प्रशासन सुधारको काम छाडेर ‘सरूवा मन्त्रालय’का सचिव र सहसचिव चीन उड्दै
काठमाडौं। मुलुकमा प्रशासनिक बेथितिको विषयमा आवाज उठिरहेको छ। जेन-जी आन्दोलनपछि प्रशासन सुधारका लागि धेरै काम गर्नु पर्ने छ। उस्तै परे कर्मचारी सञ्चालन गर्ने संघीय निजामती सेवा अध्यादेश ल्याउनु पर्ने हुन्छ। यस्तो अवस्थामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ र सहसचिव पार्वती शर्मा चीन उड्न लागेका छन्।
मन्त्रालयका एक सहसचिवका अनुसार उनीहरू करिब एक हप्ताका लागि चीन जान लागेका हुन्। पछिल्लो समय दिनैपिच्छे कर्मचारी सरूवा गरेर ‘सरूवा मन्त्रालय’को ट्याग भिरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरूवा नै ठप्प हुने गरी सचिव र कर्मचारी प्रशासन महाशाखा प्रमुख चीन उड्न लागेका छन्। जेन-जी आन्दोलनपछि महाशाखाबाट ‘नेमप्लेट’ हटाएकी पार्वतीले सरूवा पनि गुपचुप गर्दै आएकी छिन्। सिंहदरबारबाट स्थानीय तहमा खटाइएका कतिपय कर्मचारी सिंहदरबारभित्रै अर्को मन्त्रालयमा सरूवा भएर रमाना लिइ हाजिर भइसक्दा पनि उनीहरूको सरूवा सूची सार्वजनिक भएको छैन। उनले सरूवा सूची पनि किस्ताबन्दीमा सार्वजनिक गर्न लगाएकी छिन्।
अहिले विदेश घुम्नेभन्दा पनि जेन-जी पुस्ताको मर्म र भावनाअनुसार काम गर्ने समय हो। तर, सारा कुरा छाडेर सामान्यका सचिव र सहसचिव चीन जान लागेका हुन्। सामान्यका आधा दर्जन कर्मचारी अहिले पनि चीनतिरै छन्। सचिव र सहसचिव पनि त्यतै जान लागेका हुन्। स्वार्थ मिल्ने र पहुँचवालाको सरूवा सच्याएर निरीहहरूको कुरा नसुनी उनीहरू चीन घुम्न जान लागेका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस