‘एक्सिडेन्टल’ मुख्यसचिव एकनारायण अर्यालले कर्मचारी प्रशासनलाई बद्नाम गराएर घर गए


समाचार टिप्पणी

काठमाडौं। ‘एक्सिडेन्टल’ मुख्यसचिव एकनारायण अर्यालले कर्मचारी प्रशासनलाई बद्नाम गराएर घर गएका छन्। ५८ वर्षे उमेर हदका कारण अर्याल मंगलबारबाट अनिवार्य अवकाशमा गएका हुन्।

२०८१ भदौं १३ गते मुख्यसचिव बनेका अर्याल १५ महिना चलाएर अनिवार्य अवकाशमा गएका छन्। केपी शर्मा ओली र भूषण राणाको सेटिङबाट मुख्यसचिव बनेका अर्याल निजामती प्रशासनलाई नै बद्नाम गराएर घर गएका हुन्।

वरिष्ठ सचिवहरू तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी र दिनेश भट्टराईलाई छिर्के लगाउँदै सेटिङमा मुख्यसचिव बनेका अर्याल निजामती प्रशासनमा ‘कालो धब्बा’ लगाएर बाहिरिएका छन्। सेटिङमा वरिष्ठ सचिवहरूलाई पाखा लगाएर मुख्यसचिव बन्ने अर्यालको सूत्र प्रयोग गर्न कृष्णहरि पुष्कर कर्ण सक्रिय भएका थिए। उनकै ‘आइडिया’ लिएर मैदानमा छिरेका कर्ण अभिमन्यूजस्तै चक्रव्यूहमा फसेका छन्। ‘जेन-जी’ सरकारले वरिष्ठता र निष्ठाका आधारमा सुमनराज अर्याललाई मुख्यसचिव बनाएपछि कर्ण हेरेको हेऱ्यै भएका हुन्।

बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा नलागेको भए एकनारायण मुख्यसचिव नभई २०८१ फागुनमै घर जाने थिए। बैकुण्ठलाई भ्रष्टाचार मुद्दा लागेपछि लिलादेवी गड्तौलासँग साँठगाँठ गरेर ‘एक्सिडेन्टल’ मुख्यसचिव बनेका एकनारायणले निजामती प्रशासनलाई ‘एक्सिडेन्ट’ गराएर सेवानिवृत्त भएका छन्।

२०२४ साल मंसिर १० गते स्याङजामा जन्मिएका अर्याल मुख्यसचिव भएपछि गृह जिल्ला पुग्दा निकै विवादित बने। बाढीका कारण ललितपुरको नख्खु खोलामा नागरिकले जीवनको भिख मागिरहेको बेला अर्याल स्याङ्जाको आँधिखोलामा पञ्जेबाजा र अविरजात्रामा रमाइरहेका थिए। उनी बेप्रवाह, गैरजिम्मेवार र निर्लज्ज मुख्यसचिव बनेर देखापरे।

अवकाशपछि संवैधानिक नियुक्ति खान ‘कुलिङ अफ पिरियड’को विरोध गर्न उनी सचिवहरूको जुलुस लिएर हिँडेका थिए। कृष्णहरि पुष्कर कर्ण र शोभाकान्त पौडेललाई दायाँबायाँ लगाएर ‘कुलिङ अफ पिरियड’को विरोधमा भिभिआईपीको ढोका चाहार्दै हिँडेका मुख्यसचिव अर्यालको स्वार्थका कारण संघीय निजामती सेवा कानुन ‘कोमा’मा पुग्यो। ट्रेड युनियनको नेताजस्तै गरी मैदानमा उत्रिएका अर्याललाई संसदीय छानबिन विशेष समितिले समेत दोषी ठहर गऱ्यो। तर, उनी आफै मुख्यसचिव भएकाले उक्त प्रतिवेदन ‘जेन-जी’ सरकारले समेत फेला नपार्ने गुपचुप अवस्थामा पुऱ्याइदिए।

‘कुलिङ अफ पिरियड’ परेड खेल्दा पार नलागेपछि आफ्नो जागिर १ वर्ष लम्ब्याउन मुख्यसचिव अर्यालले निकै चलखेल गरे। ‘जेन-जी’ पुस्ताको आन्दोलनले संसद् नै उडाइदिएपछि उनको योजना चकनाचुर भयो। संघीय निजामती सेवा कानुन नआउनुमा अर्यालको स्वार्थले ठूलो भूमिका खेलेको छ। हरेक चलखेलका बाबजुद अर्याल ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान बाध्य भएका छन्।

ओली निकट बनेर काम गरेका अर्याल ‘जेन-जी’ सरकारमा पनि उत्तिकै चलखेलमा लागे। सार्वजनिक प्रशासन रूपान्तरण अभियानले राजीनामा मागेपनि उनले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठसँग सेटिङ मिलाएर जागिर जोगाए। मुख्यसचिव अर्यालले युवराज अधिकारीसँग सेटिङ गरेर छोरी डा. अस्मितालाई नेपाल वायु सेवा निगममा करारमा जागिर लगाएको कुरा सार्वजनिक भयो। उनले आदर्शकी श्रीमतीलाई पनि प्रधानमन्त्रीको स्वकीय सचिवालयमा जागिर खुवाए ‘तै चुप मै चुप’को अवस्थामा पुऱ्याइदिए। आदर्शसँग मिलेर वायु सेवा निगममा युवराजलाई पुनर्नियुक्ति गराउन सेटिङ मिलाएपनि चौतर्फी दबाबले गर्दा उनीहरूको डिजाइनले फेल खायो। आदर्श र एकनारायण कै सेटिङका कारण प्रधानमन्त्री कार्कीलाई बद्नाम गराउने काम भएको छ। उक्त प्रकरणले ‘जेन-जी’हरू सिंहदरबार घेर्न पुगेका छन्।

पछिल्लो समय विभिन्न नियुक्ति, सरूवा र बढुवामा समेत चलखेल गरेका अर्यालले सचिव बैठकबाटै ओलीको आलोचना गर्न भ्याए। ओली कै कारण आफूले स्वतन्त्रपूर्वक चाहेको काम गर्न नसकेको भन्दै अर्यालले ‘जेन-जी’ सरकारलाई प्रभावित बनाएर पूरा सयम मुख्यसचिव चलाए। सिंहदरबार जल्दा लापत्ता भएका अर्याल अहिले ‘यो गरे र त्यो गरे’ भन्दै भाषण ठोक्न थालेका छन्। सचिव र सहसचिवहरूलाई जगेडामा राखेर र दरबन्दीभन्दा बढी पठाएर प्रशासनिक बेथिति निम्त्याएका अर्याल सिंगो निजामती प्रशासनको अभिभावक बन्न सकेनन्। उन लाई अधिकांश निजामती कर्मचारीले अभिभावक मान्न नसक्ने अवस्था आयो। सबैभन्दा आलोचित र विवादित मुख्यसचिव भएर अर्याल निजामती सेवाबाट बहिर्गमन भएका छन्। उनले निम्त्याएको प्रशासनिक बेथितिको फोहोर सोहोर्न सुमनराज अर्याललाई निकै चुनौती देखिन्छ। पञ्जेबाजा मुख्यसचिव अर्याल आफ्नो स्वार्थपूर्तिका लागि निजामती प्रशासनलाई बाजा बजाएर घर गएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #एकनारायण अर्याल, #पञ्जेबाजा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ