यी हुन् तत्काल ‘कुलिङ पिरियड’ लागू हुने भएपछि निद्रा हराएका उच्च प्रशासकहरू

काठमाडौं। अवकाशको मुखमा रहेका उच्च प्रशासकहरू ‘कुलिङ पिरियड’ले तिल्मिलाएका छन्। अवकाशको मुखमा रहेका मुख्यसचिव र सचिवहरू संवैधानिक र न्यायाधीश नियुक्ति खान मुख मिठ्याएर बसेका छन्। २ वर्षे ‘कुलिङ पिरियड’ लागू हुँदा मुखमै आएको संवैधानिक नियुक्ति फुत्किने अवस्था आउँछ। त्यसैले मुख्यसचिव र सचिव पदधारी स्वार्थ समूह ‘कुलिङ पिरियड’ रोक्न हुल बाँधेर हिँड्न थालेका हुन्।
‘कुलिङ पिरियड’को तत्काल असर मुख्यसचिव एकनारायण अर्याल, कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा, गृहसचिव गोकर्णमणि दुवाडी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणिन्द्र गौतम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव कृष्णहरि पुष्कर कर्ण, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बिडारीलगायतलाई पर्ने देखिन्छ। उनीहरू नै ‘कुलिङ पिरियड’को प्रस्तावित २ वर्षे व्यवस्था हटाउन ज्यान फ्यालेर लागेका हुन्। मुख्यसचिव र सचिवले नै अवकाशपछिको जागिरको ग्यारेन्टी खोजेपछि निजामती प्रशासन ‘आर्यघाट’ तर्फ पुग्न लागेको आभाष मिल्न थालेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार (जो जनताबाट अनुमोदन भएका व्यक्ति हैनन्)को बलियो साथ पाएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले २ वर्षे ‘कुलिङ पिरियड’ राख्ने गरी पारित गरेको प्रावधान उल्ट्याउन लागिपरेका छन्। प्रस्तावित ‘संघीय निजामती सेवा ऐन’मा २ वर्षे ‘कुलिङ पिरियड’ लागू हुने भएपछि मुख्यसचिव र सचिवहरूले राती-राती प्रधानमन्त्री निवास बालुवाटारमा बैठक राख्ने गरेका छन्। यि स्वार्थ समूहका लागि प्रधानमन्त्री नै ‘गोटी’ बनेर निजामती कानुन गिजोल्न खोजेका हुन्। आफ्नो स्वार्थका लागि उनीहरू कुन हदसम्म जान्छन् भन्ने पछिल्ला चलखेलबाट प्रस्ट हुन्छ।
यहीँ असार २८ गते सचिवको ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश जान लागेका कानुन सचिव उदयराज सापकोटा ‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिव एकनारायण अर्यालसँगै कुममा कुम मिलाएर हिँडेका छन्। स्वार्थमा ठेस लाग्ने भएपछि ‘चिसो अवधि’मा तातो पानी खन्याउन उनी पनि सक्रिय छन्। सापकोटा नेपाली कांग्रेसका नेताहरूसँग नजिक देखिन्छन्।
मुख्यसचिव एकनारायण अर्याललाई ‘कुलिङ पिरियड’ले दिनमा भोक र रातमा निद्रा लागेको छैन। दिउँसो-दिउँसो शीर्ष नेता र भिभिआईपीका धाउने अर्याल राती-राती प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेरा’ जमाउन थालेका छन्। ५८ वर्षे उमेर हदका कारण आगामी मंसिर १० गते अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव अर्याललाई त्यसपछिको नियुक्तिले पिरोलेको छ। सके अख्तियारको प्रमुख आयुक्त खान मुख मिठ्याएर बसेका मुख्यसचिव अर्याललाई ‘कुलिङ पिरियड’ले पार्नु पीर पारेको पाइन्छ। ‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिव अर्यालबाट नहुनुपर्ने काम भइरहेको देखिन्छ। अर्याललाई एमालेको ‘पोलिटब्यूरो’को रूपमा चिन्ने गरिन्छ।
मुख्यसचिव अर्यालपछि ‘कुलिङ पिरियड’ले सताएका सचिव हुन कृष्णहरि पुष्कर कर्ण। सचिवको ५ वर्षे सेवा अवधिमा कारण १३ महिनापछि अनिवार्य अवकाशमा जानेछन्। त्यसपछि अख्तियार ताकेर बसेका कर्णलाई गर्मीको समयमा आउन लागेको चिसो अवधि ‘कुलिङ पिरियड’ले ‘लेक’ लाग्ने अवस्था आएको छ। मुख्यसचिवभन्दा अघि-अघि ‘कुलिङ पिरियड’ हटाउने लबिइङमा लागेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कर्ण सबैतिर पुग्ने गरेको पाइन्छ। ‘चाकडीमा पिएचडी’ गरेको भनेर उपमा पाएका उनले मुख्यसचिव अर्याललाई ‘कुलिङ पिरियड’ हटाउन विशेष साथ दिइरहेका छन्। कर्ण सबै पार्टीसँग ‘चोचोमोचो’ मिलाउनेमा पर्छन्।
अर्यालसँगै सचिवको ५ वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका गृहसचिव गोकर्णमणि दुवाडीलाई ‘कुलिङ पिरियड’ले लेक लागेको छ। अवकाशपछिको संवैधानिक नियुक्ति खाने प्रयासमा लागेका दुवाडी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग ‘कुलिङ पिरियड’ हटाउन हार गुहार गरिरहेका छन्। दुवाडी नेपाली कांग्रेस निकट मानिन्छन्।
५८ वर्षे उमेर हदका कारण मंसिर र फागुनमा अनिवार्य अवकाश हुन लागेका सचिवद्वय फणिन्द्र गौतम र रामप्रसाद घिमिरे ‘कुलिङ पिरियड’ लागू हुने भएपछि हटाउने लबिइङमा छन्। अवकाशपछि संवैधानिक अथवा अन्य नियुक्तिको सम्भावना बोकेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गौतम ‘कुलिङ पिरियड’ हटाउने लबिइङमा खुलेरै लागेका छन्। वाणिज्य तथा आपूर्ति सचिव घिमिरे भने कुलिङ पिरियड हटाउने सचिवको हुलमा खासै देखिएका छैनन्। गौतम र घिमिरे नेकपा एमालेसँग निकट सचिव हुन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई ‘सोर्स’ लगाएर दोहोऱ्याएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव बनेका केशवकुमार शर्मा बिडारीका लागि पनि ‘कुलिङ पिरियड’ टाउको दुःखाइको विषय हो। ५८ वर्षे उमेर हदका कारण चैतमा अनिवार्य अवकाश पाउन लागेका केशव त्यसपछिको नियुक्ति सुरक्षित गर्न लागेका छन्। एमाले निकट सचिव शर्मालाई पनि ‘कुलिङ पिरियड’ले असर पार्ने देखिन्छ।
‘कुलिङ पिरियड’ले स्वार्थी मुख्यसचिव र सचिवहरूको असली हैसियत देखिएको छ। उनीहरू देशको सेवा गर्न होइन आफू बन्न र स्वार्थ पूरा गर्न मात्र तल्लिन छन् भन्ने देखाउँछ। कुलिङ ‘पिरियड’ले सचिव र मुख्यसचिवको निद हराम भएको छ।
क्याटेगोरी : समाचारट्याग : #एकनारायण अर्याल, #कुलिङ पिरियड, #कृष्णहरि पुष्कर कर्ण, #केशवकुमार शर्मा विडारी, #गोकर्णमणि दुवाडी गृहसचिव
तपाईको प्रतिक्रिया दिनुहोस