सहकारीका पूर्व रजिष्ट्रारहरूको गृहमा हालिमुहाली

काठमाडौं। सहकारी विभागका पूर्व रजिष्ट्रारहरू अहिले गृह मन्त्रालयमा हालिमुहाली गर्नेमा पर्छन्। सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएका सहकारी विभागका तत्कालीन रजिष्ट्रारहरू अहिले गृह मन्त्रालयमा शक्तिशाली बनाएर उदाएका छन्। गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीले उनीहरूलाई नै छानीछानी महत्त्वपूर्ण जिम्मेवारी दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय छिर्नेबित्तिकै सहसचिव नमराज घिमिरेलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाइएको छ। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधिविपरीत नमराज घिमिरेलाई भक्तपुरको बनाएको हो। गृहले बनाएको कार्यविधिमा एक वर्ष गृह मन्त्रालय अन्तर्गत काम गरिसकेको अधिकृतलाई मात्र ‘क’ वर्गको जिल्लामा सिडिओ बनाउने उल्लेख छ। त्यसविपरीत घिमिरेलाई गृह मन्त्रालय छिर्नेबित्तिकै ‘क’ वर्गको जिल्ला भक्तपुरको सिडिओ बनाएर पठाइएको हो।
यातायात व्यवस्था विभाग, सहकारी विभाग जस्ता चर्चित निकायमा बसेर आएका घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै हालै गृह मन्त्रालय छिरेका थिए। गृह छिर्नेबित्तिकै उनी ‘क’ वर्गको जिल्ला भक्तपुरको सिडिओ बन्न सफल भएका छन्। यसले गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीले कानुन र सुशासनको धज्जी उडाएको टिप्पणी हुन थालेको हो।
घिमिरे सहकारी विभागको रजिष्ट्रार हुँदा सहकारी ठगीका आरोपी जीवी राई देश छाडेर भागेका थिए। सहकारी विभागका तत्कालीन रजिष्ट्रार घिमिरेले आफ्नो एकल निर्णयले रोक्का राखेको पासपोर्ट र यात्रा अनुमति फुकुवा गर्न अध्यागमन विभागमा लेखी पठाएका थिए। सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले त्यो विषयमा उनीसँग बयान दिएका थिए। त्यसलगत्तै जीवी राई देश छाडेर फरार भएका थिए। उनै छिमिरेलाई गृहमन्त्री लेखक र सचिव दुवाडीले सीधै ‘क’ वर्गका राखिएको भक्तपुरको सिडिओ बनाएर पठाएका छन्।
गृह मन्त्रालयले रूपन्देहीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर पठाएका डा. टोकराज पाण्डे पनि सहकारी विभागका पूर्व रजिष्ट्रार हुन्। सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई पनि लामो बयान लिएको छ। उक्त बयान प्रतिवेदनमै समेटिएकाले जो कसैले पनि सजिलै हेरेर ‘दुधको दुध पानीको पानी’ छुट्याउन सक्छ। गृह मन्त्रालयले पाण्डेलाई पनि सुरू जिल्ला नै ‘क’ वर्गका पनि सबैभन्दा आकर्षक मानिने रूपन्देहीमा सिडिओ बनाएर पठाएको हो। पाण्डे गृह मन्त्रालय छिर्नेबित्तिकै मन्त्रालयमा पदस्थापन भएका थिए। गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा हुँदै सीधै रूपन्देहीको सिडिओ बन्न सफल भएका हुन्। पाण्डे ‘ख’ वा ‘ग’ वर्गको सिडिओ नभई ‘क’ वर्ग कै आर्थिक गतिविधिका हिसाबले १ नम्बर मानिने जिल्ला रुपन्देहीको सिडिओ बन्न सफल भएका छन्।
नक्कली लाइसेन्स प्रकरणको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले छानबिन गरिरहेकै बेला पाण्डे अर्थबाट गृह मन्त्रालय प्रवेश गरेका हुन्। त्यसपछि सिआईबी निस्क्रिय बन्यो। उक्त प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अहिले विस्तृत अनुसन्धान गरिरहेको छ। घिमिरे र पाण्डे दुबै यातायात व्यवस्था विभागका महानिर्देशक भइसकेका सहसचिव हुन्।
सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमै पुगेर बयान दिएका सहकारी विभागका तत्कालीन रजिष्ट्रार लिलाप्रसाद शर्मा पनि अहिले गृह मन्त्रालय अन्तर्गतको कारागार व्यवस्थापन विभागका महानिर्देशक हुन्। सिन्धुलीको सिडिओ चलाएर गृह फिर्ता भएका शर्मालाई देशभरको कारागार हेर्ने जिम्मेवारी दिइएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछाने बसेको नख्खु कारागार पनि उनकै मातहतमा पर्छ। शर्माको विषयमा पनि संसदीय छानबिन समितिले कैफियत जनाएको छ।
सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बुझाएको प्रतिवेदन र घिमिरे, पाण्डे र शर्माले दिएको बयान एकपटक गृहमन्त्री लेखक र सचिव दुवाडीले अध्यन गर्न जरूरी देखिन्छ। उनीहरूले गृह मन्त्रालय आफैले बनाएको सिडिओ सरूवा सम्बन्धी मापदण्ड कुल्चिए पनि संसदीय सर्वोच्चताकोको सम्मान गर्दै घिमिरे, पाण्डे र शर्माले बयान दिएको उक्त प्रतिवेदनको अध्यन गर्न आवश्यक देखिएको हो।
क्याटेगोरी : समाचारट्याग : #डा. टोकराज पाण्डे, #नमराज घिमिरे, #लिलाप्रसाद शर्मा, #सहकारी विभाग, #सहकारी विभाग रजिष्ट्रार, #सहकारी विभागका तत्कालीन रजिष्ट्रार नमराज घिमिरे
तपाईको प्रतिक्रिया दिनुहोस