वारम्वार धम्की आएपछि बेचैन बनेका कांग्रेसका बागी वडाध्यक्ष उम्मेदवार झुन्डिएको अवस्थामा मृत फेला


काठमाडौं । नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेल रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

नेपाली कांग्रेसबाट टिकट नदिएपछि बागी उठेका पौडेल आज बिहान मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घर नजिकैको रुखमा झुन्डिरहेको अवस्थामा फेला परेको बताए । उनले मृतक पौडेलले आत्महत्या गरेको हुन सक्ने दाबी गरे ।

यता मृतककी श्रीमती विमला पौडेलले भने उम्मेदवारी फिर्ता लिन वारम्वार धम्की आउने गरेको र त्यसैको कारण यस्तो घटना घटेको बताइन् ।

नेपाली कांग्रेसबाट उक्त वडामा वडाध्यक्ष उठेका आधिकारिक उम्मेदवार अनिश कार्कीका खास मान्छे विनोद भुजेलले उम्मेदवारी फिर्ता लिन वारम्वार धम्की दिने गरेको मृतक पौडेलको परिवारका सदस्यहरुको बताउँछन् । मेगा बैंक इनरुवाको सेक्युरिटी गार्डको काम गर्ने भुजेलले बागी उम्मेदवार पौडेललाई  चुनाव छाड नत्र जे पनि हुन सक्छ भनेर बारम्बार धम्की दिने गरेको परिवारका सदस्यहरुको भनाइ छ ।

भुजेलको लेमन होटलमा आउने भारतीय समूहसँग साँठगाँठ रहेको र पौडेललाई अपहरण गरी भारत पुर्याएर छाडिएको मृतकका परिवारका सदस्यहरु बताउँछन् ।

‘बैशाख २१ गते एकछिन इनरुवा जान्छु भनेर हिँडेको र भोलिपल्टसम्म नआएपछि अपहरणमा परेको भन्दै प्रहरीमा रिपोर्ट गरेका हौं । अपहरण गरेर भारत पुर्‍याई छाडेको रहेछ । त्यहाँबाट फिर्ता आएपछि झुम्काबट दिउँसो १ बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बयानका लागि भनेको भन्दै प्रहरीले लगेको हो । प्रहरीले के बयान लियो थाहा छैन ।’, मृतककी श्रीमती पौडेलले भनिन् । बयान दिएर घरमा आएपछि अब यो ठाउँमा बस्न उचित छैन भन्दै भुजेललगायतको नाम लिएको परिवारको भनाइ छ । प्रहरीले पनि यातना दिएको उनीहरूको आरोप छ ।

यता सुनसरी प्रहरी प्रमुख थापा भने परिवारले गरेको रिपोर्टका आधारमा पौडेललाई बोलाएको सोधपुछ गरेको दाबी गर्छन् । ‘परिवारले अपहरणका परेको भनेर निवेदन दिएपछि बोलाएर सोधपुछ गरेर छाडिएको हो । अरु केही भएको छैन ।’, उनले भने ।

भुजेलले काम गर्ने ठाउँमा लेमन होटल रहेको र उक्त होटलमा आउने भारतीयमुलका आपराधिक व्यक्तिहरूसँग मिलेर भुजेल र वडाध्यक्षका उम्मेदवारका केटाहरू मिलेर अपहरण गरेको परिवारका सदस्यहरूको आरोप छ । यो विषय प्रहरीसँगको मिलेमतोमा सुनसरीका कांग्रेस नेताहरूले ढाकछोप गर्न खोजिरहेको परिवारका सदस्यहरुको दाबी छ ।

 नेपाली कांग्रेसका जिल्ला नेताहरूले सुनसरीका स्थानीय तहमा आर्थिक चलखेलका आधारमा टिकट बितरण गरेको आरोप लाग्दै आएको छ । रामधुनी, इनरुवालगायतका वडाहरूमा कांग्रेसका जिल्ला नेताहरुले मनोमानी ढंगले टिकट दिएको आरोप लागिरहेका बेला रामधुनीका कांग्रेसका बागी वडाध्यक्ष उम्मेदवार पौडेलको मृत्युले गम्भीर आशंका उब्जिएको हो । देउवा पक्षका पौडेललाई टिकट नदिइ राजीव कोइराला निकट कार्कीले टिकट पाएपछि उनले बागी उम्मेदवार दिएका थिए । बागी उम्मेदवार दिएपछि उनलाई अर्को पक्षले बारम्बार धम्की दिने गरेको परिवारका सदस्यहरु सुनाउँछन् ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #अपहरण, #गणेश बहादुर पौडेल, #जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापा, #बागी उम्मेदवार, #रामधुनी नगरपालिका वडा नम्बर ८, #सुनसरी प्रहरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com