अख्तियारको निगरानीमा रहेका तिवारी अझै अध्यागमन विभागको डिजी


समाचार टिप्पणी

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निगरानीमा रहेका रामचन्द्र तिवारीलाई गृह मन्त्रालयले अध्यागमन विभाग जस्तो संवेदनशील निकायको जिम्मेवारीबाट हटाएको छैन। गृह मन्त्रालयको तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख रहेका तिवारी अख्तियारको निगरानीमा रहेका छन्। अख्तियारको छानबिन दायरामा रहेका तिवारीलाई गृह मन्त्रालयले अहिलेसम्म अध्यागमन विभागको महानिर्देशक (डिजी) जस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारीबाट हटाएको पाइँदैन।

अख्तियारले भिजिट भिसा सेटिङ प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तिर्थराज भट्टराईविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्दा गृह मन्त्रालयको तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुखमाथि पनि छानबिन भइरहेको जनाएको छ। तत्कालीन अवस्थामा उक्त महाशाखा हेर्ने प्रमुख तिवारी अहिले अध्यागमन विभाग जस्तो संवेदनशील जिम्मेवारी रहेको पाइन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन हेर्ने हाकिम समेत रहेका तिवारीलाई अध्यागमनको डिजीबाट नहटाइनुले गृह मन्त्रालयको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ।

अख्तियारले तत्कालीन अध्यागमन प्रमुख भट्टराईमाथि छानबिन गर्न गृह मन्त्रालयलाई पटकपटक निर्देशन दिँदा पनि गृहले अटेर गरेपछि अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको थियो। अहिले तिवारीको विषयमा पनि अनुसन्धान सुरू भएको अख्तियारले जनाउ दिएको छ। तर, गृह मन्त्रालयले उनलाई अध्यागमनको डिजीबाट हटाएको छैन। तिवारीले अनुसन्धान प्रभावित पार्ने खतरा देखेमा अख्तियारले भट्टराईलाई जस्तै उनलाई पनि तान्ने सम्भावना उच्च छ।

भिजिट भिसा प्रकरणमा भट्टराई अख्तियारको फन्दामा परेपछि तत्कालीन गृहमन्त्री रमेश लेखक र उनको टिम डगमगाएको थियो। उक्त प्रकरणपछि गृहमन्त्री लेखकका निजी सचिव बद्रीप्रसाद तिवारी म्याग्दीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर गए। गृहको शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख रामचन्द्र तिवारी अध्यागमन विभागको महानिर्देशक बनेर गए। भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि तिवारी बन्धु पनि अख्तियारको अनुसन्धान र निगरानीमा परेका हुन्।

अख्तियार देखाएर म्याग्दीको सिडिओबाट बद्रीलाई फिर्ता बोलाउदा रामचन्द्रलाई भने गृहले अझै अध्यागमनको डिजीबाट हटाएको छैन। यसले गृह मन्त्रालयको छविमा आच पुग्ने देखिन्छ। रमेशका ‘प्यारा’ रामचन्द्रको कमाण्ड खोस्न गृहमन्त्री ओमप्रकाश अर्यालमाथि चर्को दबाब परिरहेको छ। तर, अझै उनी अध्यागनमा टिकिरहेका छन्।

रामचन्द्र सहसचिव हुनेबित्तिकै उद्योग विभागको महानिर्देशक बनेका थिए। तत्कालीन मुख्यसचिव शंकरदास बैरागी खनालका खास मान्छे तिवारी उद्योग विभागको डिजीबाट सीधै सुनसरीको सिडिओ बने। रमेश लेखक गृहमन्त्री बनेपछि निजी सचिव बनेर आएका बद्रीले रामचन्द्रलाई गृह मन्त्रालयको संवेदनशील मानिएको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा ल्याएका थिए। भिजिट भिसापछि गृहमन्त्री लेखकको ‘कोर टिम’ छाडेर गृह मन्त्रालय मातहतका निकायमा गएका तिवारी बन्धु अहिले अख्तियारको निगरानी र अनुसन्धानमा परेका छन्। एउटै प्रकरणमा बद्रीलाई फिर्ता बोलाउने गृहले रामचन्द्रलाई नचलाउँदा मन्त्रालयको भूमिकामाथि पनि प्रश्न उठेको हो।

प्रकाशमान सिंह स्थानीय विकासमन्त्री हुँदा उक्त मन्त्रालयको हर्ताकर्ता रहेका रामचन्द्र गृहको नभइ स्थानीयका ‘क्याडर’ हुन्। कांग्रेस निकट कर्मचारीमा ‘थ्री-आर’का रूपमा परिचत रामचन्द्र जेन-जी सरकारमा पनि अध्यागमन विभाग जस्तो महत्त्वपूर्ण जिम्मेवारी लिएर बसेका छन्। अख्तियारले पञ्जा फुकाउदा समेत गृहले उनका लागि पखेटा फिजाएको देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #रामचन्द्र तिवारी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ