भिजिट भिसामा पुष्पराज शाहीदेखि तिर्थराज भट्टराईसम्म ‘उडान’मा

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय बसेका पुष्पराज शाहीदेखि तिर्थराज भट्टराईसम्मको भिजिट भिसाको फेहरिस्त सार्वजनिक भएकाे छ। तिर्थराज भट्टराई काण्ड मच्चिएपछि शाहीदेखि भट्टराईसम्मको फेहरिस्त सार्वजनिक भएको हो।
बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र रमेश लेखकसम्म गृहमन्त्री भएका बेलाको फेहरिस्त सार्वजनिक भएको छ। बालकृष्ण खाँण गृहमन्त्री भएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखको भूमिकामा पुष्पराज शाही र बासुदेव घिमिरे रहेका थिए।
गृह मन्त्रालयका अनुसार सहसचिव पुष्पराज शाही १० महिना २५ दिन ‘टिआईए’ अध्यागमनमा बस्दा १३९९० जना भिजिट भिसामा उडेको ‘रेकर्ड’बाट देखिन्छ। शाहीले कमाण्ड लिएका बेला प्रतिदिन औसत ४६६ जना भिजिट भिसामा विदेशिएको पाइन्छ। बन मान्छेको रूपमा परिचित शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको भूमिकामा छन्।
अहिले रूपन्देहीको प्रमुख जिल्ला अधिकारी रहेका बासुदेव घिमिरे प्रमुख अध्यागमन अधिकृत हुँदा १८१९३ जना भिजिट भिसामा विदेशिएको पाइन्छ। ६ महिना २९ दिन अध्यागमन बसेका घिमिरेको पालामा दैनिक औसत ६०६ जना देश छोडेर हिँडेका थिए।
बालकृष्ण खाँणपछि गृहमन्त्री भएका नारायणकाजी श्रेष्ठको पालामा ‘टिआईए’ अध्यागमनमा ३ जना सहसचिव फेरिएका छन्। रामबन्धु सुवेदी, गोगनबहादुर हमाल र नरबहादुर थापा नारायणकाजीका बेलामा अध्यागमन अधिकृत भएका थिए।
रामबन्धु सुवेदी प्रमुख अध्यागमन अधिकृत हुँदा भिजिट भिसामा १६९५८ जना विदेशिएको पाइन्छ। अध्यागमनको ‘रेकर्ड’ अनुसार ५ महिना १२ दिन प्रमुख अध्यागमन अधिकृत भएर बसेका सुवेदीको पालामा दैनिक औसत ५६५ जना भिजिट भिसामा उडेका थिए। सुवेदी अहिले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत छन्।
अहिले कैलालीको सिडिओ रहेका गोगनबहादुर हमाल प्रमुख अध्यागमन अधिकृत हुँदा १८४५६ जना नेपाली भिजिट भिसामा विदेश उडेको देखिन्छ। ६ महिना ५ दिन प्रमुख अध्यागमन अधिकृत भएका हमालको पालामा दैनिक औसत ६१५ जना विदेशिएको ‘रेकर्ड’बाट खुल्छ।
हाल भोजपुरको सिडिओ रहेका नरबहादुर थापा प्रमुख अध्यागमन अधिकृत हुँदा २२२७९ जना भिजिट भिसामा विदेशिएको खुल्न आएको छ। २ महिना १६ दिन अध्यागमन बसेका थापाको पालामा दैनिक औसत ७४३ जना भिजिट भिसामा विदेश उडेका थिए।
गृहमन्त्री रवि लामिछाने भएपछि सुरेश पन्थी प्रमुख अध्यागमन अधिकृत बनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयमा गएका थिए। पन्थीको पालामा २६२२८ जना भिजिट भिसामा विदेशिएका थिए। पन्थीको पालामा दैनिक औसत ८७४ जना भिजिट भिसामा देश छाडेर हिँडेको पाइन्छ। ४ महिना २ दिन प्रमुख अध्यागमन अधिकृत भएर बसेका पन्थीको भिजिट भिसामा उड्नेको दैनिक औसत संख्या हेर्दा रेकर्ड ‘ब्रेक’ हुने देखिन्छ। पन्थी अहिले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक हुन्।
रमेश लेखक गृहमन्त्री भएपछि प्रमुख अध्यागमन अधिकृत भएका तिर्थराज भट्टराईको पालामा २०६५० जना भिजिट भिसामा उडेको पाइन्छ। ७ महिना १५ दिन अध्यागमन बसेका भट्टराईले दैनिक औसत ६८८ जना नेपालीलाई भिजिट भिसामा उडाएको देखिन्छ। भिजिट भिसा काण्डले उनै भट्टराई अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनमा तानिएका छन्।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : #गोगनबहादुर हमाल, #तिर्थराज भट्टराई, #नरबहादुर थापा, #पुष्पराज शाही, #बासुदेव घिमिरे, #भिजिट भिसा, #रामबन्धु सुवेदी, #सुरेश पन्थी
तपाईको प्रतिक्रिया दिनुहोस