वाणिज्यको डिजी हुन खोजेका माओवादी सत्ताका तरमारा सहसचिव पौडेल भए काठमाडौंको सिडिओ 


काठमाडौं। माओवादी सत्ताका तरमारा सहसचिव ईश्वरराज पौडेल काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन्। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​को महानिर्देशक हुन खोजेका पौडेल सत्ता परिवर्तनसँंगै काठमाडौंको सिडिओ बनेका हुन्।

कुमारप्रसाद दाहाललाई हटाएर वाणिज्य विभागको महानिर्देशक रोशन ज्ञवाली बनेर गएपछि पौडेललाई मन्त्रालयको औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख बनाइएको थियो। उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरूवा भएर आएका थिए। सरकार परिवर्तन भएसँगै पौडेल गृह मन्त्रालय प्रवेश गरेर काठमाडौंको सिडिओ बन्न सफल भएका छन्।

प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधिमा गृह मन्त्रालय वा मातहतका निकायमा एक वर्ष नबसेकालाई ‘क’ वर्गको जिल्लामा सिडिओ नखटाउने उल्लेख छ। तर, सिडिओको अनुभव नै नलिएका पौडेललाई उद्योगबाट गृह छिर्नेबित्तिकै कानुनका ज्ञाता गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौंको सिडिओ बनाएर पठाएका हुन्।

काठमाडौंका सिडिओ छविलाल रिजालको छवि नराम्रोसँग बिग्रिएपछि उक्त छवि सुधार्न पौडेललाई ल्याइएको चर्चा छ। पुरानो गृह मन्त्रालयको भवनमा सिसा हाल्ने योजनाकारमध्येका पौडेलले काठमाडौंको कमाण्ड सम्हाल्ने भएका हुन्। नेकपा माओवादी केन्द्र सत्तामा हुँदा पौडेलको निकै हालिमुहाली चल्यो। काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतदेखि कोलकत्ताको महावाणिज्यदूत बाजी मार्न सफल भएका पौडेल काठमाडौंको सिडिओ भएका छन्।

अध्यागमन विभागको डिजी भएपछि पौडेलले तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आईटी विज्ञ अस्गर अलीसँग मिलेर अलीका सहोदर भाइ अख्तर लगायतलाई अध्यागमनमा नेपाली पोर्ट बनाउने काममा परामर्शदाता नियुक्त गरेका थिए। त्यो बेला नेकपाको सरकार भएकाले माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल गृहमन्त्री थिए। रिमाल र अलीको स्वार्थमा काम गरेबापत पौडेल अध्यागमन विभागको डिजीबाट कोलकत्ताको महावाणिज्यदूत भएर गएका थिए। महावाणिज्यदूत हुँदा ‘लोकल स्टाफ’का नाममा पौडेलको बुढानिलकण्ठस्थित घरमा काम गर्ने कामदारलाई तलबभत्ता खुवाएको विषय परराष्ट्र मन्त्रालयमा निकै चर्चा हुने गरेको छ।

दिल्लीस्थित नेपाली राजदूतावासले युएई जान दिँदै आएको एनओसी बन्द गरेपछि कार्यक्षेत्रविपरीत पौडेलले नेतृत्व गरेको कोलकत्ता महावाणिज्यदूतावासबाट एनओसी जारी गरेको विषयमा परराष्ट्र मन्त्रालयमा उजुरी समेत परेको थियो। कति सम्म भने त्यतिबेला कोलकत्तामा काउन्सेलर रहेका तर्कराज भट्ट (हाल उद्योग मन्त्रालयमा कार्यरत) कासमू बिगार्दिन्छु भनेर धम्क्याएपछि परराष्ट्र मन्त्रालय आएर कासमू भरेर बुझाएको परराष्ट्र स्रोतले बतायो।

परराष्ट्र सेवाका अधिकृत विश्व पनेरुलाई समेत एनओसीमा उनले अनावश्यक काम गर्न दबाब दिएपछि मन्त्रालयले पौडेलसँग जवाफ मागेको थियो। ‘किड्नी ट्रान्सप्लान्ट’मा महावाणिज्यदूतावासले बनाइदिएको कागजातका विषयमा समेत परराष्ट्र मन्त्रालयले चासो राखेको थियो। विवाद नै विवादकाबीच कोलकत्ताबाट फर्किएका माओवादी सत्ताका तरमारा सहसचिव पौडेललाई काठमाडौंको सिडिओ बनाएर पठाइएको हो।

३३ किलो सुनको छानबिन समितिको नेतृत्व गरेका पौडेल त्यसपछि चर्चामा आए। तर, प्रहरी अधिकारीभन्दा माथि छानबिन हुन नसकेको टिप्पणी हुँदै आएको छ। पौडेल नेतृत्वको छानबिन समितिले ३३ किलो सुन र असली मालिक पत्ता लगाउन नसकेपछि अदालतबाट सबै प्रहरी अधिकृतहरूले सफाइ पाइसकेका छन्। पौडेलले पनि प्रहरी चलाउने सिडिओ पाएका हुन्।

२०२९ साल असोजमा कास्कीमा जन्मिएका पौडेल जन्म दिनको पूर्वसन्ध्यामा काठमाडौंको सिडिओ बनेका छन्। सिडिओको अनुभव नै नभएका उनले काठमाडौंको सिडिओ पड्काएपछि सार्वजनिक प्रशासनमा व्यापक रूपान्तरण भएको व्यंग्य गर्न हुन थालेको छ। पौडेलले ३३ किले सुनको छानबिनको नेतृत्व गरेपछि त्यहिँबेला काठमाडौंको सिडियो मागेका थिए। उनीसँग अनुभव नरहेको भन्दै गृह प्रशासनले पौडेललाई काठमाडौंको सिडिओ बनाउन अस्वीकार गरेको थियो। जेन-जी सरकारले भने पौडेललाई बाहिरबाट तानेर काठमाडौंको सिडियो बनाएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #ईश्वरराज पौडैल, #छविलाल रिजाल, #माओवादी सत्ताका तरमारा सहसचिवहरू

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ