टोखाका वडाध्यक्ष रानाले सरकारी जग्गा हडपेर भाडा खाए, अख्तियारलाई पनि टेरेनन्


काठमाडौं। टोखा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरोत्तम रानाले सरकारी (पर्ती) जनिएको ४ रोपनी बढी जग्गा हडपेर भाडा खाइरहेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छैटौं पटक ताकेता गर्दा पनि उनले हडपेर सरकारी जग्गा संरक्षण गर्न टोखा नगरपालिकाले अटेरी गरिरहेको पाइएको हो।

सरकारी पर्ती जग्गामा टहरा र सटर निर्माण गरी भाडामा लगाई भ्रष्टाचार गरेको विषयमा अख्तियारले टोखा नगरपालिकालाई छैटौंपटक कागजात उपलब्ध गराउन अनुरोध गरेको छ। तर, शक्तिशाली वडाध्यक्ष राना नै उक्त कार्यमा संलग्न रहेकाले नगरपालिकाले अख्तियारलाई समेत ‘चक्मा’ दिएको हो।

अख्तियार स्रोतबाट स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार साबिक धापासी वडा नम्बर ७ हालको टोखा नगरपालिका वडा नम्बर ७ बसुन्धरा चोकबाट भित्र पासी जाने बाटो दाहाल गौंडामुनी रहेको कित्ता नम्बर ६५ को ४ रोपनीभन्दा बढी जग्गामा वडाध्यक्ष रानाले ३/४ वटा टहरा खडा गरी सटर भाडामा लगाएका छन्। सरकारी जग्गामा बनाइएको उक्त टहरामा वडाध्यक्ष रानासहितले प्रति सटर २०/२२ हजार मासिक भाडा असुल्ने गरेको आरोप लागेको छ। तर, शक्तिशाली वडाध्यक्षका अगाडि टोखा नगरपालिका निरीह बनेको पाइन्छ। अख्तियारलाई समेत चुनौती दिँदै टोखा नगरपालिका मेयर प्रकाश अधिकारीको साथ लिएर वडाध्यक्ष रानाको सरकारी जग्गा अतिक्रमण गरेको तथ्य फेला परेको हो।

मेयर अधिकारी र वडाध्यक्ष राना दुबै जना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्। राना नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका विश्वासपात्र समेत हुन्। रानाले उनीहरू कै आडमा सरकारी जग्गा कब्जा गरेर मासिक लाखौं रुपैयाँ भाडा खाइरहेका छन्। यो विषयमा स्वास्थ्य लाइभले थप खोजबिन गर्नेछ।

क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका, #नरोत्तम राना वडाध्यक्ष, #मेयर प्रकाश अधिकारी, #सरकारी जग्गा अतिक्रमण

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ