न्याय सेवाका ३ विशिष्ट एक हप्ताबीचमा अवकाश

काठमाडौं। आर्थिक वर्ष २०८३/८३ को पहिलो महिनाको पहिलो हप्ता नै न्याय सेवाका दुई विशिष्टले अनिवार्य अवकाश पाएका छन्। सरकारी वकिल, कानुन र न्याय मिलाएर साउनमै ३ विशिष्ट सरकारी सेवाबाट बिदा लिने भएका हुन्। नेपाल न्याय सेवा, सरकारी वकिल समूहका विशिष्ट डा. टेकबहादुर घिमिरे, कानुन समूहका विशिष्ट आलोकचन्द्र श्रेष्ठ, न्याय समूहका विशष्ट देवेन्द्रराज ढकाल उक्त सूचीमा रहेका छन्।
महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (विशिष्ट श्रेणी सचिव सरह) डा. टेकबहादुर घिमिरेले सरकारी सेवाबाट बिदा लिइसकेका छन्। साउन ४ गते बेलुका ५ वर्ष पुगेर घर जानुपर्ने घिमिरे २ गतेदेखि लागू हुनेगरी राजीनामा दिएर बाटो तताइसकेका छन्। घिमिरेको विज्ञतालाई व्यवस्थापन गर्ने गरी सरकारले तयारी थालेको छ।
साउन ७ गते बुधबार (आज) बेलुकाबाट न्याय सेवा, कानुन समूहका सचिव आलोकचन्द्र श्रेष्ठ ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाँदैछन्। नेपाल कानुन आयोगका सचिव श्रेष्ठ छोटो समय सचिव चलाएर अनिवार्य अवकाशमा जाँदैछन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र नेपाल कानुन आयोगको सचिवको भूमिकामा काम गरेर उनी घर जान लागेका हुन्।
नेपाल न्याय सेवा, न्याय समूहका विशिष्ट (मुख्य रजिष्ट्रार) देवेन्द्रराज ढकाल ४ दिनपछि अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष लागेर मुख्य रजिष्ट्रार ढकाल ११ गते बेलुकाबाट घर जान लागेका हुन्। मुख्य रजिष्टार ढकाल अवकाशमा जाने समय नजिकिएसँगै सर्वोच्च अदालतका रजिष्ट्रारद्वय विमल पौडेल र भद्रकाली पोखरेलबीच तीव्र प्रतिस्पर्धा देखिन्छ। तर, मुख्य रजिष्ट्रारमा पौडेलको पल्ला भारी छ।
सरकारी वकिल समूहबाट राजन भट्टराई मुख्य रजिष्ट्रार बनिसकेका छन्। कानुन समूहबाट उदयराज सापकोटालाई सम्भावित मुख्य रजिष्ट्रारमा हेरिएको थियो। उनी अवकाशमा गोइसकेका छन्। अब न्याय समूहतिरै मुख्य रजिष्ट्रार हुने पात्र खोजी सुरू भएको हो। त्यसमा प्रबल दाबेदार विमल पौडेल नै रहेको सर्वोच्चभित्र चर्चा छ।
क्याटेगोरी : समाचारट्याग : #आलोकचन्द्र श्रेष्ठ, #डा. टेकबहादुर घिमिरे, #देबेन्द्रराज ढकाल, #भद्रकाली पोखरेल, #विमल पौडेल
तपाईको प्रतिक्रिया दिनुहोस