अतिरिक्त स्वास्थ्य सचिव ढकालसहित चालू आर्थिक वर्षमा घर जाने स्वास्थ्यका उच्च अधिकारीहरू


काठमाडौं। कर्मचारी व्यवस्थाका हिसाबले स्वास्थ्य सेवा सबैभन्दा धेरै कर्मचारी भएको सेवा हो। तर, चालू आर्थिक वर्ष २०८२/८३ मा यो सेवाबाट अवकाश हुने उच्च अधिकारीको संख्या एकदमै न्यून छ। त्यो पनि सम्वत् फिरेपछि (२०८३ साल लागेपछि) मात्र स्वास्थ्यका ती उच्च अधिकारीहरू अवकाशमा जाने सूचीमा छन्।

अतिरिक्त स्वास्थ्य सचिव डा. केशरबहादुर ढकालसहित नगन्य मात्रामा स्वास्थ्य एघारौं तह (सहसचिव) चालू आर्थिक वर्षमा अवकाश हुँदैछन्। त्यसमा डा. मनिलाल नेवार, डा. माया लामा र डा. अर्जुनप्रसाद सापकोटा रहेका छन्। उनीहरू सम्वत् फिरेपछि मात्र ६० वर्ष लागेर अनिवार्य अवकाशमा जानेछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौं) केशरबहादुर ढकाल ६० वर्ष लागेर २०८३ असार ५ गते अनिवार्य अवकाशमा जाने भएका छन्। स्वास्थ्य सेवामा ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने व्यवस्था छ। त्यसैलाई टेकेर अतिरिक्त स्वास्थ्य सचिव घर जाने भएका हुन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत नेपाल स्वास्थ्य सेवा डर्माटोलोजी/लेप्रोलोजी प्रमुख कन्सलटेण्ट डर्माटोलोजिष्ट, अधिकृत एघारौं (सहसचिव) मनिलाल नेवारले २०८३ जेठ २३ गते अनिवार्य अवकाश पाउनेछन्। ६० वर्ष टेकेर उनी पनि सम्वत् फिरेपछि घर जाने भएका हुन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नेपाल स्वास्थ्य सेवा, एनेस्थेसियोलोजी समूह अधिकृत एघारौं प्रमुख कन्सलटेण्ट एनेस्थेसियोलोजिष्ट डा. माया लामा २०८३ असार ६ गते अनिवार्य अवकाशमा जानेछिन्। उनी पनि सम्वत् फिरेपछि ६० वर्ष लागेर घर जान लागेकी हुन्।

बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाका निर्देशक डा. अर्जुनप्रसाद सापकोटा २०८३ असार १५ गते अनिवार्य अवकाशमा जानेछन्। नेपाल स्वास्थ्य सेवाका एघारौं तह (सहसचिव)सरहको पदमा कार्यरत सापकोटा ६० पुगेर घर जान लागेका हुन्। सापकोटासहित स्वास्थ्यका सबै उच्च अधिकारीहरू २०८३ साल लागेपछि मात्र अवकाशमा जानेछन्।

स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक (अधिकृत दशौं) ज्ञानबहादुर बस्नेत २०८३ बैशाख १२ गते घर जाने सूचीमा छन्। नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूहका दशौं तहका अधिकृत बस्नेत ६० वर्ष लागेर घर जान लागेका हुन्। बागमती प्रदेशमा कार्यरत हेल्थ इन्सपेक्सन समूहका दशौं तहका अधिकृत महेन्द्रध्वज अधिकारी २०८२ पुस २१ गते घर जाने सूचीमा छन्। उनी पनि ६० वर्ष लागेर घर जान लागेका हुन्।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानबहादुर बस्नेत, #डा. अर्जुनप्रसाद सापकोटा, #डा. केशरबहादुर ढकाल, #डा. मनिलाल नेवार, #डा. माया लामा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ