निर्मलाको ‘पेन्सन’ हुने भयो, इन्दिराको सचिव हुने पालो आयो

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव उदयराज सापकोटाले अनिवार्य अवकाश पाएपछि वरिष्ठतम सहसचिव निर्मला अधिकारी भट्टराई सचिवमा बढुवा हुनुपर्ने हो। जेठ २८ गतेदेखि नै सचिव पद खाली भए पनि निर्मलालाई सत्य निरूपण तथा मेलमिलाप आयोग (रिआरसी)को कायममुकायम (कामु) सचिवको जिम्मेवारी दिएर पठाइयो। कारण थियो उनको ‘पेन्सन नपाक्नु’।
२०६७ साल साउनमा महिला कोटाबाट कानुन समूहको शाखा अधिकृत भएकी निर्मला असारमा सचिव बन्दा ५ वर्ष चलाउँदा पनि ‘पेन्सन’ नहुने अवस्था रहेको थियो। त्यसैले रिक्त सचिव पदमा पनि उनलाई कामु बनाएर पदस्थापन गराइयो। निलम्बनमा परेको वा पद खाली नभएको अवस्थामा मात्र कामु दिने गरिन्छ। तर, निर्मलाको पेन्सन नहुने भएपछि रिक्त सचिव पदमै कामु दिएर पठाइएको थियो। टिआरसीका सचिव पाराश्वर ढुंगानाको कानुन मन्त्रालयमा सरूवा भएपछि मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव निर्मलालाई टिआरसीको कामु सचिवको जिम्मेवारी तोकिएको हो।
नेपाल कानुन आयोगका सचिव आलोकचन्द्र श्रेष्ठले पनि ५८ वर्ष लागेर अनिवार्य अवकाश पाएका छन्। आलोकको ठाउँमा निर्मलापछिकी वरिष्ठतम सहसचिव इन्दिरा दाहाल भट्टराई सचिव बन्ने प्रतिस्पर्धामा छिन्।
निर्मला २०७३ जेठ ७ गते महिला कोटाबाट नेपाल न्याय सेवा, कानुन समूहको सहसचिव बनेकी हुन्। इन्दिरा २०७३ असार ३ गते उपसचिवबाट बढुवा भएर सहसचिव भएकी हुन्। एक महिनाको फरकमा सहसचिव बनेका निर्मला र इन्दिरा सचिव हुने समय भने सँगै पर्ने भएको छ। किनकि निर्मला एक महिना कामुमै अल्मलिन्। निर्मला सचिव भए पूरै पाँच वर्ष चलाउन पाउँछिन् भने इन्दिरा ५८ वर्षे उमेर हदका कारण २ वर्ष मात्र सचिव चलाउनेमा पर्छिन्। संघीय निजामती सेवा ऐन जारी भयो भने इन्दिराको हकमा पनि थप २ वर्ष सचिवको जागिर लम्बिने अवस्था आउँछ।
निर्मला वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक एवं विद्युत नियमन आयोगका सदस्य डा. मधुसुदन अधिकारीकी श्रीमती हुन् भने इन्दिरा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईकी श्रीमती हुन्। दुबै सहसचिवको राजनीतिक पृष्ठभूमि पनि एउटै रहेको पाइन्छ।
क्याटेगोरी : समाचारट्याग : #इन्दिरा दाहाल, #निर्मला अधिकारी भट्टराई
तपाईको प्रतिक्रिया दिनुहोस