नेपाललाई इम्बोस्डको एम्बुसमा पार्ने ‘मास्टर माइन्ड’


समाचार टिप्पणी

काठमाडौं। इम्बोस्ड नम्बर प्लेटले अहिले नेपाली समाज निकै तातेको छ। इम्बोस्ड नम्बर प्लेटमा यातायात क्षेत्रका ‘कमिसनखोर’ले नेपाली जनतालाई बेलाबेलामा दुःख दिइरहेका हुन्छन्। त्यसपछि नेपाली नागरिक प्रतिवादमा उत्रिन्छन्। लगत्तै ‘कमिसनखोर’हरू एक कदम पछाडि हट्छन् र भन्छन्, ‘अनिवार्य गरेको होइन अनुकूलतामा गरे हुन्छ।’, नेपाली बजारमा इम्बोस्डको यो एम्बुस चक्र निरन्तर चलिरहेको छ।

नेपालमा डिजिटल नम्बर प्लेट जडान प्रक्रिया यातायात व्यवस्था ऐनमा भएको व्यवस्थाबमोजिम २०७२ सालमा अघि बढाइएको हो। अहिले इम्बोस्ड नम्बर प्लेटका नामले चर्चित छ। इम्बोस्ड नम्बर प्लेटलाई कतिपयले एम्बुसको संज्ञा दिने गरेका छन्। नेपालमा इम्बोस्ड नम्बर प्लेट भित्र्याउने योजनाकार विकल पौडेल हुन्। विभिन्न भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर कैद जीवन बिताइरहेका आईटी ठेक्कामा ‘मास्टर माइन्ड’ विकलले सिद्धार्थ पाण्डेसँग मिलेर नेपाली जनतालाई इम्बोस्डको एम्बुस थापेका हुन्।

पाण्डेसँग मिलेर विकलले मेसिन रिडएबल पासपोर्ट (एमआरपी)को ठेक्का फ्रान्सेली कम्पनी ओबर्थरलाई दिलाउन सफल भएका थिए। एमआरपीमा सफलता हासिल गरिसकेपछि सिद्धार्थ- विकलको जोडी इम्बोस्डको प्रोजेक्टमा लाग्यो।एमआरपीको ठेक्का हत्याउने फ्रान्सेली कम्पनी ओबर्थर (हाल आईडिमिया)का स्थानीय प्रतिनिधि (लोकल एजेन्ट) सिद्धार्थ पाण्डे बंगलादेशी कम्पनी डेकाटुर इन्डस्ट्रिज इन्कर्पोरेटका समेत लोकल एजेन्ट हुन्। एमआरपीमा लक्ष्य भेदन गरिसकेपछि विकल र सिद्धार्थ इम्बोस्डतिर लागेका थिए। अहिले ई-पासपोर्टको ठेक्का पाण्डेको ‘ग्रिप’बाट बाहिर जाने भएपछि यातायातका हाकिमहरूसँग मिलेर पाण्डेले नेपाली जनतालाई इन्बोस्डको एम्बुस थापेका हुन्। नेपाली भाषा र लिपीलाई समेत मास्ने गरी उनी निकै सक्रिय भएर नेपाली जनतालाई ढाड सेक्न लागिरपरेका छन्।

अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको छोरीका नन्देज्वाईं समेत रहेका पाण्डेको एमआरपीको ठेक्का हत्याएपछि विकलसँग इम्बोस्डको एम्बुस थापेका थिए। एमआरपीमा लोकबहादुर थापा (हाल संयुक्त राष्ट्र संघ, न्युयोर्कका स्थायी प्रतिनिधि, राजदूत)सँग मिलेर भेरिएसन गरेर दह्रो लाभ लिएका सिद्धार्थ र विकलले इम्बोस्डको ठेक्का हत्याउन चन्द्रमान श्रेष्ठलाई यातायात व्यवस्था विभागको महानिर्देशक बनाएर लगेका थिए। उनीहरूले सचिव पनि गजेन्द्र ठाकुरलाई लगेर इम्बोस्डमा सेटिङ हानेका थिए। इम्बोस्डको सेटिङमा विकल-सिद्धार्थ गिरोहलाई साथ दिने गोगनबहादुर हमाल, अनोज घिमिरे, राजकुमार महर्जनहरू अहिले पनि खोजीखोजी जिम्मेवारी पाउनेमा पर्छन्। हमाल कमाण्ड सम्हाल्न नसकेपछि कैलालीको सिडिओबाट तानिएका छन्। घिमिरे सोलुखुम्बुको सिडिओबाट हालै सरूवा भएका हुन्। महर्जन सञ्चार मन्त्रालयमा साईबर सुरक्षा गरेर बसिरहेका छन्।

सिद्धार्थलाई इम्बोस्डको ठेक्का दिलाएर नेपाली जनतालाई ‘एम्बुसमा पारेबापत’ लोकमानसँग निकट भएका विकलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र सोलार प्यानल जडान गर्दा राम्रै व्यवस्था गरेको चर्चा सेलाएको छैन। इम्बोस्डको मूल्यांकन समितिमा बसेकाहरू पनि लाभबाट बन्चित हुनुपरेको देखिँदैन।

महालेखापरीक्षकको कार्यालयले एमआरपीको भेरिएसनमा गडबडी भएको औंल्याए पनि लोकबहादुरले चाहेको ठाउँमा राजदूत पाएकै छन्। थापा एमआरपीको भेरिएसनपछि बेल्जियमको राजदूत भएर जान सफल भए। केही दिन अघि मात्र धुम्बाराहीको स्मार्ट मलमा बैरागीसँग चोचोमोचो मिलाइरहेका थिए। यातायात व्यवस्था विभागमा रहेर उनलाई सहयोग गरेर सेवाग्राहीलाई इम्बोस्डको एम्बुस थाप्नेहरू पनि राम्रै ठाउँमा बसैकै छन्। जनताले सास्ती पाउँदा उनीहरूले मस्ती मारिरहेकै छन्।

क्याटेगोरी : समाचार
ट्याग : #इम्बोस्ड नम्बर प्लेट, #एमआरपी, #राजकुमार महर्जन, #राजदूत लोकबहादुर थापा, #विकल पौडेल, #सिद्धार्थ पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ