अर्थमन्त्रीका निजी सचिव पौडल ‘बाकटे हानेर’ परराष्ट्र पुगे


काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलका निजी सचिव मधुसुधन पौडेल ‘दोमासे’ ‘बाकटे हानेर’ परराष्ट्र मन्त्रालय पुगेका छन्। उपसचिव हुनेबित्तिकै महालेखा नियन्त्रक कार्यालयतिर नहेरी अर्थमन्त्री पौडेलको निजी सचिव बनेका मधुसुधन सिनियर उपसचिवलाई ‘छिर्के लगाउँदै’ परराष्ट्र गएका हुन्। महालेखा नियन्त्रक कार्यालय स्रोतका अनुसार मधुसुधनलाई परराष्ट्र पठाउने निर्णय भइसकेको छ।

२०८१ असारमा आन्तरिक प्रतिस्पर्धाबाट लेखाको उपसचिव बनेका मधुसुधन एक वर्ष अर्थमन्त्री पौडेलको सचिवालयमा बसेर परराष्ट्र जान सफल भएका छन्। परराष्ट्रमा जाने गरी महालेखा नियन्त्रकको कार्यालयमा ‘गौंडा ढुकेर’ बसेका उपसचिवहरूलाई हेरेको हेऱ्यै पारेर उनी परराष्ट्रमा बाजी मार्न सफल भएका हुन्।

महालेखा नियन्त्रकको कार्यालय र मातहतको निकायमा नबसी उपसचिव भएको एक वर्षमै मधुसुधनलाई परराष्ट्र पठाउँदा महालेखाको सरूवा प्रणाली नै भताभुङ्ग भएको छ। दरबन्दी खाली नहुँदै लेखा अधिकृत शंकर न्यौपानेलाई पनि परराष्ट्र मन्त्रालय पठाइएको छ। उक्त सरूवा प्रकरणले महालेखा नियन्त्रक शोभाकान्त पौडेल सहमहालेखा नियन्त्रक सुशिला अर्याल र उपमहालेखा नियन्त्रक निरज केसीको भूमिमामाथि समेत प्रश्न उठेको छ। उपसचिव भएको २ वर्ष पनि नपुगी मधुसुधन परराष्ट्र मन्त्रालय सरूवा हुँदा सरूवासम्बन्धी मापदण्डले समेत ‘हावा’ खाएको छ। आरजु राणा देउवाको मन्त्रालयमा जे पनि चल्छ भन्ने हिसाबले महालेखा नियन्त्रक कार्यालयले उनलाई परराष्ट्रमा पठाइदिएको हो।

परराष्ट्रमा कार्यरत लेखा उपसचिव भेषप्रसाद भुर्तेल दिल्ली राजदूतावास पुगेका छन्। उनको ठाउँमा मधुसुधनलाई पठाउने निर्णय भएको हो। सहसचिवमा बढुवा हुन लागेका भुर्तेल दिल्लीमा ३ वर्ष नबस्ने भएपछि परराष्ट्र जान लेखा उपसचिवहरूबीच कडा प्रतिस्पर्धा रहेको थियो। अन्ततः अर्थमन्त्री पौडेलका निजी सचिव मधुसुधनले बाजी मारेका छन्। महालेखा नियन्त्रक शोभाकान्त पौडेलले लेखामा जे गर्दा पनि हुन्छ भन्ने मानक स्थापित गराएका छन्।

निरजको स्वार्थले सिनियर उपसचिवहरू पेलानमा

उपमहालेखा नियन्त्रक निरज केसी परराष्ट्र जान खोज्दा मधुसुधनले बाजी मारेका हुन्। निरजले परराष्ट्र जाने स्वार्थ नदेखाएको भए रामचन्द्र शर्मा परराष्ट्रमा पुगिसकेका हुने थिए। परराष्ट्र जान मलेनिकाका कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा प्रमुख उपसचिव रामचन्द्र शर्मा ‘मुख मिठ्याएर’ बसेका थिए। तर, निरजले परराष्ट्रको लोभ राख्दा रामचन्द्र ‘बनबास’ गएका छन्। रामचन्द्रको विकल्पमा परराष्ट्र जानेमा मलेनिका कै उपसचिव रेजिना कोइरालालाई हेरिएको थियो। विष्णुका पिएका अघि उनीहरूको दाल गलेन। निरजको स्वार्थका कारण महालेखा बसेर दुःख गरेका उपसचिवहरू परराष्ट्र जानबाट बञ्चित भएका छन्। न निरज परराष्ट्र गए न त रामचन्द्रहरू जान पाए। बरू ‘बाकटे हानेर’ मधुसुधनले परराष्ट्रमा उडान भरेका छन्। महालेखाको सरूवा प्रणाली पनि मधुसुधनसँगै परराष्ट्रतिर उडेको छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #निरज केसी, #भेषप्रसाद भुर्तेल, #मधुसुधन पौडेल, #महालेखा नियन्त्रक कार्यालय, #रामचन्द्र शर्मा, #रेजिना कोइराला, #शोभाकान्त पौडेल, #सुशिला अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ