समानान्तर ठेक्का पाउँदा तात्कालीन प्र.प्र.अ. ज्ञवालीलाई जोगाइयो, समानान्तर ठेक्का नपाउँदा परियारलाई मुद्दा चलाइयो


काठमाडौं। काठमाडौं महानगरपालिकासँग समानान्तर निर्माण सेवा जोडिएका दुई वटा भ्रष्टाचार मुद्दा चलेको छ। संलग्नताको प्रकृति हेर्दा एउटै देखिने विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दोहोरो मापदण्ड अपनाएको पाइन्छ।

ठेक्का सम्झौतामा समानान्तरले ठेक्का पाउँदा प्रमुख प्रशासकीय अधिकृत जोगिएका छन् भने नपाउँदा भ्रष्टाचारमा जाकिएका छन्।काठमाडौं महानगरपालिकाले टेकुमा प्रशासकीय भवन निर्माण गर्दा अनियमितता भएको ‘केस’मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई मुद्दा चलाइएको थिएन। ढल निर्माण कार्यको ठेक्का समानान्तरले नपाउँदा भने प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई भ्रष्टाचार मुद्दा चलाइएको छ।

महानगरले समानान्तर निर्माण सेवाको मात्र बोलपत्र स्वीकृत गरेर ६९ करोड ५८ लाख १९ हजार रुपैयाँमा भवन निर्माणको ठेक्का दिइएको थियो। उक्त कार्यमा संलग्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई उन्मुक्ति दिएर तल्लो तहका कर्मचारीलाई मात्र मुद्दा चलाएको थियो। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका निर्देशक भैरवबहादुर बोगटी, खरिद एकाइ प्रमुख उपनिर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर हुँदा ज्ञवाली जोगिएका थिए। अहिले समानान्तरले ठेक्का नपाउँदा प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियार भ्रष्टाचारमा डामिएका छन्।

बसुन्धरादेखि म्हेपीसम्म (सामाखुसी करिडोर)को ढल निर्माण कार्यको ठेक्का समानान्तरले नपाउँदा परियारसहित महानगरका निर्देशक रविनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। कम मूल्य कबोल्ने समानान्तर निर्माण सेवा प्रालिलाई ठेक्का नदिइ झन्डै साढे ४ करोड बढी कल्पवृक्ष-कोहिनुर जेभीले ठेक्का दिएपछि परियारसहितलाई भ्रष्टाचार मुद्दा दायर भएको हो।

उस्तै प्रकृतिको संलग्नतामा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि अख्तियारले फरक-फरक व्यवहार गरेको पाइन्छ। परियारलाई भ्रष्टाचार मुद्दा चलाउने अख्तियारले ज्ञवालीलाई भने उन्मुक्ति दिएको देखिन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #प्रदिप परियार, #राजेश्वर ज्ञवाली, #समानान्तर निर्माण सेवा प्रालि

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ