पदको पछाडि दौड, तर जिम्मेवारीमा चासो छैन


काठमाडौं । पदोन्नति पाउने बित्तिकै जिम्मेवारी छाड्ने प्रवृत्ति फेरि एकपटक स्वास्थ्य मन्त्रालयमा देखिएको छ। १२औं तहमा बढुवा भई स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवको रूपमा पठाइएका दुई वरिष्ठ चिकित्सक डा. श्रीकृष्ण श्रेष्ठ र डा. केशरबहादुर ढकाल मन्त्रालयको जिम्मेवारी लिनभन्दा व्यक्तिगत स्वार्थ र पदोन्नतिको राजनीति पछि दौडिरहेका देखिन्छन्।

२०८१ जेठ ३० गते मन्त्रिपरिषद् निर्णयअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. श्रेष्ठ र सुर्खेत अस्पतालमा कार्यरत डा. ढकाललाई मन्त्रालयमा पठाइएको थियो। तर, बढुवा भएको झन्डै तीन हप्तापछि मात्रै डा. श्रेष्ठले असार १० गते औपचारिक रूपमा हाजिर गरेका छन्। यद्यपि, मन्त्रालयमा बसेर काम गर्ने उनको मनसाय नरहेको स्रोतको भनाइ छ। उनी अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्ने दौडमा सक्रिय छन् र यसका लागि स्वास्थ्य मन्त्री प्रदीप पाैडेलसमक्ष इच्छा पनि जाहेर गरिसकेका छन्।

उता, डा. ढकाल अझै मन्त्रालय आएका छैनन् । उनी सुर्खेत अस्पतालमै बसेर पुरानै शैलीमा ‘रस’ लिनमा व्यस्त रहेको मन्त्रालय स्रोतको व्यंग्य छ। एक उच्च तहको कर्मचारीले जिम्मेवारी सम्हाल्न मन्त्रालय जानु पर्ने बेलामा अस्पतालमै सक्रिय रहनु अस्वाभाविक मानिएको छ।

स्वास्थ्य मन्त्रालयमा पूर्व सचिव डा. रोशन पोखरेल र डा. दिपेन्द्र रमण सिंहको अवकाशपछि रिक्त रहेको अतिरिक्त सचिव पदमा यी दुई डाक्टरको बढुवा गरिएको थियो। तर दुवैले मन्त्रालयमा पेशागत जिम्मेवारी सम्हाल्नभन्दा पनि पदको लाभ उठाउने र अर्को पदका लागि रणनीति बनाउनमै समय खर्चिन थालेपछि यो प्रकरण ‘पदमा चासो, तर काममा उदासीनता’ को जीवित उदाहरण बन्न पुगेको छ।

स्वास्थ्य मन्त्रालयमा उच्च तहका पदाधिकारीहरू राजनीतिक या व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा संस्थाको सेवा प्रभावशीलता होइन, विश्वसनीयता कमजोर हुने विशेषज्ञहरूको चिन्ता छ। त्यसैले यस्ता अवसरवादी कर्मचारीलाई थप नयाँ जिम्मेवारी दिने भन्दा पनि मन्त्रालयमै राखेर काममा दलाउनुपर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ