गृह मन्त्रालयको जगेडामा थुप्रिएका सहसचिवहरू


काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दरबन्दीभन्दा बढी कर्मचारीको खोजी गरिरहेको छ। गृहसचिव गोकर्णमणि दुवाडीले त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्पष्टीकरण समेत खेपेका छन्। अहिले पनि दरबन्दीभन्दा बढी कर्मचारी राख्नेमा गृह मन्त्रालय नै अगाडि देखिएको छ।

गृह मन्त्रालयको जगेडामा झन्डै १ दर्जन सहसचिव रहेका छन्। गृह मन्त्रालयमा ५ महिनादेखि थन्किएका सहसचिव पनि देखिएका छन्। मोरङको सिडिओबाट फिर्ता भएका सहसचिव प्रेमप्रसाद भट्टराई गृहको बरण्डामा हल्लिएको ५ महिना बढी भइसकेको छ।

सिराहाको सिडिओबाट फर्किएका सहसचिव बासुदेव दाहाल, बाग्लुङको सिडिओबाट फर्किएका नेत्रप्रसाद सुवेदी र पर्वतको सिडिओबाट फिर्ता बोलाइएका केदारनाथ शर्मा ३ महिनादेखि गृह मन्त्रालयको बरण्डामा ‘घाम तापिरहेका’ छन्। स्याङ्जाको सिडिओबाट फर्किएकी सहसचिव सुनिता नेपाल र लमजुङको सिडिओ खाएर फर्किएका सहसचिव बुद्धबहादुर गुरुङ गृहको जगेडामा हल्लिएको पनि २ महिना नाघिसकेको छ। महोत्तरी सिडिओबाट तानिएका लालबाबु कवारी गृह मन्त्रालयमा हल्लिएको १ महिना बढी भइसक्यो। कास्कीको सिडिओबाट फर्किएका भरतमणि पाण्डे र धनुषाबाट आएका रामुराज कडरिया गृह मन्त्रालयमै देखिन्छन्। अख्तियारको फन्दामा परेका तीर्थराज भट्टराई पनि गृहमै छन्।

निजामती सेवा ऐन, २०४९ को दफा १८ ख (१) मा कुनै लामो बिदामा बसेको र अन्यन्त्र काजमा खटिएको कारण पदाधिकारमा नरहेको अवस्थामा बाहेक २ महिनाभन्दा बढी पदिय जिम्मेवारी नदिई राखेमा जिम्मेवारी दिई काममा लगाउनुपर्ने दायित्व भएका पदाधिकारीलाई विभागीय कारबाही हुने व्यवस्था छ। तर, दुई महिनाभन्दा बढीदेखि सहसचिवलगायतका कर्मचारीलाई जगेडामा राख्ने गृह मन्त्रालयका सचिव र मन्त्रीलाई कुनै कारबाही भएको छैन।गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडी कर्मचारी व्यवस्थापनमा निकै कमजोर देखिएका छन्। यसले गर्दा गृह प्रशासनमा सुशासनले ‘हावा’ खाएको पाइन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #केदारनाथ शर्मा, #तिर्थराज भट्टराई, #नेत्रप्रसाद सुवेदी, #प्रेमप्रसाद भट्टराई, #बासुदेव दाहाल, #बुद्धबहादुर गुरूङ, #भरतमणि पाण्डे, #रामुराज कडरिया, #लालबाबु कवारी, #सुनिता नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ