महालेखाको ‘गौंडा ढुकेर’ परराष्ट्र पुग्ने लेखा उपसचिवको ‘पुल भत्कियो’

समाचार टिप्पणी
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलका निजी सचिव मधुसुधन पौडेल (दोसासे) ‘बाँकटे’ हानेर परराष्ट्र मन्त्रालय पुगेसँगै महालेखाको ‘गौंडा ढुकेर’ परराष्ट्र पुग्ने ‘पुल’ भत्किएको’ छ। रसुवागढी नाकामा रहेको नेपाल चीन जोड्ने मितेरी पुललाई हिमताल फुटेर आएको बाढीले बगाए जस्तै महालेखाको गौंडा ढुकेर परराष्ट्र पुग्ने उपसचिवको ‘पुल भत्काइदिएका’ हुन्।
महालेखा नियन्त्रक कार्यालय (मलेनिका)को कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा प्रमुख (उपसचिव) परराष्ट्र मन्त्रालय जाने विगतदेखि नै गलत परम्परा बसाल्न खोजिएको थियो। मलेनिकाभित्र विदेश घुम्न पाउने शाखाभित्र पर्ने भएकाले परराष्ट्र जाने अभ्यास उक्त शाखाबाटै सुरू हुने गरेको थियो। कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा प्रमुख हुँदै विगतमा यदुनाथ भट्टराई, भेषप्रसाद भुर्तेल परराष्ट्र मन्त्रालय पुगेका थिए। उक्त शाखा प्रमुखबाट सरूवा भएर यदुनाथ भट्टराई परराष्ट्र मन्त्रालय हुँदै भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा ३ वर्ष बसेर स्वदेश फर्किने तरखरमा छन्। सोही शाखा प्रमुख हुँदै परराष्ट्र मन्त्रालयमा ३ वर्ष बसेर भेषप्रसाद भुर्तेल ‘अब दिल्ली दूर नहीं’ भन्ने अवस्थामा पुगेका छन्। रामचन्द्र शर्मालाई भने उक्त शाखाले परराष्ट्र होइन ‘बनबास’ पुऱ्याइदिएको छ। मलेनिकाको कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा प्रमुख हुँदै विगतमा दुई उपसचिव परराष्ट्र पुगेपनि रामचन्द्रको हकमा ‘दिल्ली दूर’ बन्न पुगेको हो।
यदुनाथ, भेषप्रसाद हुँदै रामचन्द्र पनि महालेखाको ‘गौंडा ढुकेर’ परराष्ट्र मन्त्रालय पुगेका थिए। रामचन्द्रको पालामा उक्त ‘गौंडा ढुकाइ’को कुनै औचित्य रहेन। अर्थमन्त्रीका निजी सचिव मधुसुधनले फड्को मारेपछि रामचन्द्रको परराष्ट्र जाने सपना चकनाचुर भएको छ। ‘गौंडा ढुकेर’ बसेका उनी हेरेको हेऱ्यै भएका छन्। मधुसुधनले महालेखाको ‘गौंडा ढुकेर’ परराष्ट्र पुग्ने ‘पुल’ मात्र भत्काइदिएका छैनन् परराष्ट्रको सरूवा प्रणाली नै भत्काइदिएका हुन्। महालेखा नियन्त्रक शोभाकान्त पौडेल, सहमहालेखा नियन्त्रक सुशिला अर्याल र उपमहालेखा नियन्त्रक निरज केसीका लागि महालेखाको सरूवा प्रणालीभन्दा ठूलो मधुसुधन भएका छन्। महालेखाको सरूवासम्बन्धी निर्देशिका उनीहरूले ‘धोबी खोलामा बगाइदिएका’ हुन्। परराष्ट्र पुग्ने पुल भत्किए जस्तै महालेखाको प्रणालीलाई ‘धोबी खोलाको ढलमा पौडी खेल्न’ पठाइदिएका छन्। बेथिति र विसंगतिको शिकार महालेखा नियन्त्रक कार्यालय बनेको छ। मधुसुधनका लागि महालेखा नियन्त्रक कार्यालयले महालेखाको सरूवा प्रणाली कै धज्जी उडाएको हो।
सडकमा ‘आँप आतंक’
महालेखा नियन्त्रक कार्यालयको कर्मचारी प्रशासन शाखामा बसेर सडक विभाग पुगेका विवादित उपसचिव रविन कोइरालाले ‘आँप आतंक’ मच्चाएको चर्चा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्म पुगेको छ। मालदार अड्डा मात्र बसेर सडक छिरेका रविनले मातहतका कार्यालयमा फोन गगेर आँप माग्ने गरेको विषय सडक विभागमा मात्र होइन तालुकदार मन्त्रालयमा समेत चर्चा हुन थालेको हो। रविनले सडक विभागलाई नै बद्नाम गराएको आरोप लाग्न थालेको छ। लेखा उपसचिवका लागि आकर्षक मानिने सडक विभाग रविन कै कारण बद्नाम हुन थालेको मलेनिकातिर पनि ‘चिया गफ’को विषय बनेको पाइन्छ।
क्याटेगोरी : समाचारट्याग : #निरज केसी, #परराष्ट्र मन्त्रालय, #भेषप्रसाद भुर्तेल, #मधुसुधन पौडेल, #यदुनाथ भट्टराई, #रविन कोइराला, #रामचन्द्र शर्मा, #शोभाकान्त पौडेल
तपाईको प्रतिक्रिया दिनुहोस