वार्षिक डेढ सय कामदार पनि नजाने स्पेनमा जनसम्पर्क सहायक राखेर कोषको दोहन

काठमाडौं। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको रेकर्ड हेर्ने हो भने स्पेनमा १३० जना कामदार श्रम स्वीकृति लिएर गएका छन्। तर, स्पेनमा वैदेशिक रोजगार बोर्डले जनसम्पर्क सहायक राखेर वैदेशिक रोजगार कल्याणकारी कोषको दुरूपयोग गरेको पाइएको छ। परराष्ट्र मन्त्रालयबाट स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार स्पेनको म्याड्रिडस्थित नेपाली आवासीय राजदूतावासमा देवीबहादुर राउतलाई जनसम्पर्क सहायकको रूपमा करारमा नियुक्त गरिएको छ। उनको तलबभत्ताका नाममा वैदेशिक रोजगार कल्याणकारी कोषको १० औं लाख रकम खर्च भएको देखिन्छ।
एक त वैदेशिक रोजगार कल्याणकारी कोषको रकम कर्मचारीलाई तलबभत्ता र सुविधामा प्रयोग गर्न मिल्दैन। अर्कोतर्फ एकदमै न्यून कामदार जाने स्पेनमा समेत वैदेशिक रोजगार बोर्डले कोषको पैसा अपचलन गरेर आसेपासेलाई जनसम्पर्क सहायकमा जागिर खुवाएको खुलेको हो।
वैदेशिक रोजगारमा ऐन, २०६४ को दफा ३३ मा वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने, अलपत्र परेका कामदारलाई स्वदेश फिर्ता गराउने, क्षतिपूर्ति दिने, कामदारको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने, वैदेशिक रोजगारको क्रममा मृत्यु भएका कामदारको शव नेपाल ल्याउनेलगायत वैदेशिक रोजगारमा गएका कामदारको हकहितका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरिने उल्लेख छ। तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय मिलेर नेपाली राजदूतावास र महावाणिज्यदूतावासमा करारका कर्मचारी भर्ति गरी वैदेशिक रोजगार बोर्डबाट निर्णय गराएर कल्याणकारी कोषको झन्डै २ करोड ६० रकम खर्च गरेका छन्।
स्थानीय कर्मचारी नियुक्त गर्ने नाममा नेपाली नागरिक देवीबहादुर राउतलाई स्पेनमा जनसम्पर्क सहायकको रूपमा भर्ति गरेर कल्याणकारी कोषको चरम दोहन गरेको पाइन्छ। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले जनसम्पर्क सहायकका नाममा विदेशस्थित नियोगमा डेढ दर्जन कर्मचारी भर्ति गरेर वैदेशिक रोजगार कल्याणकारी कोषको पैसा चरम दुरूपयोग र अनियमितता गरेका छन्।
महालेखापरीक्षकको कार्यालयको बासठ्ठिऔं वार्षिक प्रतिवेदनले पनि उक्त विषयमा बेरूजु औंल्याएको छ। महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरूजुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णले चुनौती दिँदै आएका छन्।
स्पेनमा ठूलो संख्यामा नेपाली नरहेको र दूतावासले दिने सेवामा पनि त्यस्तो चाप धेरै छैन। तर, स्पेनको म्याड्रिडस्थित नेपाली आवासीय राजदूतावास स्थानीय कर्मचारी मात्र ४ जना राखेको पाइन्छ। अनुप शिल्पकार, लक्ष्मण शर्मा, देवीबहादुर राउत र लोरेना रोड्रिगेन कुयबास उक्त नियोगमा स्थानीय कर्मचारीको रूपमा कार्यरत छन्। स्थानीय कर्मचारी भनिएका शिल्पकार, शर्मा र राउत नेपाली नागरिक हुन् भने कुयबास मात्र विदेशी (त्यहिँ देशको स्थानीय कर्मचारी) हुन्। राउतको हकमा वैदेशिक रोजगार बोर्डले कल्याणकारी कोष पैसा खर्च गरेको पाइन्छ। अन्य स्थानीय कर्मचारी (लोकल स्टाफ) कुन हैसियतका हुन भन्ने विषयमा स्वास्थ्य लाइभले राखेको जिज्ञासामा राजदूत सनिल नेपालले कुनै जवाफ दिएनन्।
राउतलाई शर्मिला पराजुली ढकालले नै वैदेशिक रोजगार बोर्डसँग सेटिङ गरेर जनसम्पर्क सहायकका भर्ति गरेकी थिइन्। शर्मिलाले ओमनमा राजदूत हुँदा पनि जनसम्पर्क सहायक भनेर आफन्तलाई करारमा भर्ति गरेको पाइन्छ। स्पेनमा पनि उनले त्यहिँ नजिर दोहोऱ्याएकी छिन्।
राउतबाहेक अन्य स्थानीय कर्मचारी कसको पालामा राखिएको हो र ति कर्मचारी कहाँबाट कति तलबभत्ता बुझ्छन् भन्ने जिज्ञासाको पनि राजदूत नेपालले जवाफ दिएनन्। अन्य राजदूतावासले स्थानीय कर्मचारीको विवरण लुकाएका छन्। स्पेनले भने वेबसाइटमै राखेको छ। पारदर्शिताका हिसाबले भने स्पेनमा रहेको नेपाली राजदूतावासमाथि प्रश्न उठाउने ठाउँ छैन। अन्य राजदूतावासले पनि स्पेनको जस्तै पारदर्शितामा ध्यान दिन आवश्यक छ। तर, जवाफदेहितामा भने राजदूत अन्य देशको भन्दा फरक देखिँदैनन्।
क्याटेगोरी : समाचार
ट्याग : #अनुप शिल्पकार, #देवीबहादुर राउत, #राजदूत सनिल नेपाल, #लक्ष्मण शर्मा, #लोरेना रोड्रिगेन कुयबास
तपाईको प्रतिक्रिया दिनुहोस