नवपुस्ताको नेतृत्व-चुनौती : आँसु, चेतना र भविष्यको बाटो


सडकमा बगेको रगत अझै सुकिसकेको छैन, नवयुवाको चिहान अझै चिसिएको छैन। तर त्यही रगतलाई पदको व्यापार गर्नेहरू सक्रिय छन्। बलिदानी आत्माको छायामुनि अवसरवादीको नाच, यही हाम्रो असली राष्ट्रिय पीडा हो।

नवपुस्ताका साथीहरू, सोच्न सक्ने हो भने सोच—

आन्दोलन पदका लागि थियो कि भविष्यका लागि?

साथीहरूको मृत्युलाई सत्ताको वार्गेनिंग सिंढी बनाउन पाइन्छ कि न्याय र सुधारको मार्ग बनाउन मात्र?

इतिहासले देखाएको छ—जहाँ आन्दोलनले सत्ता कब्जा गर्‍यो, त्यहाँ आन्दोलनकै आत्मा मर्न गयो। अरब स्प्रिङको मिस्रमा जनताको बलिदान अन्ततः सैन्य अधिनायकवादमा परिणत भयो। इरानमा क्रान्ति धर्मतन्त्रको पर्खालभित्र थुनियो। आन्दोलन सत्तामा चढ्यो तर सार गुमायो।

नेपालमा पनि खतरा त्यही छ।

सडकमा “जन” भन्दै चिच्याउनेहरू कुर्सीमा पुगेपछि “मात्र आफ्नै” भइसकेका छन्। यस्तो बेला नयाँ पुस्ताले चेतनाको दीप बाल्नैपर्छ—नायक खोज्ने होइन, आफ्नै बीचबाट सामूहिक नेतृत्व जन्माउने।

राजनीति विज्ञानले भन्छ—नेतृत्व उधारोमा जन्मिँदैन। नेतृत्व आफ्नै बलबुतामा, मूल्य र विचारको गर्भबाट जन्मिन्छ। न्याय, पारदर्शिता र बलिदानीको सम्मान बिना कुनै पनि आन्दोलन दीर्घकालीन इतिहास बन्न सक्दैन।

नयाँ पुस्ताले बुझ्नैपर्छ—राष्ट्रलाई चिकित्सक, इञ्जिनियर, कलाकार, प्रशासक सबै चाहिन्छ, तर राजनीतिक नेतृत्व नैतिक साहस, वैज्ञानिक दृष्टि र दार्शनिक गहिराइ बिना सम्भव छैन। नेतृत्व भनेको पद होइन, आत्माको उज्यालो हो।

साथीहरू, तपाईंले गुमाएका मित्रहरूको आत्मा तपाईंलाई प्रश्न गरिरहेको छ—

“हाम्रो रगत कुन मालिकका सिफारिसपत्रमा साटिने हो?

हाम्रो बलिदान कुन पदयात्रामा हराउने हो?”

उत्तर तपाईंले दिनुपर्ने हो। यदि तपाईंहरूले अझै पनि पद–लोभको चक्रव्यूहमा रमाउनुभयो भने, बलिदान कुहिन्छ। तर यदि तपाईंले सामूहिक नेतृत्व रोज्नुभयो भने, बलिदान शाश्वत हुन्छ। विदेशी स्वार्थ र स्वदेशी अवसरवाद दुवैको चक्रव्यूह तोड्ने आँट यदि नवपुस्ताले देखाएन भने, भविष्य फेरि अँध्यारो हुनेछ। तर यदि देखायो भने, नेपालले नयाँ इतिहास लेख्नेछ।

नेतृत्व कुर्सीमा होइन, चेतनामा हुन्छ। बलिदानको सम्मान शब्दमा होइन, न्यायमा हुन्छ। यो सत्य बुझ्ने हो भने, नयाँ पुस्ता अझै इतिहासको सर्वश्रेष्ठ अध्याय लेख्न सक्छ।

(लेखकको यस घटनाक्रमसंग कुनै पूर्वाग्रह, स्वार्थ छैन, स्वतन्त्र राजनीतिको विश्लेषणको रुपमा वुझिदिनू हुन अनुरोध गर्दछु)

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ