दुई सचिवको चेपुवामा परेका मन्त्री राजेन्द्रसिंह भण्डारी
समाचार टिप्पणी
काठमाडौं। सुशासन कायम गर्ने हुटहुटीका साथ मन्त्री बनेका राजेन्द्रसिंह भण्डारी सचिवको चेपुवामा पर्न थालेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई खुड्किलो बनाएर सरकारमा सहभागी भएका भण्डारी खानेपानी मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्न पुगेका हुन्। तर, दुबै मन्त्रालयमा भण्डारीको खोजेजस्तो ‘स्पिरिट’मा काम गर्न सचिव भेटेका छैनन्।
प्रधानमन्त्री सुशीला कार्कीले सुशासन कायम गर्न दिएको निर्देशन कार्यान्वयन गर्दा मन्त्री भण्डारीलाई सचिवबाटै असहयोग भएको छ। गरिब नेपाली जनताको ढाँड सेक्ने गरी वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क खारेज गर्दा मन्त्री भण्डारीलाई श्रम सचिव कृष्णहरि पुस्कर कर्णले नै असहयोग गरेका हुन्। तत्कालीन मुख्यसचिव एकनारायण अर्याल र मेडिकल माफिया कैलाश खड्कासँगको सेटिङमा सचिव कर्णले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क एकैपटक ३ हजार बृद्धि गर्ने निर्णय गराएका थिए। तात्कालीन श्रममन्त्री शरदसिंह भण्डारीबाट ६ हजार ५ सयबाट ९ हजार ५ सय रुपैयाँ स्वास्थ्य परीक्षण शुल्क बृद्धि गर्ने निर्णय भएको थियो। उक्त निर्णय कार्यान्वयनलाई तत्कालीन श्रममन्त्री भण्डारीले नै रोकिदिएपछि श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्की आउनेबित्तिकै कार्यान्वयनमा लगिएको थियो। मुख्यसचिव एकनारायण अर्याल र श्रम सचिव कर्णले आफूलाई गुमराहमा राखेर उक्त निर्णय कार्यान्वनमा लगेको थाहा पाएपछि प्रधानमन्त्री कार्कीले उक्त निर्णय खारेज गर्न नवनियुक्त श्रममन्त्री भण्डारीलाई निर्देशन दिएको स्रोतले बतायो।
प्रधानमन्त्री कार्कीको निर्देशन बमोजिम स्वास्थ्य परीक्षण शुल्क बृद्धिको निर्णय खारेज गर्दा सचिव कर्णले टिप्पणी पेस नगरेपछि मन्त्री भण्डारीले ठाडो निर्णय गर्नुपर्ने बाध्यता आइपरेको मन्त्री निकट स्रोतले सुनायो। उक्त विषयमा मन्त्रीलाई सहयोग गर्ने कर्मचारीलाई कारबाही गर्ने सचिव कर्णले चेतावनी दिएपछि कर्मचारीको समेत भागाभाग भएको थियो। सचिवको सहयोग नपाएपछि एकल निर्णयबाट मन्त्री भण्डारीले स्वास्थ्य परीक्षण शुल्क बृद्धिको निर्णय खारेज गरिदिएका छन्।
श्रमिकमारा निर्णय गरेको श्रम मन्त्रालयको बदमासी सच्याएर खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका मन्त्री भण्डारी त्यता पनि त्यस्तै समस्यामा परेका हुन्। सचिव कै कारण मन्त्री भण्डारीले हैरानी खेप्नुपरेको छ।
नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)बाट अवकाश पाएका भण्डारीलाई रामआधर साहसँग सहकार्य गर्नु परेपछि नैतिक संकट परेको छ। भण्डारी प्रहरीको एआईजी हुँदा साहलाई प्रहरीले ठगी मुद्दा चलाएका साह अहिले खानेपानी सचिव रहेका छन्। उनी एआईजी हुँदा सर्वेन्द्र खनाल नेतृत्वको अपराध अनुसन्धान महाशाखाले तत्कालीन सहसचिव रामआधार साहविरुद्ध ठगी मुद्दा चलाएको थियो। पेट्रोल पम्पहरुमा रिमोट जडान गरेर ठगी गर्ने धन्दामा तत्कालीन गुणस्तर तथा नापतौल विभागका क्षेत्रीय निर्देशक हुँदै महानिर्देशक बनेका साह पनि संलग्न रहेको आधारमा साहलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो। पेट्रोल पम्पहरुमा ‘चिप्स’ जडान उपभोक्ता ठगेबापत पम्पहरूले साहलाई कमिसन बुझाउने गरेको प्रहरीको दाबी रहेको थियो। प्रहरीका अनुसार काठमाडौं उपत्यका अधिकांश पेट्रोल पम्पहरूले साहसँगको मिलेमतोमा प्रविधिको प्रयोग गरेर उपभोक्तालाई ठग्ने गरेका थिए। उक्त विषयका जानकार भण्डारीलाई प्रधानमन्त्री कार्कीले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि उनी नैतिक संकटमा परेका हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भण्डारीले प्रधानमन्त्री कार्कीसँग खानेपानी मन्त्रालय हेर्दा सचिव फेरिदिन आग्रह गरेको स्रोतले बतायो। नेपाल ट्रष्टको कार्यालयबाट खानेपानी मन्त्रालयको सचिवमा दोहोऱ्याएर आएको महिना दिन नपुग्दै नयाँ मन्त्रीले साहको विकल्प खोजेका हुन्। कानुनमन्त्री अनिलकुमार सिन्हाको जोडबलमा खानेपानी सचिव बनेका साहका कारण भण्डारीलाई नैतिक संकट आइपरेको हो। मन्त्री भण्डारीले सचिव साहसँग सहकार्य गर्न नसकिने स्पष्ट सन्देश दिएको स्रोतको दाबी छ।
सचिव साहलाई मन्त्री सिन्हाले ‘राम्रो मान्छे’ भनेपछि प्रमिला बज्राचार्यलाई नेपाल ट्रष्टको कार्यालमा सरूवा गरेर साहलाई प्रधानमन्त्री कार्कीले हेर्दै आएको खानेपानी मन्त्रालयमा सचिव बनाएर पठाइएको थियो। साहको ‘कुण्डली’ राम्रोसँग थाहा पाएका भण्डारीलाई उक्त मन्त्रालय हेर्ने जिम्मेवारी दिएपछि सिन्हाले बोकेका साहसँग सहकार्य गर्न भण्डारीले सकस मानेका हुन्। श्रम मन्त्रालयमा सचिव कर्णको असहयोग खेपेका मन्त्री भण्डारी खानेपानीतिर पुग्दा साहसँग सहकार्य गर्नुपर्ने अवस्था आएको छ। मन्त्री भण्डारीले दुबै मन्त्रालयमा प्रशासनिक बेथितिको सामाना गर्नुपर्ने अवस्था आएको हो। उनी दुबै मन्त्रालयमा विवादित सचिवको चेपुवामा परेका छन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस