फर्किएर आउने राजदूतको पद लुकाएर विज्ञापन गर्दा परराष्ट्रमा ३ सहसचिव फाजिलमा

काठमाडौं। परराष्ट्र मन्त्रालयको बदमारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साथका कारण परराष्ट्र सेवामा ३ जना सहसचिव फाजिलमा परेका छन्। फर्किएर आउने राजदूत (सहसचिव)को पद लुकाएर विज्ञापन गर्दा अहिले ३ सहसचिव फाजिलमा परेका हुन्।
पररराष्ट्र मन्त्रालयमा ११ जना सहसचिवको दरबन्दी रातारात थपियो। लोक सेवा आयोगमा विज्ञापन माग्दा ११ जना माग्नुपर्नेमा १४ जना सहसचिव मागियो। बेल्जियमको राजदूतबाट फर्किने सहसचिव गेहेन्द्र राजभण्डारी, पाकिस्तानको राजदूतबाट फर्किने सहसचिव तापस अधिकारी र जर्मनीको राजदूतबाट फर्किने सहसचिव रामकाजी खड्काको ठाउँ पनि खाली नराखी सहसचिवको विज्ञापन गरिएको हो। त्यसैले अहिले परराष्ट्र मन्त्रालयमा सहसचिवहरू डा. ईला मैनाली, रोजिना ताम्राकार र दिपक विक फाजिलमा परेका छन्। उनीहरू परराष्ट्र मन्त्रालयको बरण्डामा ‘घाम तापेर’ बसिरहेका छन्। ‘हाजिर गर्ने र टाप ठोक्ने’ उनीहरूको दैनिकी बनेको छ।
चालू आर्थिक वर्षभित्र अवकाश भएर जाने कर्मचारीको हकमा मात्र लोक सेवा आयोगमार्फत पदपूर्ति गर्न पाउने व्यवस्था छ। तर, परराष्ट्र मन्त्रालयले अख्तियारको दुरूपयोग र अनुचित कार्य गरेर कानुनविपरीत ३ जना बढी सहसचिव थपेको पाइन्छ। यस्तो विकृत र गैरकानुनी कार्यमा परराष्ट्र र सामान्य प्रशासन मन्त्रालयका उच्च अधिकारीको मिलेमतो रहेको पाइन्छ। परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवाको शासनकालमा सहसचिव फाजिलमा राख्ने गरी विज्ञापन गरेर सुशासनलाई ‘हावा खुवाइएको’ छ।
५८ वर्षे उमेर हदबाटै हेर्ने हो भने बेल्जियमको राजदूतबाट फर्किएर दक्षिण एसिया महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका गेहेन्द्र राजभण्डारी २०९२ जेठसम्म सरकारी सेवामा रहन्छन्। ६० वर्षे लागू हुँदा ९४ सालसम्म उनको जागिर लम्बिन्छ। आदिवासी/जनजाति कोटाबाट सहसचिव भएर परराष्ट्र सचिव हुने लाइनमा रहेका राजभण्डारीको ठाउँमा समेत परराष्ट्र मन्त्रालय विज्ञापन गरेर नयाँ सहसचिव थपेको छ।
त्यस्तै जर्मनीको राजदूतबाट फर्किएर परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका सहसचिव रामकाजी खड्का पनि २०८७ माघसम्म सरकारी सेवामा रहन्छन्। तर, उनी फर्किएर आउने ठाउँमा समेत विज्ञापन गरेर परराष्ट्रमा नयाँ सहसचिव भित्र्याइएको छ।
पाकिस्तानको राजदूतबाट फर्किएर दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखाको जिम्मेवारीमा रहेका सहसचिव तापस अधिकारी भने साउन ८ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। उनको हकमा पनि चालू आर्थिक वर्षभित्र अवकाशमा जाने सहसचिव मानेर विज्ञापन गर्ने ठाउँ छैन। परराष्ट्र मन्त्रालयले जथाभावी गर्दा र सामान्य प्रशासन मन्त्रालयले अनुचित कार्यमा साथ दिँदा परराष्ट्र मन्त्रालयमा ३ जना सहसचिव फाजिलमा परेका छन्। एउटै कर्सीमा २ जना सहसचिव बस्न नमिल्ने भएकाले दरबन्दीभन्दा बढी रहेका ३ जना सहसचिव परराष्ट्र मन्त्रालयको जगेडामा पुगेका हुन्।
त्यसो त सहसचिवको अनावश्यक दरबन्दी थपेर परराष्ट्र मन्त्रालयलाई ‘माछाबजार’ जस्तै बनाइएको छ। नेपाल कै सबैभन्दा बढी महाशाखा भएको मन्त्रालय परराष्ट्र बनेको हो। १५ वटा महाशाखा खडा गरेर सहसचिवको ‘माछाबजार’ बनाएको परराष्ट्र मन्त्रालयले त्यसको औचित्य भने पुष्टि गर्न सकेको छैन।
लोक सेवा आयोगलाई समेत गुमराहमा राखेर सहसचिवमा गैरकानुनी विज्ञापन गर्न लगाउने परराष्ट्र र सामान्य प्रशासन मन्त्रालयका मुख्य जिम्मेवारी अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अख्तियारको दुरुपयोगमा भ्रष्टाचार मुद्दा दायर गरे मात्र यस्ताे विकृति हट्छ। नत्र परराष्ट्र मन्त्रालय बेथितिको भुमरीमा फस्ने देखिन्छ। डा. ईला मैनाली, रोजिना ताम्राकार र दिपक विक जस्ता दरबन्दी बिनाका सहसचिव परराष्ट्र मन्त्रालयमा निरन्तर थपिरहन्छन्। परराष्ट्र मन्त्रालयले फाजिलमा अनावश्यक सहसचिव राखेर राज्यको ढुकुटी सत्यानाश बनाउने काम गरिरहेको छ। उक्त कार्यमा संलग्न अधिकारीहरू कानुनको दायरामा आउनै पर्छ।
क्याटेगोरी : समाचारट्याग : #ईला मैनाली, #गेहेन्द्र राजभण्डारी, #तापस अधिकारी, #दिपक विक, #परराष्ट्र मन्त्रालय सहसचिव, #परराष्ट्र माछाबजार, #रामकाजी खड्का, #रोजिना ताम्राकार
तपाईको प्रतिक्रिया दिनुहोस