विद्युतीय शवदाह उपकरण अवलोकनका नाममा भारतमा तीर्थाटन, ५ लाख रुपैयाँ बुझ्नेहरू भ्रष्टाचारमा डामिए


काठमाडौं। विद्युतीय शवदाह उपकरण अवलोकनका नाममा पशुपति क्षेत्र विकास कोषका कर्मचारीले तीर्थाटन गरेको पाइएको छ। असम्बन्धित व्यक्ति पनि विद्युतीय शवदाह उपकरण अवलोकनको बाहनामा भारतमा विभिन्न धार्मिकस्थल र शक्तिपीठ घुमेको पाइएको हो। ५२ लाख पर्ने विद्युतीय शवदाह उपकरण १ करोड ५२ लाखमा किन्ने चाँजोपाँजो मिलाएर भारत पुगेकाे पशुपति क्षेत्र विकास कोषको टोलीले धार्मिकस्थल घुमेर कोषबाट झन्डै ५ लाख भुक्तानी लिएको पाइन्छ। उनीहरू अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्।

विद्युतीय शवदाह उपकरण अवलोकनका नाममा भारत जानेमा काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतदेखि कोषका उपनिर्देशक रेवतीरमण अधिकारी, लेखा अधिकृत चन्द्रप्रसाद खनालसम्म रहेका छन्। त्यस्तै ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका उपप्राध्यापक युवराज अधिकारी, पशुपति क्षेत्र विकास कोषका इन्जिनियर पशुपति ठाकुर, डेनिस उप्रेती र रमेश पुरी रहेका छन्। उनीहरू दिल्ली र गुजरात घुमेर आएको पाइएको छ। लास जलाउने मेसिन हेर्नका लागि उनीहरू दलबलसहित भारत पुगेका हुन्। असम्बन्धित व्यक्तिलाई मेसिन हेर्न पठाउने नाममा तीर्थाटन गराउने निर्णय भने तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्रीले गरेका थिए। जलहरी काण्डमा भ्रष्टाचार मुद्दा लागेर थापा निलम्बित भएपछि निमित्त सदस्यसचिव बनेका खत्रीले कोषमा उत्पात मच्चाएको पाइन्छ।

विद्युतीय शवदाहका सामानहरुको निरीक्षणसहित भारतको दिल्ली र गुजरातका सोमनाथ मन्दिर, द्वारकाधीश मन्दिर, अम्बाजी मन्दिर, राधादामोदर, स्वामीनारायण अक्षरधाम मन्दिर, सूर्यमन्दिर, लक्ष्मीविलास दरवार तथा विजयविलास दरबार लगायत हरियाणा, भोपालका केही तीर्थस्थलहरुको समेत अवलोकन भ्रमण गरी ४ लाख ७८ हजार ९ सय ११ रुपैयाँ भ्रमण भत्ता लिइएको खुल्न आएको हो। ‘फ्याक्ट्री’ अवलोकनको खर्च ठेकेदारले नै व्यहोर्ने सम्झौताविपरीत असम्बन्धित व्यक्तिहरुलाई समेत मनोनयन गरी भ्रमण भत्ता कोषबाट नै भुक्तानी गरी राज्यको सम्पत्तिको दुरुपयोग समेत गरेको देखिन्छ। शवदाह गृह अवलोकनमा नाममा वडाध्यक्षलाई पनि तीर्थाटन गराउने काम भएको पाइन्छ। उनले के अवलोकन गरे त्यो भने खुलेको छैन।

विद्युतीय शवदाहका सामानहरुको निरीक्षणसहित भारतको दिल्ली र गुजरातका सोमनाथ मन्दिर, द्वारकाधिश मन्दिर, अम्बाजी मन्दिर, राधादामोदर, स्वामीनारायण अक्षरधाम मन्दिर, सूर्यमन्दिर, लक्ष्मीविलास दरवार तथा विजयविलास दरबार लगायत हरियाणा, भोपालका केही तीर्थस्थलहरुको समेत अवलोकन भ्रमण गरेर आएका वडाध्यक्ष संगतबाहेक सबैलाई भ्रष्टाचार मुद्दा लागेको छ। उक्त मन्दिरका भगवानले संगतबाहेक अरु असंगतलाई भ्रष्टाचार मुद्दाबाट जोगाउन सकेको देखिँदैन। अहिले सबै निलम्बनमा परेर विशेष अदालत धाउने अवस्थामा पुगेका छन्।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #आशामान संगत, #चन्द्रप्रसाद खनाल, #डेनिस उप्रेती, #पशुपति ठाकुर, #युवराज अधिकारी, #रमेश पुरी, #रेवतीरमण अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ