लास नै नजलाउने विद्युतीय शवदाह उपकरण

काठमाडौं। भन्नलाई लास जलाउने मेसिन भनिएको छ तर, पशुपति क्षेत्र विकास कोषले खरिद गरेको विद्युतीय शवदाह उपकरणले लास नै जलाउँदैन। एउटालाई १ करोड ५२ लाख रुपैयाँ हालेर खरिद गरिएको २ वटा शवदाह उपकरण लास नै जलाउन नसक्ने अवस्थामा छन्।
पशुपति क्षेत्र विकास कोषले २०७७ सालमै ६७ लाखमा खरिद गरेको विद्युतीय शवदाह उपकरणले अहिलेसम्म इज्जत धानिरहेको पाइन्छ। झन्डै तेब्बर बढी हालेर खरिद गरिएको विद्युतीय शवदाह उपकरण भने लास जलाउन नसकेर अलपत्र परेको हो।
पहिले खरिद गरिएको विद्युतीय शवदाह उपकरणभन्दा तुलनात्मक हिसाबले नयाँ खरिद गरिएका २ थान उपकरण बढी बिग्रने गरेको छ। उक्त विद्युतीय शवदाह उपकरण पटकपटक बिग्रने तथा ताप बढी बाहिर फाल्ने गरेको हुनाले सञ्चालन गर्न कठिनाई भएको पशुपति क्षेत्र विकास कोषका अधिकारीहरू बताउँछन्।
भारतबाट खरिद गरी पछिल्लो समयमा जडान भएका दुवै थान गुणस्तहीन विद्युतीय शवदाह उपकरण सञ्चालनमा अहिलेसम्म प्रयोगमा आउन सकेको छैन। कामै नलाग्ने मेसिन खरिद गर्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। शवदाह गृहमा गएर अवलोकन गर्दा पनि ‘कात्रोमा कमिसन खाएको’ सहजै अनुमान लगाउन सकिन्छ। कात्रोमा कमिसन खानेमध्येका केहीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा डामेको हो।
ट्याग : #लास जलाउने मेसिन
तपाईको प्रतिक्रिया दिनुहोस