसचिव भट्टराईले मिडियालाई आफ्नो इच्छा बमोजिम सरूवा गरिएको प्रतिक्रिया दिए। तर, भट्टराईलाई अख्तियारले अनुसन्धानको दायरामामा तानेपछि तिल्मिलिएका गृहमन्त्री लेखकले अख्तियारले छानबिन गर्ने भएपछि कारबाहीस्वरूप मन्त्रालय तानिएको दाबी गरे। आफू जोगिन गृहमन्त्री लेखकले अनुकूलता हेरेर प्रतिक्रिया दिन थालेका छन्।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन्। अख्तियारको छानबिनलाई गृहमन्त्रीले प्रभावित पार्न नसक्ने भन्दै लेखकले राजीनामा दिन नपर्ने ‘फैसला’ हुँदै आएको छ। तर, उनै गृहमन्त्री लेखकले अनुसन्धानको नेतृत्व गरिरहेका अख्तियारका डिआईजीलाई रातारात सरूवा गरेर छानबिनलाई कसरी प्रभाव पार्न सकिन्छ भन्ने फैसलाधीशहरूलाई ऐना देखाइदिएका छन्। सहसचिव तिर्थराज भट्टराई, डिआईजी हिमालय श्रेष्ठ, निजी सचिवालयमा कार्यरत शाखा अधिकृत विमल पौडेललगायतको सरूवा प्रकृति हेर्दा गृहमन्त्री लेखकले अस्वभाविक हर्कत गरेको देखिन्छ। गृहमन्त्रीले अख्तियारमा समेत कसरी हस्तक्षेप गर्छ भन्ने कुरा लेखकले नै प्रमाणित गरिदिएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ