महानिर्देशक डा. बाराकोटी शिक्षण अस्पतालको आइसियुमा उपचाररत

काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटी त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचाररत छन्। निमोनियाको संक्रमण देखिएपछि दुई दिनअघि उनलाई अस्पतालमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख छ।
बरिष्ठ प्रशासकसमेत रहेका डा. बाराकोटी लामो समयदेखि स्वास्थ्य क्षेत्रको विभिन्न निकायमा जिम्मेवारी सम्हाल्दै आएका छन्। हाल उनी स्वास्थ्य सेवा विभागको नेतृत्वमा रहेर औषधि आपूर्ति, सामग्री व्यवस्थापन, तथा राष्ट्रिय कार्यक्रमहरूको समन्वयमा सक्रिय थिए।
स्वास्थ्य सेवा विभाग अन्तर्गत देशभर स्वास्थ्य सामग्रीको आपूर्ति, भण्डारण तथा वितरणदेखि विभिन्न कार्यक्रम सञ्चालनमा महत्वपूर्ण भूमिका रहँदै आएको छ। विभागले पछिल्लो समय एचआइभी, क्षयरोग, मलेरिया तथा अन्य सार्वजनिक स्वास्थ्य कार्यक्रमहरूको कार्यान्वयनमा केन्द्र सरकार र विकास साझेदारहरूसँग सहकार्य गरिरहेको छ।
महानिर्देशक डा. बाराकोटीको अस्वस्थताले केही दिन विभागीय जिम्मेवारीमा कार्यगत असर परे पनि उनका सहकर्मीहरूले नियमित कार्य सञ्चालन गरिरहेको विभाग स्रोतले जनाएको छ। यसबीचमा विभागका अन्य अधिकारीहरूले जिम्मेवारी सम्हालेर नियमित प्रक्रिया अघि बढाइरहेका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस