यी हुन् सरूवा अवधि पुगेका सहसचिवहरू
काठमाडौं। गृह जस्तो जिल्ला घुम्ने पनि होइन, अर्थ र परराष्ट्र जस्तो क्याडर तयार पार्ने होइन, अख्तियार र लोक सेवा जस्तो कार्यालयबाट उक्लिए केन्द्रीय कार्यालय आउने लाइन पनि छैन, यस्तो अवस्थामा पनि केही सहसचिवहरू दुई वर्षभन्दा बढी एउटै ठाउँमा रहेको पाइन्छ। झन्डै आधा दर्जन बढी दुई बर्ष बढीदेखि सिंहदरबारको एकै ठाउँमा जरा गाडेर बसेको देखिन्छ।
सहसचिवहरू आभा श्रेष्ठ, ज्ञानेन्द्र पौडेल, भरतमणि रिजाल, निश्चलराज पाण्डे, शिवादेवी दाहाल दुई वर्ष बढीदेखि सिंहदरबारको एउटै मन्त्रालयमा डेरा डेमाएर बसेको पाइएको हो। एक सरूवा अवधि भनेको दुई वर्ष हो। तर, केही सहसचिवहरू सिंहदरबारको एउटै अड्डामा दुई वर्षभन्दा बढी समयदेखि जमेर बसेको खुलेको छ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सहसचिव आभा श्रेष्ठ ३ वर्षभन्दा बढी समयदेखि त्यहाँ कार्यरत रहेको पाइन्छ। समाज कल्याण परिषद्को सदस्य-सचिवमा पुनर्नियुक्ति गराउन मनोज भट्टको पक्षमा उभिएकी आभा महिला मन्त्रालयको हर्ताकर्ता हुन्। उनको अघि महिला मन्त्रालयको सचिव लक्ष्मीकुमारी बस्नेत पनि फिक्का हुने गर्छिन्। महिला मन्त्रालय एउटै सहसचिव लामो समयसम्म रहने खालको मन्त्रालय नभए पनि आभा डेरा जमाएर बसेकी छिन्।
रक्षा मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल पनि त्यहाँ पुगेको २ वर्ष बढी भयो। ‘क्याडर’ आवश्यक नपर्ने रक्षामा ज्ञानेन्द्र दुई वर्षदेखि रमाएर बसेका छन्। २०८० मंसिरमा रक्षा पुगेका उनी दुई वर्ष बढी एकै ठाउँमा टिक्न सफल भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव शिवादेवी दाहाल दुई वर्षभन्दा बढी समय त्यहाँ रहन सफल भएकी छिन्। उनलाई प्रदेश नै नगई उनी लामो समयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा टिकिरहेकी छिन्।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव निश्चल राज पाण्डे पनि त्यहाँ पुगेको दुई वर्ष हुन लागेको छ। प्रशासनमा बसेर ‘कुशासन’मा केन्द्रित भएका पाण्डेलाई अनुभव बटुल्न अन्यन्त्र पठाउने बेला भइसकेको छ।
गृह मन्त्रालयमा कार्यरत सहसचिव भरतमणि रिजाल २०८० असारमै गृहमा हाजिर भएका हुन्। एउटै कुर्सीमा साढे दुई वर्ष बिताएका रिजाल ५८ वर्ष लागेर घर जाने तयारीमा छन्। सहसचिव रिजाल ५८ वर्ष लागेर पुस २ गते अनिवार्य अवकाशमा जान लागेका हुन्।
घर जान लागेका रिजालबाहेक सरूवा अवधि पुगेका सहसचिवलाई अन्यत्र व्यवस्थापन गर्दा उपयुक्त हुने देखिन्छ। केही सहसचिव त मन्त्रालयमा ‘क्रोनिक’ भएर बसेको पाइन्छ। अवधि पुगेका त्यस्ता सहसचिवलाई सरूवा गर्दा सरकारलाई काम गर्न सहज हुनेछ।
क्याटेगोरी : समाचारट्याग : #आभा श्रेष्ठ, #ज्ञानेन्द्र पौडेल, #निश्चलराज पाण्डे, #भरतमणि रिजाल, #शिवादेवी दाहाल



तपाईको प्रतिक्रिया दिनुहोस