प्रधानमन्त्री कार्यालयको निर्देशनपछि पनि गृह मन्त्रालयमा आधा दर्जन सहसचिव जगेडामा

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिम्मेवारीविहीन कर्मचारीलाई जिम्मेवारी दिन भनेपनि गृह मन्त्रालयले बेवास्ता गरेको छ। प्रधानमन्त्री कार्यालयले ३ दिनभित्र जिम्मेवारी दिन निर्देशन दिएपनि गृह मन्त्रालयमा अझै आधा दर्जन बढी सहसचिव जगेडामा छन्। प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको एक हप्ता बितेपनि गृह मन्त्रालयले त्यसलाई अवज्ञा गरेको हो।
निजामती सेवा ऐन, २०४९ को दफा १८ ख (१) मा कुनै लामो बिदामा बसेको र अन्यन्त्र काजमा खटिएको कारण पदाधिकारमा नरहेको अवस्थामा बाहेक २ महिनाभन्दा बढी पदिय जिम्मेवारी नदिई राखेमा जिम्मेवारी दिई काममा लगाउनुपर्ने दायित्व भएका पदाधिकारीलाई विभागीय कारबाही हुने व्यवस्था छ। तर, दुई महिनाभन्दा बढीदेखि सहसचिवलगायतका कर्मचारीलाई जगेडामा राख्ने गृह मन्त्रालयका सचिव र मन्त्रीलाई कुनै कारबाही भएको छैन।
गृह मन्त्रालयमा सहसचिव प्रेमप्रसाद भट्टराई ४ महिना बढीदेखि जगेडामा छन्। सहसचिवहरू नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा र बासुदेव दाहाल गृहको बरण्डामा हल्लिएको ३ महिना पुग्न लागेको छ। सहसचिव सुनिता नेपाल र बुद्धबहादुर गुरुङ झन्डै दुई महिनादेखि गृहको बरण्डामा जिम्मेवारीविहीन अवस्थामा छन्। लालबाबु कवारी पनि गृहको बरण्डामा पुगेको एक महिना पुग्न लागेको छ। भिजिट भिसा काण्डमा मुछिएका तिर्थराज भट्टराई गृहको बरण्डामै तानिएका छन्।
२ महिना पुगेका सहसचिवलाई कानुनविपरीत जिम्मेवारी नदिएर गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीले सुशासनको धज्जी उडाएका छन्। प्रधानमन्त्री कार्यालय हेरेको हेरै भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बरण्डामा आधा दर्जन सहसचिव रहेका छन्। सामान्य प्रशासन मन्त्रालयको जगेडामा सहसचिवहरू प्रेमबहादुर सिंह, गोविन्दप्रसाद अधिकारी, टंकनाथ लम्साललगायतका ४ महिनादेखि छन्। सहसचिव रूद्रप्रसाद लामिछाने पनि सामान्यको बरण्डामा हल्लिरहेका छन्। कानुनविपरीत सहसचिवसहितका कर्मचारी बरण्डामा राख्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र सचिव रविलाल पन्थमाथि कुनै विभागीय कारबाही भएको छैन।
प्रधानमन्त्री कार्यालयले दिएको तीन दिने निर्देशन एक हप्तासम्म कार्यान्वयन नहुनेले देशको सुशासनको अवस्था प्रस्ट हुन्छ। गृह र सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री कार्यालयको निर्देशनलाई ‘घाममा सुकाइदिएका’ छन्।
क्याटेगोरी : समाचार
ट्याग : #केदारनाथ शर्मा, #गोविन्दप्रसाद अधिकारी, #टंकनाथ लम्साल, #तिर्थराज भट्टराई, #नेत्रप्रसाद सुवेदी, #प्रेमप्रसाद भट्टराई, #प्रेमबहादुर सिंह, #बासुदेव दाहाल, #बुद्धबहादुर गुरुङ, #रुद्रप्रसाद लामिछाने, #लालबाबु कवारी, #सुनिता नेपाल
तपाईको प्रतिक्रिया दिनुहोस