दोहोरो नियुक्ति खाएका देवराजले जागिर जोगाए, पनुर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र आए


काठमाडौं। एकै समयमा दुई फरक-फरक निकायमा दोहोरो नियुक्ति खाएका देवराज ढुंगानाले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्ष पद छाडेका छन्। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक ढुंगाना नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्ष समेत रहेको पाइएपछि उनको दुबै पद गुम्ने खतरा थियो। एउटा पद जोगाउन ढुंगानाले रातारात नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षबाट राजीनामा दिएका छन्। उनी अब सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारीमा मात्र रहने छन्।

ढुंगानाले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्ष पद छाडेपछि उक्त ठाउँमा सुरेन्द्र पौडेल नियुक्त भएका छन्। उदयपुर सिमेन्ट कारखाना लिमिटेड, नेपाल आयल निगम जस्ता निकाय चलाएर आएका पौडेललाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त गरेका हुन्। भ्रष्टाचार मुद्दा लागेर विशेष अदालतबाट सफाइ पाएका पौडेल फेरि सरकारी नियुक्तिमा जोडिएका छन्।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सञ्चालक सदस्य देवीप्रसाद बरालको नजिर अनुसार ढुंगानाको जागिर जाने निश्चित थियो। सर्वोच्च अदालतले एकै समयमा दुई फरक-फरक प्रकृतिका सार्वजनिक संस्थामा नियुक्ति खाएको भन्दै बराललाई दुबै संस्थाबाट पदमुक्त गर्ने फैसला गरेको थियो। एकै समयमा सरकारी स्वामित्वको उदयपुर सिमेन्ट कारखाना लिमिटेड र पशुपति क्षेत्र विकास कोषमा बोर्ड सदस्य भएको तथ्य फेला परेपछि बराललाई सर्वोच्च अदालतले दुबै संस्थाबाट एकसाथ पदमुक्त गर्ने फैसला गरेको थियो। सर्वोच्च अदालतको फैसलासँगै बराल पदच्यूत भएर ‘हाता लाग्यो शून्य’को अवस्थामा पुगे। ढुंगानाको पनि बराल कै हालत हुने अवस्था आएपछि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षबाट हतारहतार राजीनामा दिएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकको जागिर जोगाएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #देवराज ढुंगाना, #सुरेन्द्र पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ