बेथितिको भुमरीमा परराष्ट्र: खरिदारबाट छिरेका बढुवाबाटै बने उपसचिव


काठमाडौं। लहडको भरमा अनावश्यक र अत्यधिक दरबन्दी थप्दा परराष्ट्र सेवा बेथितिको भुमरीमा फसेको छ। परराष्ट्र सेवामा खरिदारबाट सेवा प्रवेश गरेकाहरू लोकतान्त्रिक बढुवाबाटै बढुवा उपसचिव बनेका छन्। नायब सुब्बाबाट सेवा प्रवेश गरेर बढुवाद्वारा नै परराष्ट्रको सहसचिव बनेको तथ्य स्वास्थ्य लाइभले यसअघि नै खुलासा गरिसकेको छ। खरिदारबाट छिरेर परराष्ट्र उपसचिव बनेको तथ्य पनि स्वास्थ्य लाइभले फेला पारेको हो।

अन्य सेवाभन्दा विभिन्न र आफूहरूलाई विशिष्ट देखाउने परराष्ट्र सेवामा खरिदारबाट छिरेकाहरू बढुवाबाटै उपसचिव बनेको पाइएको छ। यसले परराष्ट्र सेवाको महत्त्व, प्रभावकारिता र औचित्यमाथि नै प्रश्न खडा भएको हो। परराष्ट्र सेवा खिचडी बनाउन परराष्ट्र कै कर्मचारीहरूको भूमिका देखिन्छ। सामान्य प्रशासन समूहतिर शाखा अधिकृत भएको १४ वर्षपछि मात्र उपसचिव हुँदा विशिष्ट ठानिने परराष्ट्र सेवामा ९ वर्षमै शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुन सफल भएका छन्।

खरिदारबाट परराष्ट्र सेवामा प्रवेश गरेर उपसचिवमा बढुवा हुनेमा जीतबहादुर कार्की र खिमानन्द भुसाल रहेका छन्। कार्की र भुसालै यसैपटक कार्यक्षमताका आधारमा परराष्ट्र सेवाको उपसचिवमा बढुवा भएका हुन्।

त्यस्तै सुब्बामा नाम निकालेर शाखा अधिकृत हुँदै उपसचिवमा गरी दुई तह बढुवा हुनेमा चक्रबहादुर सुवेदी, बाबुराम सिग्द्याल, ओमकुमार भण्डारी, निर्मलप्रसाद भट्टराईलगायत रहेका छन्। अझे खोज्दै जाने हो भने यो संख्या ठूलो पुग्न सक्छ। स्वास्थ्य लाइभको जानकारीमा आए उनीहरूको नाम पनि समेटिने छ।

परराष्ट्रमा नासुबाट सेवा प्रवेश गरेर लोकतान्त्रिक बढुवाबाटै सहसचिव हुनेमा पारस पण्डित र प्रकाश अधिकारी पर्छन्। उनीहरू नासुको परीक्षा पास गरेर बढुवाबाटै राजदूत हुने योग्यता पुऱ्याउन सफल भएका छन्। खरिदारबाट छिरेका कार्की, भुसाल तथा नासुबाट छिरेका सुवेदी , सिग्द्याल, भण्डारी, भट्टराईहरू पनि पण्डित र अधिकारी कै लाइनमा देखिन्छन्।

२०४५ साल असोजमा तत्कालीन नेपाल प्रशासन सेवा कुटनैतिक समूहको खरिदारबाट छिरेका जीतबहादुर कार्की २०६३ कार्तिकमा कुटनैतिक सेवा कै नायब सुब्बामा बढुवा भए।२०६४ मंसिरमा परराष्ट्र सेवामा सेवा परिवर्तन भएपछि उनी २०७३ बैशाखमा परराष्ट्र सेवाको शाखा अधिकृतमा बढुवा भए। कार्की हालै परराष्ट्र सेवाको उपसचिवमा बढुवा भएका हुन्। ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुने व्यवस्था कायम रहे गुल्मेली कार्की २०८२ असोज १८ अर्थात् एक महिनापछि सेवानिवृत्त हुनेछन्। २०२४ असोज १८ गते जन्मिएका कार्की उपसचिव भएर घर जान लागेका हुन्।

जीतबहादुर कार्की

खरिदारबाट छिरेर ३७ वर्ष परराष्ट्रमा सेवा गरेका कार्की परराष्ट्रमा दरबन्दीको ‘बाढी’ आएपछि लोकतान्त्रिक बढुवा मार्फत नै उपसचिव भएर घर जाने अवस्थामा पुगेका हुन्। खरिदारमा बेल्जियम बसेका उनले नासु भएपछि मस्को र वासिङ्टन डिसीतिर मस्ती मारे। शाखा अधिकृतमा बढुवा भएपछि साउदी अरब र जापानमा जमेका कार्की उपसचिव भएपछि भने परराष्ट्रमै थन्किएका छन्। कानुनमा प्रविणता प्रमाणपत्र तह (आईएल) सम्म मात्र अध्ययन गरेका गुल्मी घमिरेका कार्की उपसचिवबाटै घर जाने तयारीमा जुटेका हुन्।

२०२४ असोज १ गते गुल्मी बाझकटेरीका जन्मिएका खिमानन्द भुसाल पनि कार्की जस्तै खरिदारबाट सेवा प्रवेश गरेर बुढवाबाट नै परराष्ट्र सेवाको उपसचिव बन्न सफल भएका हुन्। २०४५ असोजमै प्रशासन सेवा, कुटनैतिक समूहको खरिदारबाट सेवा प्रवेश गरेका भुसाल २०६४ साल माघमा विशेष बढुवा मार्फत परराष्ट्र सेवाको नायब सुब्बामा बढुवा भए। उनी २०७३ बैशाखमा परराष्ट्र सेवाको शाखा अधिकृतमा बढुवा भएका थिए। केही महिना अघि मात्र परराष्ट्र सेवाको उपसचिवमा बढुवा भएका भुसाल भदौ मसान्तभित्रै ५८ वर्ष पुगेर अनिवार्य अवकाशमा जाँदैछन्। राष्ट्रिय सभाबाट मुख्यसचिव एकनारायण अर्यालको पदावधि एक वर्ष थप्दा भुसालको पनि थपिने जोखिम छ। त्यसका लागि स्वार्थ समूहको लबिइङ तीव्र देखिन्छ।

खिमानन्द भुसाल

प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका भुसाल खरिदार भएपछि बेल्जियम र ल्हासा, नासुमा बढुवा भएपछि मलेसिया बसेका थिए। शाखा अधिकृतमा बढुवा भएपछि रसिया र मलेसिया बसे। प्रदेश प्रमुखको कार्यालय रुपन्देही समेत बसेर काम गरेका भुसाल करिब ३५ वर्ष कुटनैतिक सेवामा बिताएर सेवानिवृत्त हुँदैछन्।

२०५५ साल चैतमा नेपाल प्रशासन सेवा कुटनैतिक समूहको नायब सुब्बा (नासु)बाट सेवा प्रवेश गरेका चक्रबहादुर सुवेदी २०६८ असारमा विशेष बढुवा मार्फत शाखा अधिकृत भएका हुन्। २०२५ पुस २५ गते झापाको खुदुनावारीमा जन्मिएका सुवेदी २०८० असारमा बढुवा भएरै परराष्ट्रको उपसचिव बने। व्यवस्थापनमा प्रविणता प्रमाणपत्र तह अध्ययन गरेका सुवेदीको अब डेढ वर्ष मात्र जागिर बाँकी छ।

चक्रबहादुर सुवेदी

२०८३ पुसको अन्तिम साता ५८ वर्ष पुग्ने उनी जापानका राजदूत दुर्गाबहादुर सुवेदीका सहोदर भाइ हुन्। उनको भाइ भएकै कारण चक्रले परराष्ट्रमा धेरै चक्र मारेका छन्।

नासुमा प्रवेश गर्नेबित्तिकै जर्मनी र मलेसिया बसेका सुवेदी विशेष बढुवा मार्फत शाखा अधिकृत भएपछि मलेसिया नै गए। उपसचिवमा बढुवा भएपछि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग हुँदै संयुक्त राज्य अमेरिकास्थित न्युयोर्कको महावाणिज्यदूत बन्न सफल भए। उनका भाइ कृष्णकुमार सुवेदी पनि खरिदारबाट २०५९ सालमा कुटनैतिक समूहमा सेवा प्रवेश गरेर २०६५ सालमा नासुमा बढुवा भएका थिए। कृष्ण पनि परराष्ट्र सेवाको शाखा अधिकृतबाट बढुवा भएर उपसचिव बनेका छन्।

कृष्णकुमार सुवेदी

२०५९ साल साउन गा.वि.स. सचिवबाट सरकारी सेवा प्रवेश गरेका बाबुराम सिग्द्याल त्यसको ७ वर्षपछि २०६६ मंसिरमा परराष्ट्र सेवाको नासु भए। २०७२ असारमा बढुवा भएर परराष्ट्र सेवाको शाखा अधिकृत बनेका सिग्द्याल अहिले बढुवा मार्फत नै परराष्ट्रको उपसचिव भएका हुन्। २०२८ साउन २० गते उदयपुरमा जन्मिएका सिग्द्यालले स्नातक तहसम्मको अध्ययन गरेका छन्। अझै ४ वर्ष ६० वर्षे लागू हुँदा ६ वर्ष जागिर अवधि रहेका सिग्द्याललाई परराष्ट्रमा आएको बाढीले राजदूत हुने योग्यता नपुऱ्याउला भन्न सकिन्न! नासु हुँदा नयाँ दिल्ली बसेका सिग्द्याल अधिकृत भएपछि दिल्ली र बेल्जियम पुगे। उपसचिव भएपछि पनि उनले राम्रै ठाउँ पाएका छन्।

बाबुराम सिग्द्याल

२०३४ साल असोजमा सिन्धुलीको आमबोटेमा जन्मिएका ओमकुमार भण्डारी नासुबाट परराष्ट्रमा छिरेका हुन्। २०५९ साल मंसिरमा हुलाकको खरिदारबाट सरकारी सेवा प्रवेश गरेका भण्डारी हुलाकको नासु हुँदै २०६७ पुसमा परराष्ट्र सेवाको नासु बन्न सफल भएका थिए। २०७२ असारमा बढुवा भएर परराष्ट्रको शाखा अधिकृत भएका भण्डारी अहिले पनि बढुवा मार्फत नै उपसचिव बनेका हुन्।

परराष्ट्रको यहिँ ताल हो भने १० वर्ष बढी जागिर बाँकी रहेका भण्डारी बढुवा भएर सहसचिव बन्ने देखिन्छ। परराष्ट्रको नासु हुँदा बहराइन बसेका भण्डारी शाखा अधिकृत भएपछि नयाँ दिल्ली, परराष्ट्र मन्त्रालय, राहादानी विभाग बसेका छन्। जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनद्वारा उपसचिवमा बढुवा भएका भण्डारीले १/२ वटा विदेश पोष्टिङ हान्ने सम्भावना देखिन्छ। भण्डारीले मानविकी तथा सामाजिक शास्त्रमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्।

ओमकुमार भण्डारी

कार्यक्षमताका आधारमा उपसचिवमा बढुवा भएका निर्मलप्रसाद भट्टराई प्रशासन सेवाको खरिदार, नायब सुब्बा हुँदै परराष्ट्र सेवाको नासु भएका थिए। २०५९ पुसमा मालपोत कार्यालय, चैनपुर संखुवासभाबाट खरिदारको जागिर सुरू गरेका भट्टराईले त्यसको दुई वर्षपछि सामान्य प्रशासन समूह कै नासुमा नाम निकालेका थिए। २०६७ पुसमा परराष्ट्र सेवाको नासु बनेर राहदानी विभागबाट छाप हान्न सुरू गरेका भट्टराई २०७३ बैशाखमा परराष्ट्र सेवाको शाखा अधिकृत बनेका थिए। हाल उनी उपसचिवमा बढुवा भएर परराष्ट्र मन्त्रालयमा हल्लिरहेका छन्। २०२८ साल असारमा जन्मिएका भट्टराई बढुवाबाटै परराष्ट्रको सहसचिव हुने सम्भावना भने क्षिण देखिन्छ।

निर्मलप्रसाद भट्टराई

खरिदारबाटै कुटनीति समूहमा छिरेका संखुवासभाली रूउस कार्की बढुवाबाटै उपसचिव हुने लाइनमा छन्। २०२९ पुस २५ गतेको जाडो मौसममा संखुवासभाको खाँदबारीमा जन्मिएका कार्की परराष्ट्र सेवाको उपसचिवको बढुवाको मुखमा छन्। २०५५ साल पुस २९ गते प्रशासन सेवा कुटनैतिक समूहको खरिदारमा भर्ना भएका कार्की बढुवाबाटै २०६५ जेठमा परराष्ट्रको नायब सुब्बा बनेका थिए। २०७६ असारमा बढुवाबाटै शाखा अधिकृत बनेका कार्की योपटक झन्डै उपसचिवमा बढुवा भएका थिए। अर्को पटक उनी उपसचिव हुने उच्च सम्भावना छ। उनी पनि खरिदारबाट बढुवा भएर उपसचिव हुनेमा ‘दर्ज’ हुन लागेका छन्।

आरजु राणा देउवा परराष्ट्रमन्त्री भएर परराष्ट्र मन्त्रालयको दरबन्दीमा ‘मेलम्चीको बाढी’ ल्याइदिएपछि जोसुकै पनि बढुवा भएर सजिलै शाखा अधिकृत, उपसचिव र सहसचिव बनेका छन्। स्वास्थ्य लाइभले अध्ययन गर्दा उक्त कुराको पुष्टि हुन्छ। परराष्ट्र सेवालाई सस्तो बेसा बनाउन आरजुको विशेष भूमिका छ। सस्तो बेसाले परराष्ट्र सेवालाई पखाला लाग्ने खतरा उत्तिकै देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #ओमकुमार भण्डारी, #कृष्णकुमार सुवेदी, #खरिदारबाट उपसचिव, #खिमानन्द भुसाल, #जीतबहादुर कार्की, #नासुबाट सहसचिव, #निर्मलप्रसाद भट्टराई, #परराष्ट्रका उपसचिवहरू चक्रबहादुर सुवेदी, #पारस पण्डित, #प्रकाश अधिकारी, #बाबुराम सिग्द्याल, #रुउस कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ