विद्युत् निर्यात १७ अर्ब, तर मेडिकल शिक्षाबाट १०० अर्ब सम्भव


काठमाडौं । भारतका मेडिकल कलेजहरूले नेपाली विद्यार्थीलाई लक्षित गर्दै काठमाडौं, पोखरा, चितवनलगायतका शहरहरूमा शैक्षिक मेलाहरूको आयोजना तीव्र रूपमा गरिरहेका छन्। यस्ता मेलाहरूमा सयौं विद्यार्थी सहभागी भइरहेका छन्, जसले भारततर्फ विद्यार्थी पलायन झनै बढाएको छ। तर, नेपाल सरकार अझैसम्म स्वास्थ्य शिक्षालाई रणनीतिक प्राथमिकताका रूपमा लिन सकेको छैन।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्राथमिकतामा स्वास्थ्य शिक्षा परेकै छैन । चिकित्सा क्षेत्रका विज्ञ शान्तराज बतास भन्छन्, “नेपालमा स्वास्थ्य शिक्षाका लागि आवश्यक कानुन, संरचना र अभ्यासहरू भइसकेका छन्, अब चाहिएको त केवल नीतिगत प्राथमिकता हो।” उनका अनुसार, मेडिकल शिक्षा नेपालका लागि पर्यटनभन्दा दोब्बर राजस्व आर्जन गर्न सक्ने क्षेत्र हो, तर राज्यको ध्यान अन्यत्र केन्द्रित छ। “मेडिकल टुरिजम विस्तार गर्न अभ्यास आवश्यक छ, तर स्वास्थ्य शिक्षामा ती अभ्यासहरू पहिले नै भइसकेका छन्,” उनी भन्छन्।

नेपालले चालु आर्थिक वर्षमा विद्युत् निर्यातबाट करिब १७ अर्ब रुपैयाँ आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, यो आम्दानी देशको अर्थतन्त्रका लागि महत्वपूर्ण भए पनि सीमित बजार, मौसमी निर्भरता र पूर्वाधार अभावका कारण तत्काल वृद्धिको संभावना कम छ।

तर विज्ञहरूका अनुसार, चिकित्सा शिक्षा विद्युत् निर्यातको तुलनामा पाँचदेखि दस गुणा बढी आम्दानी दिने सम्भावना राख्छ। हाल नेपालमा करिब दुई दर्जन मेडिकल कलेजहरूमा जम्मा ५०० विदेशी विद्यार्थी अध्ययनरत छन्। तर नीति, पूर्वाधार सुधार र अन्तर्राष्ट्रिय प्रचारप्रसार गरिए वार्षिक ५,००० देखि १०,००० विद्यार्थी भित्र्याउन सकिन्छ।

विदेशी विद्यार्थीले औसत १ करोड रुपैयाँ तिरेर एमबीबीएस वा बीडीएस अध्ययन गर्ने हुँदा, ५,००० विद्यार्थीबाट ५० अर्ब र १०,००० विद्यार्थीबाट १०० अर्ब रुपैयाँ प्रत्यक्ष आम्दानी सम्भव छ। यो त केवल शिक्षण शुल्क हो; विद्यार्थीहरूको बसोबास, यातायात, खानपान, बीमा, इन्टरनेट, घुमफिर र स्वास्थ्य सेवामा हुने खर्चले अप्रत्यक्ष रूपमा पर्यटन र सेवा क्षेत्रलाई समेत लाभ पुग्ने विज्ञहरूको बुझाइ छ।

स्वास्थ्य शिक्षाविद् डा. मीना श्रेष्ठले भनेकी छन्, “नेपालको मेडिकल शिक्षा दक्षिण एसिया र अफ्रिकाका विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्न सक्छ। भारत, बंगलादेश, श्रीलंका र अफ्रिकाबाट विद्यार्थीहरू आउन इच्छुक छन्, तर सहज भिसा, पारदर्शी भर्ना प्रक्रिया र मान्यता प्राप्त प्रमाणीकरण आवश्यक छ।”

चीन, भारत र बंगलादेशले शिक्षालाई निर्यातयोग्य सेवा बनाउँदै ठूलो विदेशी मुद्रा आर्जन गरिरहेका छन्। नेपालले स्पष्ट र प्रभावकारी नीति बनाएर चिकित्सा शिक्षालाई निर्यात सेवा बनाउन सके, यो क्षेत्र सबैभन्दा ठूलो विदेशी मुद्रा स्रोत बन्न सक्छ।

कोरोना महामारीले ठुलो क्षति पुर्‍याएको नेपाल पर्यटन क्षेत्र हाल पुनरुत्थानको अवस्थामा छ। सन् २०१९ मा पर्यटनबाट ८०१ मिलियन अमेरिकी डलर आम्दानी भएको नेपालले २०२० र २०२१ मा क्रमशः २३८ र १७६ मिलियन डलर मात्र आर्जन गर्न सकेको थियो। तर, २०२२ मा ३७८ र २०२३ मा ५४८ मिलियन डलर पुग्दै आम्दानीले पुनरागमन देखाएको छ। पाँच वर्षमा नेपालले पर्यटनबाट करिब ७६ अर्ब आम्दानी गरेको छ।

पाँच वर्षको पर्यटन आम्दानी (सन् २०१९–२०२३)

२०१९ झण्डै ८०१ मिलियन डलर
२०२० झण्डै २३८ मिलियन डलर
२०२१ झण्डै १७६ मिलियन डलर
२०२२ ३२६–३७८ मिलियन डलर
२०२३ झण्डै ५४८ मिलियन डलर ५२% को दरले तीव्र वृद्धि

पर्यटन आम्दानी नेपाली रुपैयाँमा

सन् २०२१ → झण्डै ७.२६६ अर्ब रुपैयाँ

सन् २०२२ → झण्डै ७.८७४ अर्ब रुपैयाँ

आर्थिक वर्ष २०८०/८१ (पहिला ११ महिना) → ७६.५५ अर्ब रुपैयाँ आम्दानी, हालसम्मकै उच्च

विज्ञहरूको मतमा, पर्यटनभन्दा कम लगानीमा र छोटो समयमा स्वास्थ्य शिक्षा क्षेत्रबाट दोब्बर आम्दानी सम्भव छ। यसको लागि सरकारले तत्काल स्पष्ट रणनीति बनाएर ‘पढ्न नेपाल आउँ’ जस्ता अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्छ। मेडिकल कलेजहरूको शैक्षिक गुणस्तर, भर्ना प्रक्रिया र अन्तर्राष्ट्रिय मान्यता प्रणाली सुदृढ गर्न नसके नेपालले सम्भावना गुमाउने खतरा छ।

नीति निर्माणमा वैकल्पिक दृष्टिकोण अवलम्बन गरी सन् २०३० भित्र नेपाललाई ‘शिक्षा निर्यात गर्ने देश’ को रूपमा स्थापित गर्न सकिने विज्ञहरूको सुझाव छ। उनीहरूले नेपाललाई विद्युत् निर्यातजस्तै स्वास्थ्य शिक्षालाई आर्थिक समृद्धिको मेरुदण्डका रूपमा स्वीकार गर्नुपर्ने जोड दिएका छन्।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##medical education

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ