सार्वजनिक संस्थानको उत्पादकत्व र अर्थतन्त्र सुदृढ पार्नुपर्ने : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सार्वजनिक संस्थानहरूको उत्पादकत्व बढाउँदै देशको अर्थतन्त्र मजबुत बनाउन आवश्यक रहेको बताएका छन्।
नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८औं वार्षिकोत्सवको अवसरमा लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले आजको आवश्यकता सबल सार्वजनिक संस्थान रहेको उल्लेख गरे।
“अब हामीले आय आर्जन र उत्पादकत्व बढाउनेतर्फ ध्यान दिनुपर्छ, जसले मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष योगदान दिन सक्छ,” उनले भने।
मन्त्री पाण्डेले सार्वजनिक संस्थानमा आवश्यक जनशक्ति व्यवस्थापन स्पष्ट र प्रभावकारी ढंगले गर्नुपर्नेमा जोड दिए। “कति कर्मचारी आवश्यक छन्, कसरी परिचालन गर्ने भन्ने विषयमा स्पष्ट खाका बनाइनु आवश्यक छ,” उनले भने, “यसले संस्थाको क्षमता अभिवृद्धि र आर्थिक स्थायित्वमा टेवा पुर्याउँछ।”
७७ वटै जिल्लामा भएका विकास निर्माणका कामहरू प्रभावकारी रूपमा अघि बढिरहेको उल्लेख गर्दै उनले विगतमा इन्जिनियर अभावका कारण समस्या देखिए पनि अहिले ती कामहरू स्थानीय तहका इन्जिनियरमार्फत सहज रूपमा सञ्चालन भइरहेको जानकारी गराए।
नागरिक उड्डयनसम्बन्धी नीतिको मस्यौदा अन्तिम चरणमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी एक–दुई दिनभित्र नीति सार्वजनिक गरिने बताए।
कार्यक्रममा मन्त्री पाण्डेले सार्वजनिक संस्थानहरूको मुख्य आम्दानीको स्रोत हल भाडा भएकाले निःशुल्क कार्यक्रम सञ्चालन गर्न नदिनुपर्ने स्पष्ट पारे।
“अब निःशुल्क कार्यक्रमहरू आयोजना गर्न दिनुहुँदैन,” मन्त्री पाण्डेले भने, “निःशुल्क कार्यक्रम संस्थाको आम्दानी स्रोतमा ह्रास ल्याउँछ र संस्थालाई धराशायी बनाउने जोखिम हुन्छ।”उनले सार्वजनिक संस्थानहरूले अब उत्पादन, सेवा र दक्षताका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा कर्मचारीहरूको स्वास्थ्य जाँच पनि गरिएको थियो। झन्डै १०० जना कर्मचारीहरूले स्वास्थ्य जाँच गराएका थिए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस