गोकर्णेश्वर नगरपालिकाले नेपाल मेडिकल कलेजसँग मिलेर ३ करोड बढी घोटाला गरेको खुलासा


काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले नेपाल मेडिकल कलेजलाई ३ करोड बढी सम्पत्ति कर छुट दिएको खुलासा भएको छ। आर्थिक ऐनविपरीत नगरपालिकाले नेपाल मेडिकल कलेजलाई ३ करोड २६ लाख ७० हजार ६६९ रुपैयाँ सम्पत्ति कर छुट दिएर घोटाला गरेको खुलासा भएको हो।

नगरपालिकाले राज्यकोषको करोडौं रुपैयाँ हानिनोक्सानी पुऱ्याएको महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले औंल्याएको छ। गोकर्णेश्वर नगरपालिकाले नेपाल मेडिकल कलेजको व्यवसायिक भवनलाई निजी घर मानेर ३ करोड २६ लाख ७० हजार ६६९ रुपैयाँ घोटाला गरेको खुलासा भएको हो। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरी कारबाही गर्न सक्ने आधार देखिन्छ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार गोकर्णेश्वर नगरपालिका जारी गरेको आर्थिक वर्ष २०८०/०८१ आर्थिक ऐन, २०८० को दफा ३ सँग सम्बन्धित दररेटमा सम्पत्ति कर असुल गर्दा व्यवसायिक भवन कम्प्लेक्स तथा अपार्टमेन्टको हकमा कुल वर्ग फुटको ३ गुणा बढी जग्गाको कभरेज भन्ने उल्लेख रहेको छ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल मेडिकल कलेजलाई कित्ता नम्बर ३८, ११२, ३४, ११५, ११६, ३४, १११, २२४, २२६, २२८, १०४, ३५, १०३, ६८ र ७१ समेत १५ वटा कित्ता रहेको जमिनको क्षेत्रफलको आधारमा ३ गुणाले हिसाब गरी सम्पत्ति कर असुल उपर गर्नुपर्नेमा निजी आवासीय आधारमा असुल गर्दा हालसम्म निर्धारित ६ करोड ६१ लाख ८० हजार ४०९ रुपैयाँ रहेकोमा सोमध्ये ३ करोड ३५ लाख ९ हजार ७४० रुपैयाँ असुल भैसकेकाले छुट भएको ३ करोड २६ लाख ७० हजार ६६९ रुपैयाँ असुल गर्नुपर्ने महालेखाको ठहर छ।

क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर नगरपालिका, #नेपाल मेडिमेडिकल कलेज, #सम्पत्ति कर घोटाला

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ