प्राविधिक सचिव बन्न चटौत, कर्माचार्य र सिंहबीच प्रतिस्पर्धा


काठमाडौं। सुरेश आचार्यको ठाउँमा प्राविधिक सचिव बन्न ऊर्जाका तीन सहसचिवबीच प्रतिस्पर्धा देखिएको छ। यहीँ १५ गतेबाट ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशका गएका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा हेर्ने सचिव आचार्यले ठाउँमा बढुवाका लागि तीन सहसचिवको प्रतिस्पर्धा देखिएको हो।
सहसचिव चिरञ्जीवी चटौत, जगदिश्वर कर्माचार्य र नवीनराज सिंह सचिव बढुवाको प्रतिस्पर्धा छन्। चटौत र सिंह हाइड्रोपावर उपसमूहका हुन् भने कर्माचार्य मेटेरियोलोजी समूहका सहसचिव हुन्। इन्जिनियरिङ सेवाका यी दुबै समूह/उपसमूहको सेवा सञ्चालन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय नै गर्छ।
चटौत र सिंह विद्युत विकास विभागका महानिर्देशक समेत भइसकेका सहसचिव हुन्। कर्माचार्यले पनि जल तथा मौसम विज्ञानका महानिर्देशक भइसकेका छन्। चटौत र सिंह ऊर्जा मन्त्रालयमा कार्यरत छन्। कर्माचार्य जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव हुन्।
२०७० फागुन ३० गते सहसचिव भएका चटौतको जागिर २०८३ असार १५ गतेसम्म छ। उनी ५८ वर्ष उमेर हदका कारण चालू आर्थिक वर्षमै अनिवार्य अवकाशमा जाने सूचीमा छन्। १० महिना मात्र सचिव चलाउन पाउने भएको र वरिष्ठ सहसचिव पनि भएकाले चटौत नै इन्जिनियरिङ क्लष्टरको विशिष्ट श्रेणी सहसचिवमा बढुवा हुने उच्च सम्भावना छ।
चटौतसँगै एकैदिन सहसचिव भएका कर्माचार्य यसअघिको सचिव बढुवाको सिफारिसमा उनीभन्दा पछि परेका थिए। एक नम्बरमा दिनानाथ मिश्र, दुई नम्बरमा चिरञ्जीवी चटौत र तीन नम्बरमा नवीनराज सिंह सिफारिस भएका थिए। मिश्र सचिवमा बढुवा भएपछि पहिलो नम्बरमा चटौत उम्लिएका छन्। दोस्रो नम्बरमा सिफारिस हुने कर्माचार्यको जागिर २०८६ असोज १५ गतेसम्म छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बिडारी ५८ वर्ष पुगेर चैत ८ गते अनिवार्य अवकाश पाएपछि उक्त ठाउँमा कर्माचार्य सचिवमा बढुवा हुनेछन्। उनी पुरै अवधि सचिव चलाउनेमा पर्छन्।
चटौत र कर्माचार्यभन्दा एक हप्ता पछाडि सचिव भएका नवीनराज सिंहको जागिर २०८४ साउनसम्म छ। सिंह नेपाल ट्रष्टको कार्यालयका सचिव रामआधार साहले ५८ वर्ष लागेर चैत मसान्तमा अनिवार्य पाएपछि सचिव बढुवा हुनेछन्। उनको ६० वर्षसम्म जागिर कायम रहने देखिन्छ। खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य पनि चालू आर्थिक वर्ष २०८३ असार १६ गते अवकाश हुने सूचीमा छिन्।

क्याटेगोरी : समाचार
ट्याग : #केशवकुमार शर्मा बिडारी, #चिरञ्जीवी चटौत, #जगदिश्वर कर्माचार्य, #दिनानाथ मिश्र, #नवीनराज सिंह, #प्रमिलादेवी शाक्य बज्राचार्य, #रामआधार साह

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ