दिलिप गुरूङको निजी योगदानमा स्थापित स्याङ्जा मडकिना भञ्ज्याङको सांस्कृतिक संग्रहालय

काठमाडौं। स्याङ्जा जिल्लाको पूर्वोत्तर गाउँपालिका विरूवामा राज्यले गर्नु पर्ने काम एक जना व्यक्तिले गरेका छन्। हाल बेलायत बस्दै आएका दिलिपकुमार गुरूङले स्याङजा जिल्लाको विरूवा गाउँपालिका वडा नम्बर ४ मडकिना भञ्ज्याङ्गस्थित आफ्नै निजी निवासलाई सांस्कृतिक संग्रहालयमा परिणत गरेका छन्।
नेपालको मौलिकता झल्किने गरी गुरूङले मडकिना भञ्ज्याङ्गमा सांस्कृतिक संग्रहालय स्थापना गरेका हुन्। उक्त संग्राहलयमा छिर्दा नेपालका विभिन्न ठाउँमा घुमेको अनुभूति हुन्छ। एउटा व्यक्तिको एक्लो प्रयासले पनि गर्दा के नहुँदो रहेछ भन्ने उदाहरण मडकिना भञ्ज्याङ्गस्थित सांस्कृतिक संग्राहलय हो। पुराना बाजागाजासहित भाँडाकुँडा उक्त साँस्कृतिक संग्रहालयमा देख्न सकिन्छ। उक्त सांस्कृतिक संग्रहालय विद्यार्थी र पर्यटनलाई घुम्ने र अध्ययन अवलोकन गर्ने ठाउँ बन्न सक्छ।
स्याङ्जा जिल्लामै पहिलो सांस्कृतिक संग्रहालयमा हिमाली र पहाडी संस्कृति झल्काउने भेषभुषा, कला जनजीवनमा प्रयोग हुने सामग्रीहरू र पुराना भाँडावर्तनहरू राखिएको छ। गोर्खाली सैनिकको विषयमा अध्ययन गर्नका लागि पनि उक्त संग्रहालयमा अध्ययनको थलो बन्ने देखिन्छ। विभिन्न पदकहरू, भिक्टोरिया क्रस पाउने नेपालीहरूको विषयमा जानकारी दिने वस्तुहरू पनि संग्राहलयमा देख्न सकिन्छ।
श्री १००८ माता चम्पागिरी जन्म सन्यास आश्रम, ओरष्टे गोफाबाट नजिकै रहेको सांस्कृतिक संग्राहलय गुरूङले आफ्नी स्वर्गीय माता लाल माया गुरूङको सम्झनामा बनाइदिएका हुन्। हुन् त बेलायती सेनाबाट अवकाशप्राप्त गुरूङले श्री १००८ माता चम्पागिरी जन्म सन्यास आश्रममा १० औं लाख खर्च गरेर यज्ञशाला निर्माण गरिदिएका छन्। विभिन्न सामाजिक काममा सक्रिय गुरूङले आफ्नो जन्मभूमिमा ठूलो योगदान गरेका छन्। अस्पताल निर्माणका लागि भनेर गुरूङले निजी जग्गा सरकारलाई दिएपनि उक्त जग्गा सदुपयोग हुन सकेको छैन।
सहारा क्लब पोखराको संस्थापक समेत रहेका गुरूङ ‘आफ्नो ठाउँ आफै बनाउँ’ भन्ने अभियानमा लागेका छन्। हाल सहारा युकेका अध्यक्ष रहेका अध्यक्ष रहेका गुरूङले भूकम्पले ध्वस्त भएको गोरखा घेरुङमा रहेको गणेश प्राथमिक विद्यालय पुननिर्माणमा पनि महत्त्वपूर्ण योगदान दिएका थिए। नेपालमा अनेकौं सामाजिक र सांस्कृतिक संस्थाहरूको माध्यमबाट दिलिपले गरेको योगदानको कदरस्वरूप दर्जनौं पदन तथा पुरस्कारले समेत सम्मानित भएका छन्।
स्याङजाको कोल्मा उच्च माध्यमिक विद्यालयमा ताररहित इन्टरनेट सेवा जडानका लागि पनि गुरूङले सहयोग गरेका छन्। गुरूङ विभिन्न संघ संस्थामा रहेर आफ्नो जन्मस्थानको विकास र विस्तारमा सहयोग पुऱ्याउँदै आएका छन्। गुरूङ नेपाल सरकारबाट समाजसेवी पदकबाट समेत सम्मानित भइसकेका छन्।
ट्याग : #दिलिपकुमार गुरूङ, #सांस्कृतिक संग्रहालय मडकिना भञ्ज्याङ
तपाईको प्रतिक्रिया दिनुहोस