अख्तियारको विस्तृत छानबिनमा रहेकी डा. संगिता वीपीको भिसी बन्ने लबिइङमा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विस्तृत छानबिनमा रहेकी डा. संगिता भण्डारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति बन्ने लबिइङमा छिन्।संगिताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति (भिसी) हुँदा गरेका अनियमितताको चाङ अख्तियारमा लागेको छ। तर, पराराष्ट्रमन्त्री आरजु राणा देउवामार्फत उनी वीपी प्रतिष्ठानको भिसी बन्ने दौडधुपमा लागेकी हुन्।
अख्तियार स्रोतका अनुसार संगिता जोडिएका झन्डै आधा दर्जन ‘केस’ अख्तियारको विस्तृत अनुसन्धानमा रहेका छन्। राप्तीको भिसी हुँदा उनले गरेका हरेक ठेक्का सम्झौतामा अनियमितता भएको देखिन्छ। तर उनै संगिता वीपीको भिसी बन्न चर्को लबिइङमा लागेको पाइन्छ।
तत्कालीन भिसी ज्ञानेन्द्र गिरी लाई भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि संगिताका पति डा. प्रल्हाद कार्की वीपीको कार्यवाहक उपकुलपति भएका थिए। गिरीले सफाइ पाएपछि इमानदार शैलीका डा. कार्की वीपी प्रतिष्ठानको भिसी बन्न पाएनन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनेर बद्नामी कमाएकी उनकी पत्नी संगिता वीपीको भिसी ताकिरहेकी छिन्। यसले युवा मन्त्री प्रदिप पौडेलको पनि राजनीतिक करियरमा धक्का लाग्ने देखिन्छ।

राजेन्द्र महतो स्वास्थ्यमन्त्री भएका बेला संगिता पाटनको भिसी बनेकी थिइन्। संगिता पाटनको भिसी हुँदा विवादमा परेर ४ महिनामै बर्खास्त भएकी थिइन्। प्रतिष्ठानका तत्कालीन कुलपति प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको सिनेट बैठकले विवादित भिसी संगितालाई बर्खास्त गरेको थियो। उक्त निर्णय गर्दा स्वास्थ्यमन्त्री महतो भने बैठकमा उपस्थित भएका थिएनन्। उनी भिसी भएको महिना दिन नपुग्दै पाटनमा भाडभैलो मच्चियो। चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थी एकसाथ आन्दोलनमा उत्रिए। ३ महिना आन्दोलनसम्म चलेपछि संगितालाई भिसीबाट बर्खास्त गरिएको थियो। त्यसपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लयमा फर्कियो।
पाटनको भिसीबाट बर्खास्त भएकी संगिता राप्रपाका दिपक बोहरा स्वास्थ्यमन्त्री हुँदा फेरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी बनिन्। राप्तीमा हुँदा गरेका अनियमितताको उजुरी अख्तियारमा चाङ लागेको छ। संगिताले कमिसन खाएर सेटिङमा भाडामा लगाउनेदेखि अक्सिजन प्लान्ट खरिदमासमेतमा राज्यलाई घाटा पुग्नेगरी काम गरेको उजुरी पनि अख्तियारमा छ।
संगिता राप्तीको उपकुलपति हुँदा राज्यको पैसा दुरुपयोग गरेर अनावश्यक रूपमा ललितपुरमा मासिक लाखौं भाडा तिरेर सम्पर्क कार्यालय खोलिएको थियो। कुकुरलाई खान खुवाएको बिल समेत प्रतिष्ठानबाट भुक्तानी गर्न लगाएपछि संगित विवादमा तानिन्। उनले गरेको बदमासी लेख्दै जाने हो भने एउटा ग्रन्थ नै बन्छ। त्यस्तो विवादित व्यक्तिलाई भिसी बनाउन कांग्रेसमा भाउजु-दिज्यू ग्याङ सक्रिय रहेको पाइन्छ।
क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #प्रा.डा. संगिता भण्डारी, #संगिता भण्डारी
तपाईको प्रतिक्रिया दिनुहोस