गृह मन्त्रालयको जगेडामा पुगेका सिडिओहरू


काठमाडौं। गृह मन्त्रालयको बरण्डामा हल्लिरहेका सहसचिवहरूको व्यवस्थापन गरेर विभिन्न जिल्लाका सिडिओहरू जगेडामा तानिएको छ। आधा दर्जन बढी सिडिओलाई गृह मन्त्रालय तानिएको हो।

इलामकी सिडिओ सहसचिव कल्पना श्रेष्ठ गृह मन्त्रालयको जगेडामा तानिएकी छिन्। २ महिनादेखि गृहको बरण्डामा रहेकी सुनिता नेपाल इलामको सिडिओ बनाएर पठाएर श्रेष्ठलाई गृहको जगेडामा तानिएको हो। श्रेष्ठ १ वर्ष इलामको सिडिओ चलाएर गृह मन्त्रालयको जगेडामा पुगेकी हुन्।

भोजपुरका सिडिओ सहसचिव नरबहादुर थापा पनि गृह मन्त्रालयको जगेडामा तानिएका छन्। भोजपुरको सिडिओमा कसूरजन्य सम्पत्ति विभागको महानिर्देशक सुरेश पन्थीलाई पठाएर थापालाई गृह मन्त्रालय ल्याइएको हो। श्रेष्ठ र थापा एकैदिनको निर्णयबाट इलाम र भोजपुरको सिडिओ भएर गएका थिए।

सिन्धुलीको सिडिओ सहसचिव लिलाप्रसाद शर्मा पनि गृह मन्त्रालय तानिएका छन्। सिन्धुलीमा गोरखाका सिडिओ दिनेशसागर भुसाललाई पठाएर शर्मालाई गृह मन्त्रालय तानिएको हो। शर्मा सिन्धुलीको सिडिओबाट ९ महिनामा गृह मन्त्रालय तानिएका हुन्।

सहसचिवको दरबन्दीमा मस्ती मार्ने केही उपसचिव सिडिओ पनि गृह मन्त्रालय तानिएका छन्। बैतडीका सिडिओ उपसचिव दीर्घराज उपाध्याय, डोटीका सिडिओ उपसचिव मोहनराज जोशी र डडेल्धुराका सिडिओ उपसचिव चोमेन्द्र न्यौपाने पनि गृह मन्त्रालय तानिएका छन्। बैतडीमा पुण्य बिक्रम पौडेल, डोटीमा बुद्धबहादुर गुरूङ र डडेल्धुरामा जनार्दन गौतम सिडिओ भएर गएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ