आगलागीबाट स्वास्थ्यमा ३० करोडकाे क्षति


काठमाडौं । जेन्जी आन्दोलनका क्रममा भएको आगलागीबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ। आगलागीले मन्त्रालयको पुरानो तथा ऐतिहासिक महत्व बोकेको मुख्य भवनलाई पूर्ण रूपमा क्षति पुर्‍याएको छ। उक्त भवन जलेर प्रयोग गर्नै नमिल्ने अवस्थामा पुगेपछि मन्त्रालयले हाल सिंहदरबार परिसरभित्रै अस्थायी प्रिफ्याव भवनबाट सेवा प्रवाह सुरु गरेको छ।

मन्त्रालय स्रोतका अनुसार आगलागीका कारण भवनभित्र रहेका कार्यालय कक्ष, फर्निचर, कम्प्युटर, प्रिन्टर, सर्भर, विद्युतीय उपकरण तथा विभिन्न अभिलेखहरु खरानी भएका थिए ।

क्षति मूल्याङ्कनमा मुख्यतः फर्निचर, सूचना प्रविधिसम्बन्धी उपकरण र भौतिक संरचनामा भएको क्षतिको मात्र हिसाब गरिएको जनाइएको छ। यस आधारमा हालसम्म ३० करोड रुपैयाँभन्दा बढीको क्षति अनुमान गरिएको हो।

आगलागीमा मन्त्रालय अन्तर्गत प्रयोग हुँदै आएका अधिकांश सवारी साधनसमेत जलेर नष्ट भएका छन्। तर, तीमध्ये धेरैजसो सवारी साधन दातृ निकायहरूको सहयोगमा प्राप्त भएकाले तिनको मूल्य क्षति विवरणमा समावेश गरिएको छैन। दातृ निकायबाट प्राप्त सवारी साधनको वास्तविक मूल्य, प्रयोग अवधि र स्वामित्वसम्बन्धी पक्ष स्पष्ट छैन ।

मन्त्रालयको पुरानो ऐतिहासिक भवन पूर्ण रूपमा प्रयोगविहीन भएपछि मन्त्रालयका विभिन्न महाशाखा र शाखाहरूले अस्थायी रूपमा सेवा दिइरहेका छन् । मन्त्राालय भने हालै सिंहदरबार भित्र सरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ