एउटा मात्र जिल्ला चलाएकालाई गृहको शान्ति सुरक्षा महाशाखा

समाचार टिप्पणी
काठमाडौं। गृह मन्त्रालयमा पछिल्लो समय एकपछि अर्को गर्दै ‘ट्रेन्ड’ भत्किदै गएको छ। प्रशासन र शान्ति सुरक्षा ( प्रशासन र सुरक्षा तथा समन्वय) महाशाखा प्रमुख भइसकेका सहसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर जान थालेका छन्। एउटा मात्रै जिल्ला चलाएका र जुनियर सहसचिव महत्त्वपूर्ण महाशाखा प्रमुखको जिम्मेवारीमा पुग्न थालेका छन्।
गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा जुनियर सहसचिव आनन्द काफ्ले पुगेका छन्। सिडिओहरूलाई समन्वय गर्ने र निर्देशन दिने उक्त महत्त्वपूर्ण महाशाखामा जुनियर सहसचिव राख्नुले ‘चेन अफ कमाण्ड’ बिग्रने सुरक्षा विज्ञहरू बताउँछन्। गृहका पूर्व सचिवहरू पनि सिडिओहरू भन्दा जुनियर सहसचिवलाई उक्त महाशाखामा राख्दा समन्वयमा समस्या आउने टिप्पणी गर्छन्।
गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख काफ्लेभन्दा काठमाडौं उपत्यकाका सिडिओहरू सिनियर हुन्। काठमाडौंका सिडिओ ऋषिराम तिवारी त्यहिँ महाशाखाका बसेर गएका हुन्। उनीपनि काफ्लेभन्दा सिनियर सहसचिव हुन्। तिवारीलाई नै समन्वय गर्न काफ्लेलाई सहज हुने छैन। त्यस्ता सिनियर सहसचिव अहिले धेरै जिल्लामा सिडिओ भएर गएका छन्।
त्यसो त काफ्ले राजस्वको क्याडर हुन्। उपसचिवमा उनी अर्थतिरै रमाएका थिए। सहसचिव भएपछि काफ्ले गृह प्रवेश गरेका हुन्।उनीसँग पाल्पाको सिडिओ भएको र केही समय गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख भएबाहेक गृहको खासै अनुभव छैन। काफ्लले सिडिओलाई राम्रोसँग समन्वय गरे भने सीमा-नाकामा हुने राजस्व चुहावटमा भने योगदान दिन सक्छन्। तर, सिनियर सहसचिव भन्सार रहेका जिल्लामा सिडिओ भएर गएकाले काफ्ले कुरा सुनुवाई हुने अवस्था देखिँदैन। धन्न उनले टोकराज पाण्डेले जस्तो गृह छिर्नेबित्तिकै मन्त्रालयको महाशाखा लिएनन्। कमसेकम ‘एउटा जिल्लाको सिडिओ भएको हुँ’, भन्ने ठाउँ चाहिँ राखेका छन्।
पहिला-पहिला ३/४ जिल्लाको सिडिओ चलाएपछि मात्र सहसचिवहरू गृह मन्त्रालय ल्याउने चलन थियो। सिडिओ भएर सबै बुझेर, खारिएर, पोख्त भएर आएका सहसचिवले समन्वय गर्दा सिडिओहरू पनि लत्रिन्थे। अनुभवी सहसचिवले सिडिओसँग समन्वय गर्दा जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न महत्त्वपूर्ण योगदान पुग्ने गरेको थियो। अहिले उल्टै सिडिओले अनुभव नभएका महाशाखा प्रमुखलाई आफू अनुकूल घुमाउँदा जिल्लाको शान्ति सुरक्षाको अवस्था पनि सन्तोषजनक पाइँदैन। जेलमै मान्छे (कैदीबन्दी) मर्न थालेका छन्। दिउँसो सिडिओले समस्या आउँदैन भनेको ठाउँमा राति झडप हुन्छ। कैदीबन्दीको ज्यान समेत जान्छ। जेल नै असुरक्षित बन्न थालेका छन्। अनि सुरक्षा र समन्वय महाशाखाको कुनै औचित्य देखिन्छ त?
काफ्लेभन्दा पहिला उक्त महाशाखा प्रमुख रहेका रामचन्द्र तिवारी सुनसरीको सिडिओबाट सीधै त्यो महाशाखाको कमाण्ड सम्हाल्न आइपुगेका थिए। उनी सहसचिव भएपछि सिडिओ भएकै सुनसरी पहिलो जिल्ला हो। करिब ७ महिना सुनसरी बसेपछि उनी गृह छिरेका हुन्। स्थानीय विकासका क्याडर तिवारीलाई पनि सुरूमै गृह छिराएर पहिलो महाशाखा नै शान्ति सुरक्षामा पठाइएको थियो। काफ्ले त बरू योजनामा बसेर योजना बुनेर मात्र उक्त महाशाखामा पुगेका हुन्। अध्यागमन विभागको महानिर्देशक बनाउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइराला सिनियर हुन्छन् भनेर उनलाई त्यहाँबाट हटाएर तिवारीलाई डिजीमा खटाइएको हो। अध्यागमनमा सिनियर र जुनियर मिलाउनु पर्दा सिडिओ समन्वय गर्ने महाशाखामा जुनियर सहसचिव राख्न मिल्ला त गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीज्यू?
गृह मन्त्रालयमा केही सहसचिव जगेडामा भएपनि नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा खाली राखिएको छ। उक्त महाशाखा खाली हुँदा गृह मन्त्रालयको नीति एकातिर, योजना अर्कातिर, अनुगमन ‘खोल्सो’तिर मूल्याङ्कन उल्टोतिर परेको टिप्पणी हुन थालेको छ।
गृहका केही सहसचिव सीधै महत्त्वपूर्ण जिल्लाको सिडिओ पड्काउन सफल भएका छन्। तीमध्ये सबैभन्दा शक्तिशाली डा. टोकराज पाण्डे देखिएका हुन्। जागिर जीवनको महत्त्वपूर्ण र सिक्ने क्षण शाखा अधिकृत र उपसचिवमा यातायातमा बिताएका पाण्डे सहसचिवको हैसियतमा गृह छिर्नेबित्तिकै मन्त्रालयको महाशाखा प्रमुख भए। नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा हुँदै विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भएको छोटो समयमै उनी रुपन्देहीको सिडिओ भएर गए। रुपन्देही मुख्य भन्सार भएको जिल्ला भएकाले आर्थिक गतिविधिका हिसाबले सिडिओका लागि एक नम्बर जिल्ला भएको ‘ओपन सेक्रेट’ जस्तै छ। त्यहिँ जिल्लामा पहिलो सिडिओको अनुभव लिन पाण्डे पुगेका छन्।
समग्रमा मूल्याङ्कन गर्दा गृह मन्त्रालय बेथितिको भुमरीमा गुज्रिरहेको छ। जिम्मेवारी र कार्यक्रम ठिक ढंगले चलिरहेको पाइँदैन।
क्याटेगोरी : समाचार
ट्याग : #आनन्द काफ्ले सहसचिव, #ऋषिराम तिवारी सिडिओ, #डा. टोकराज पाण्डे, #रामचन्द्र तिवारी, #विष्णुप्रसाद कोइराला
तपाईको प्रतिक्रिया दिनुहोस