श्रममन्त्री भण्डारीले के कारबाही गर्लान् तालीमामा अनियमितता गर्ने बोर्डका कार्यकारी डा. उप्रेतीमाथि?
समाचार टिप्पणी
काठमाडौं। वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने तालीमका नाममा अनियमितता गरेको तथ्य सार्वजनिक भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षाले गठन गरेको छानबिन समितिले नै तालीममा परदर्शिता नरहेको निष्कर्ष निकालेको हो। श्रम मन्त्रालयका उपसचिव गुरूदत्त सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले तालीमका लागि संस्था छनोटसमेत पारदर्शी नभएको र कानुन उल्लंघन गरेर टेण्डर गरेको निष्कर्ष निकालेको छ। ३ करोडसम्मको ठेक्का स्वीकृत गर्न पाउने कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती २५ करोड स्वीकृत गरेको विषयमा समेत प्रश्न उठेको हो।
स्वास्थ्य लाइभले गत असोजमै वैदेशिक रोजगार बोर्डको सचिवालयले कानुन मिचेर ठेकेदार मार्फत तालीम सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको तथ्य सार्वजनिक गरेको थियो। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. उप्रेती र तत्कालीन सचिव डा. कृष्णहरि पुष्कर कर्णको मिलेमतोमा ठेक्का प्रक्रिया अघि बढाएको थियो। उक्त समाचारलाई पुष्टि हुने गरी सुवेदी नेतृत्वको छानबिन समितिले समेत रिपोर्ट दिएको छ।
श्रम मन्त्रालयबाट स्वीकृत भएको रोजगारमूलक सीप विकास तालीम सञ्चालन कार्यविधि, २०७६ को दफा ३ मा सचिवालय आफैले तालीम सञ्चालन गर्नु पर्ने वा नेपाल सरकारबाट स्थापित तालीम प्रदायक संस्थासँग आपसी सहमतिमा सिधै सम्झौता गरी तालीम सञ्चालन गर्न सक्ने व्यवस्था छ। नेपाल सरकारका संघीय तथा प्रदेशगत तालीम प्रतिष्ठान तथा सिटिइभिटीबाट सञ्चालित तालीम केन्द्रबाट तालीम सञ्चालन नगरी ठेकेदार संस्था मार्फत तालीम सञ्चालन गर्न बोर्डले सूचना प्रकाशित गरेको विषय स्वास्थ्य लाइभले सार्वजनिक गरेको थियो। उक्त विषयमा छानबिन समितिले पनि पहिलो चरणमा त्यस प्रकारका संस्था (सिटिइभिटी)मार्फत तालिम सञ्चालन गर्न पहल गरी सम्भव नभएमा मात्र परामर्श सेवा खरिद प्रक्रियामा जानुपर्ने निष्कर्ष निकालेको हो।
श्रमिकको रगत र पसिनाबाट जम्मा भएको पैसामा कार्यकारी निर्देशक डा. उप्रेतीले रजगज गरिरहेका छन्। कल्याणकारी कोषको बजेट समेत जथाभावी प्रयोग गरिरहेको विषयमा महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले समेत औँल्याएको छ। यस्ता दर्जनौं अनियमिततामा संलग्न कार्यकारी निर्देशक डा. उप्रेतीमाथि श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले के गर्छन् चासोको विषय बनेको छ। वैदेशिक रोजगारीमा जाने कामदारसँग जोडिएको विषयमा कठोर बन्दै आएका श्रममन्त्री भण्डारीले बोर्डमा भएका अनियमिततामा के गर्लान् भन्ने विषय सबैको चासो बनेको हो। उनले लिने ‘एक्सन’ हेर्न बाँकी छ। श्रममन्त्री भण्डारीको यसमा असली परीक्षण समेत हुनेछ।
डा. उप्रेतीमाथि यसअघि पनि डेर्नमाकको अवैतनिक श्रम दूत बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रुपैयाँ लिएको उजुरी आधारमा श्रम मन्त्रालयमा तानेर छानबिन गरिएको थियो। मन्त्रालयले तत्कालीन कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानबिन समिति गठन गरेर उनीमाथि एक्सन लिएको थियो। तर, उनी फेरि बोर्डमै फर्किएर तालीमको नाममा समेत अनियमितता गरेको मन्त्रालयले सुवेदीको नेतृत्वमा गठन गरेको समितिले निष्कर्ष निकालेको छ। यो विषयमा श्रममन्त्री भण्डारीले कडा एक्सन लिनुपर्ने ‘जेन-जी’हरूका माग छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस