लिपस्टिक नदल्न र चाउचाउ नखान स्वास्थ्य मन्त्रालयको अनुरोध

आयुर्वेदिक औषधि सेवन नगर्न चेतावनी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिपस्टिक, काजल नदल्न र चाउचाउ नखान अनुरोध गरेको छ । सौन्दर्यका प्रसाधनहरू (लिपस्टिक,काजल), खानेकुरा (नुडल्स), रंगरोगन ( पेन्ट्स) रंगीचंगी खेलौनाहरु तथा आयुर्वेदिक औषधि आदिमा सिसा (लेड) को मात्रा अत्याधिक पाउने सम्भाव्य स्रोतको रूपमा औँल्याउँदै स्वास्थ्य मन्त्रालयले उक्त अनुरोध गरेको हो ।

नेपालमा भएका अनुसन्धानहरूमा बालबालिका, प्रजनन समूहका बयष्क मानिसहरू, आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीहरू, सरसफाईकर्मीहरु एवं रंगरोगनमा संलग्न पेन्टरहरुको रगतमा सिसा (लेड)को मात्रा अत्याधिक रहेको स्वास्थ्य मन्त्रालयको दाबी छ । त्यसको सम्भाव्य स्रोतमा सौन्दर्यका प्रसाधनहरू (लिपस्टिक,काजल), खानेकुरा (नुडल्स), रंगरोगन ( पेन्ट्स) रंगीचंगी खेलौनाहरु तथा आयुर्वेदिक औषधि आदि रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सिसा (लेड)को विषयबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना समूह (International lead poising prevention week 2023) नेपालमा “बाल्यकालमा हुने सिसा (लेड)को विषाक्तता अन्त्य गरौं” भन्ने नारासहित विभिन्न कार्यक्रम गरि मनाइएको छ । उक्त अवसरमा स्वास्थ्य मन्त्रालयले आयुर्वेदिक औषधिमा समेत लेडको मात्रा अत्याधिक पाइने भएकाले सेवन नगर्न चेतावनी दिएको हो ।

नेपाल सरकारले लेडको प्रयोगलाई निरुत्साहित गर्न प्रयत्नरत रहेको स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको प्रेस विज्ञप्तिमा सिसा (लेड)को विषाक्तताबाट जोगिन सबै सचेत हुन अनुरोध गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #लेड सिसा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com