अवकाशमा जान लागेका सचिवको ‘ट्रान्जिट’ बन्दै महालेखा नियन्त्रक कार्यालय


काठमाडौं। महालेखा नियन्त्रकको कार्यालय पछिल्लो समय अवकाशमा जान लागेका सचिवका लागि ‘ट्रान्जिट’ बन्न थालेको छ। एकपछि अर्काे सचिव महालेखा नियन्त्रकको कार्यालयलाई ट्रान्जिट बनाएर अवकाशमा जान थालेका हुन्।

महालेखा नियन्त्रकको भूमिकामा रहेका रघुराम विष्टले शुक्रबारबाटै अनिवार्य अवकाश पाइसकेका छन्। २०२४ साल जेठ २४ गते मकवानपुर जिल्लामा जन्मिएका विष्ट ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन्। २९ वर्ष सरकारी सेवामा बिताएर विष्ट घर गएका छन्।

२०७० साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका विष्ट २०८१ कार्तिक ८ गते सचिवमा बढुवा भएका थिए। गण्डकी प्रदेशबाट एक हप्ता अघि महालेखा नियन्त्रकको भूमिका काठमाडौं भित्रिएका विष्ट महालेखाका ट्रान्जिट बनाएर घर गएका हुन्। ट्रान्जिट बनाउन महालेखा आएका विष्टका कारण उनलाई दिने उपहार समेत खेर गएको महालेखाभित्र दुःखेसो छ। सरूवा भएर ‘मालदार अड्डा’मा जाने लेखाका कर्मचारीले महालेखा नियन्त्रकलाई राम्रै व्यवस्था गर्ने भएपनि छोटो समयका लागि आएका विष्ट उक्त अवसरबाट बञ्चित भएका छन्।

विष्ट महालेखा नियन्त्रक भएर आउनु अघि गणेशप्रसाद पाण्डे पनि महालेखाबाटै अनिवार्य अवकाशमा गएका हुन्। ५८ वर्षे उमेर हदका कारण बैशाख २९ गते पाण्डेले अनिवार्य अवकाश पाएपनि त्यसको दुई सातापछि मात्र विष्ट महालेखा नियन्त्रकको जिम्मेवारी सम्हाल्न पुगेका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट महालेखा नियन्त्रक भएर गएका पाण्डेले ४ महिना पनि त्यहाँ बिताउन पाएनन्। उनले एकलट सरूवा भने भ्याए। पाण्डे पनि महालेखलाई ‘ट्रान्जिट’ बनाएर सरकारी सेवाबाट बिदा भएका थिए। पाण्डेपछि विष्टले पनि महालेखालाई ‘ट्रान्जिट’ बनाएर सरकारी सेवाबाट बिदा भएका छन्। फेरि पनि ‘ट्रान्जिट’वाला नियन्त्रक महालेखाले भोग्ने अवस्था नआओस्।

क्याटेगोरी : समाचार
ट्याग : ## महालेखा नियन्त्रक, #गणेशप्रसाद पाण्डे, #रघुराम विष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ