को बन्ला बागमती प्रदेशको स्वास्थ्यमन्त्री ?


काठमाडौं । स्वास्थ्य मन्त्रालयसमेत लिएको बागमती प्रदेशको नेकपा एमाले सरकारबाट बाहिरिने तरखर गरेसँगै नेपाली कांग्रेस सरकारमा जान खुट्टा उचालेको छ । एमालेको भागमा परेका मन्त्रालय कांग्रेसको भागमा पर्ने सम्भावना छ ।

नेपाली कांग्रेसको दबावमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका मन्त्रीहरु बर्खास्त गर्न खोजेका थिए । तर, हिजो एमालेका नेताहरूले संसदमा धारणा राखेर सरकारबाट बाहिरिने प्रस्ताव राखेपछि मुख्यमन्त्री जम्कट्टेल लचक भएका हुन् । कांग्रेस कै अडानका कारण बुधबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन सकेनन् । १० गते (भोलि) उनले विश्वासको मत लिने कार्यतालिका छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, श्रम, रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठ र कृषि तथा पशुपति विकासमन्त्री केशवप्रसाद पोखरेलले भोलि राजीनामा दिँदैछन् ।

एमाले सरकारबाट बाहिरिने भएपछि बागमती प्रदेश सरकारमा जान कांग्रेसका सांसदहरू खुट्टा उचालेर लागेका छन् । कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

प्रदेश सरकारमा जान कांग्रेसका दर्जन सांसद दौडधुपमा छन् ।बागमती प्रदेश सरकारमा कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको नेतृत्वमा जाने सम्भावना छ ।

बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा मसिना खड्काको बढी चर्चा छ । सिन्धुपाल्चोकका प्रभावशाली नेता मोहनबहादुर बस्नेत निकट खड्कालाई स्वास्थ्यमन्त्री बनाउने सम्भावना रहेको बताइन्छ ।

बस्नेतले बहादुर सिंह लामालाई संसदीय दलको नेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेकाले उनी निकट खड्का स्वास्थ्यमन्त्री बन्ने चर्चा भएको हो । खड्का मेडिकल क्षेत्रमा काम गरेकी अनुभवी व्यक्ति समेत हुन् ।

खड्कापछि रामकृष्ण चित्रकारको नाम पनि स्वास्थ्यमन्त्रीमा चर्चा छ । ललितपुर कै रामेश्वर एमालेबाट स्वास्थ्यमन्त्री बनेको भन्दै उनले स्वास्थ्यमन्त्रीमा दाबी गर्ने सम्भावना छ । स्वास्थ्यमन्त्रीमा काठमाडौं कै छिरिङ दोर्जे लामा र सुरजचन्द्र लामिछानेको नाम पनि चर्चामा छ ।

यता महामन्त्री गगन कुमार थापाको क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित श्रीराम लामिछाने पनि स्वास्थ्यमन्त्री बन्ने सम्भावना छ । थापाको सिफारिसमा उनलाई स्वास्थ्यमन्त्री बनाउन सक्ने सम्भावना उत्तिकै रहेको कांग्रेस नेताहरू बताउँछन् ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा भने दिपेन्द्र श्रेष्ठ, कंचनचन्द्र वादे र रमेश महतको चर्चा छ । अनुभवी मन्त्री बनाउनु पर्ने अवस्था आएमा श्रेष्ठ अर्थमन्त्री बन्ने सम्भावना छ । अर्थमन्त्रीमा अनुभवी र स्वच्छ छविका श्रेष्ठको नाम व्यापक रूपमा चर्चा रहेको हो । उता रामशरण र प्रकाशरण महतका भतिज रमेश पनि अर्थमन्त्री बन्न लागिपरेका छन् ।

कांग्रेसबाट बागमती प्रदेशको मन्त्री बन्न प्रभात तामाङ, कुन्दन काफ्ले, हरिप्रभा खड्गी, मिकृष्ण महर्जन, पुकार महर्जन, मधुकुमार श्रेष्ठ, तीर्थ लामालगायत दौडधुपमा लागेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #मसिना खड्का श्रीराम लामिछाने, #स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, #स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ बागमती प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com