दोहोरो नियुक्ति खाएकै कारण पशुपतिका बरालले पद गुमाए, ढुंगाना दोहोरो जिम्मेवारीमै रमाए

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सञ्चालक सदस्य देवीप्रसाद बरालले दोहोर नियुक्ति खाएकै कारण पद गुमाएका थिए। सर्वोच्च अदालतले एकै समयमा दुई फरक-फरक प्रकृतिका सार्वजनिक संस्थामा नियुक्ति खाएको भन्दै बराललाई दुबै संस्थाबाट पदमुक्त गर्ने फैसला गरेको थियो।
एकै समयमा सरकारी स्वामित्वको उदयपुर सिमेन्ट कारखाना लिमिटेड र पशुपति क्षेत्र विकास कोषमा बोर्ड सदस्य भएको तथ्य फेला परेपछि देवीलाई सर्वोच्च अदालतले दुबै संस्थाबाट एकसाथ पदमुक्त गर्ने फैसला गरेको थियो। सर्वोच्च अदालतको फैसलासँगै बराल पदच्यूत भएर ‘हाता लाग्यो शून्य’को अवस्थामा पुगे।
देवीको नजिर दोहोऱ्याउँदै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले पनि दोहोर नियुक्ति खाएको फेला परेको छ। एकै समयमा ठुंगाल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्ष बनेर काम गरिरहेको पाइएको हो। सुरक्षण मुद्रण केन्द्र र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वेबसाइटबाटै ढुंगाना दोहोरो जिम्मेवारीमा रहेको प्रस्ट देखिन्छ।
पशुपति क्षेत्र विकास कोष र उदयपुर सिमेन्ट कारखानाबाट एक साथ बिदाई भएका देवीप्रसादको नजिर देवराजको हकमा ठ्याक्कै लागू हुन्छ। उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भए देवी कै नजिरका आधारमा दुबै संस्थाबाट एकसाथ पदमुक्त हुने देखिन्छ।
देवी कै हालतमा देवराज पुग्ने अवस्था आउँछ। दोहोरो लाभले देवराजलाई देवी कै जस्तो विलाप गर्नु पर्ने खतरा उच्च छ। सार्वजनिक संस्था शुद्धीकरण र सुदृढीकरणका लागि पनि यस्ता दोहोरा जिम्मेवारी लिएर चलखेल गर्ने प्रवृत्तिविरुद्ध न्यायिक ‘एक्सन’ हुन जरूरी छ। कुनै व्यक्तिले सार्वजनिक सरोकारको रिट दायर गरेर देवराजको दोहोरो राज अन्त्य गर्न सक्छ। उनी आफै हटे भने एउटा पद जोगिने देखिन्छ। उक्त विवाद अदालतमा प्रवेश गरे देवराजको दोहोरो जिम्मेवारी एकसाथ खारेज हुने प्रस्ट छ।
क्याटेगोरी : समाचारट्याग : ## पशुपति क्षेत्र विकास कोष, #उदयपुर सिमिन्ट कारखाना लिमिटेड, #देवराज ढुंगाना, #देवीप्रसाद बराल, #नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, #सुरक्षण मुद्रण केन्द्र
तपाईको प्रतिक्रिया दिनुहोस