चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन


काठमाडौँ । देशका चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाले आवेदन दिएका छन्। स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै दिएको सात दिने समयसीमा मङ्गलबार साँझ ५ बजे सकिँदा सो संख्यामा आवेदन परेको हो।

बीपी कोइराला (धरान), पाटन (ललितपुर), कर्णाली (जुम्ला) र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि उपकुलपति पद रिक्त छ। नेतृत्व अभावले नीति निर्माण, शैक्षिक कार्यक्रम, बजेट खर्च र सेवा प्रवाहमा असर परिरहेको छ।

स्वास्थ्य सचिवकाे सचिवालयका अनुसार अब प्राप्त ५५ निवेदनहरूमध्ये प्रत्येकको कागजपत्र परीक्षण गरिनेछ। त्यसपछि मापदण्ड पुगेका उम्मेदवारलाई ‘सर्टलिस्ट’ गरिने र सर्टलिस्ट भएकाहरूको प्रस्तुतिका आधारमा उपकुलपतिको सिफारिस गरिनेछ।

स्वास्थ्य शिक्षामा स्थायित्व, पारदर्शिता र गुणस्तर ल्याउन दलगत भागबण्डाभन्दा माथि उठेर योग्य व्यक्तित्वलाई नेतृत्वमा ल्याउने अपेक्षा गरिएको छ। मन्त्रालय स्रोतले भन्यो, “अब नेतृत्व छनोटमा योग्यता र दृष्टिकोणको मूल्यांकन हुनुपर्छ, न कि राजनीतिक दबाबको।”

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ