नेकपा एसले स्वास्थ्यमा दाबी छाड्यो, बेदुरामका लागि शिक्षा माग्दै

सत्तारुढ दलहरूबीच मन्त्रालयको संख्या टुंगियो


काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले स्वास्थ्य मन्त्रालयमा दाबी छाडेको छ । गृहसहित भौतिक पूर्वाधार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दाबी गरेको एसले स्वास्थ्य मन्त्रालयमा दाबी छाडेको हो ।

एसले स्वास्थ्य मन्त्रालयमा दाबी छाडेसँगै उक्त मन्त्रालय नेपाली कांग्रेसको भागमा पर्ने निश्चित जस्तै भएको छ । स्वास्थ्य मन्त्रालयमा कांग्रेसका सांसद प्रदीप पौडेल, दिपक खड्का र डिकबहादुरबीच प्रतिस्पर्धा देखिन्छ ।

स्वास्थ्यमा दाबी छाडेको नेकपा एसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक पूर्वाधार र वन तथा वातावरण मन्त्रालय लिन प्रस्ताव गरेका थिए । तर, नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले भौतिक पूर्वाधार, शिक्षा, कृषि र श्रममध्ये ३ मन्त्रालय मागेको छ ।

एसले दुई मन्त्रालयमात्र पाउने सम्भावना छ । त्यस्तो अवस्थामा प्रकाश ज्वाला र बेदुराम भुसाल मन्त्री बन्ने नेकपा एसका नेताहरु बताउँछन् । ज्वालालाई भौतिक पूर्वाधारमन्त्री बनाउने एसको तयारी छ ।  बेदुरामका लागि भने शिक्षा मन्त्रालय उपयुक्त रहेको नेकपा एसका नेताहरू सुनाउँछन् । बेदुराम बैचारिक र अध्ययनशील नेता भएकाले उनका लागि एसले शिक्षा मन्त्रालय दाबी गर्ने र पाउने सम्भावना रहेको छ ।

मन्त्रीहरूको सपथ भोलि बेलुकासम्म गर्ने आज बालुवाटार बसेको गठबन्धनको बैठकको निर्णय छ ।

 दलहरूबीच मन्त्रालयको संख्या टुंगियो

बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दलहरूले पाउने मन्त्रालयको संख्या टुंग्याएको छ ।

बालुवाटारमा भएको सहमति अनुसार नेपाली कांग्रेसलाई ८ मन्त्रालय र एक राज्यमन्त्री पाउने छ । माओवादीलाई प्रधानमन्त्रीसहित ५ मन्त्रालय, एकीकृत समाजवादी र जसपालाई समान २/२, जनमतलाई १ मन्त्री र १ राज्यमन्त्री, लोसपा, नाउपा, आजपा र नेसपालाई १/१ मन्त्रालय दिने सहमति भएको हो । १ राज्यमन्त्री भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमध्ये एउटा पार्टीले पाउने छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, #नेकपा एकीकृत समाजवादी, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #बेदुराम भुसाल, #माधवकुमार नेपाल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com