लेखाका उपसचिव काफ्लेले दिए राजीनामा, ६० साले लेखा अधिकृतहरू भागाभागको स्थितिमा

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत लेखाका उपसचिव भुवन काफ्लेले राजीनामा दिएका छन्। घरायसी कारण देखाउँदै उनले पदबाट राजीनामा दिएका हुन्। केही दिन अघि मात्र राजीनामा दिएको लेखाका उपसचिव काफ्लेले जानकारी दिए। उनले ३/४ दिन अघि मात्र राजीनामा दिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
६० सालमा लेखा अधिकृत बनेका स्याङ्जाली काफ्ले सहसचिव बढुवा हुने लाइनमा रहेका थिए। तर, स्वास्थ्य सेवा विभागमा रहँदा विभिन्न खरिदको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएपछि राजीनामा दिन बाध्य भएका छन्। उनी जोडिएका केही स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको अख्तियार स्रोतले बतायो।
२०७२ सालको विनाशकारी भूकम्प पश्चात क्षति भएका संरचनाहरुका पुनर्निर्माण गर्ने केन्द्रीय आयोजना कार्यान्वयन ईकाईमा बसेका काफ्ले मलेनिकाको कर्मचारी प्रशासन शाखा, सडक विभाग, स्वास्थ्य सेवा विभाग हुँदै उहिले कृषि मन्त्रालयमा पुगेका थिए। दुबै छोरा अमेरिकामा सेटल गराएका काफ्ले उतै पलायन हुने सम्भावना छ। सधै आकर्षक अड्डामा मात्र जगिर खाएका काफ्लेले अहिले सरकारी सेवाबाट विकर्षण भएर राजीनामा दिएका छन्।
रविन कोईराला, ज्ञानेन्द्रराज ओझा, निरज केसी, दिनेश रेग्मी, मुनकुमार केसी, प्रकाश पुडासैनीसँगै लेखाका डन उपसचिवमा गनिने काफ्लेले एक्कासी राजीनामा दिएका हुन्। यसले उनीसहितका ६० साले डन लेखा अधिकृतहरू भागाभागको स्थितिमा देखिन्छन्। काफ्ले जस्तै धेरै ६० साले लेखा अधिकृतहरू अहिले अख्तियार धाइरहेका छन्। उनीहरू संगठित रूपमै अख्तियार मिलाउन सक्रिय भएको चर्चा सुनिन्छ। ढिलोचाडो उनीहरू पनि काफ्ले पथमा पुग्ने खतरा बढेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #६० साले लेखा अधिकृत, #भुवन काफ्ले लेखा उपसचिव
तपाईको प्रतिक्रिया दिनुहोस